मुम्बई पाचौँ पटक आइपिएल च्याम्पियन, इतिहास रच्नबाट चुक्यो दिल्ली

इन्डियन प्रिमियर लिग(आइपिएल) १३औँ सिजनको उपाधि पनि मुम्बई इन्डियन्सले जितेको छ । मंगलबार राति भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै गत सिजनको पनि विजेता रहेको मुम्बई पचौँ पटक उपाधि जित्न सफल भएको हो। 

दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरी  उपाधिमाथि कब्जा जमाएको हो। 

मुम्बईको जितका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन बनाए । अर्का ओपनर क्वीन्टन डिककले २०, सूर्य कुमार यादवले १९ र इशान किसनले ३३ रन  बनाए। 

दिल्लीका लागि मार्कस स्टोनिस र कागिसो रबडाले​ १-१ विकेट लिए भने र इनिरच नाेर्त्जेले २ विकेट लिए ।

दुबई अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा दिल्लीले टस जितेर ब्याटिङ रोजेको थियो । मुम्बईविरुद्ध ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो। 



सुरुवातमै ३ विकेट गुमाएर दवावमा परेको  दिल्लीलाई कप्तान श्रेयस अयर र ऋषभ पन्तले सम्हाली सम्मानजनक स्कोरतर्फ पुर्याएका थिए । ओपनर मार्कस स्टोनिसलाई दिल्लीले पहिलो बलमा नै गुमाएको थियो । स्टानिसलाई मुम्बईका ट्रेन्ट बोल्टले क्वीन्टन डिककको हातबाट क्याच आउट गराएका थिए। 

त्यसपछि २ रनमै अजिंका रहाने आउट भए । अघिल्लो खेलमा उत्कृष्ट ब्याटिङ गरेका शिखर धवन जम्मा १५ रन बनाए आउट हुँदा २२ रनमा दिल्लीको ३ विकेट गुमिसकेको थियो । त्यसपछि चौथो विकेटका लागि ९६ रनको साझेदारी गरे ।  श्रेयस अयर ५० बलमा ६५ रन बनाएर नटआउट रहे भने पन्त ३८ बलमा ५६ रन बनाएर आउट भए । अन्यले राम्रो योगदान गर्न सकेनन्। 



मुम्बईका लागि ट्रेन्ट बोल्टले ३, काउल्टर नाइलले २ र जयन्त यादवले एक विकेट लिए। 

पहिलो पटक फाइनलमा पुगेको दिल्ली उपाधि जितेर इतिहास रच्नबाट बञ्चित भएको छ । लगातार तेस्रो सिजन दिल्लीबाट आइपिएलमा सहभागी भएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले यस सिजनमा एक खेल पनि खेल्न पाएनन्। 

  • प्रकाशित मिति : कात्तिक २५, २०७७ मंगलबार २३:८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया