सचिवालय बैठक किन चाहँदैनन् ओली ? किन चाहन्छन् प्रचण्ड ?
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवादमा अब दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुई धुव्रमा देखिएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यसअघि तय भएको बुधबारको सचिवालय बैठक सार्ने पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष प्रचण्ड तोकिएको मितिमा नै सचिवालय बैठक हुनु पर्ने मागमा अडिग छन् । 

गत शुक्रबार भएको सचिवालय बैठकमा एकल रुपमा राजनीतिक प्रतिवेदन राखेको भन्दै ओलीपक्षले यसको विरोध गरेका छन् । पार्टीको विधानमा दुवै अध्यक्षले छलफल गरेपछि मात्र राजनीतिक प्रतिवेदन ल्याउन सकिने उल्लेख भएको भन्दै उनीहरुले प्रचण्डले पार्टी एकताको सम्झौता र पार्टी कार्यान्वयनको विधिलाई मिचेको आरोप लगाउन थालेका छन् । 

तर, प्रचण्ड र उनीनिकट नेकपाका नेताहरु माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाललगायतले प्रचण्डको राजनीतिक प्रतिवेदनमा आफ्नो पनि समर्थन रहेको बताएका छन् । 

यी पाँच नेता एक ठाउँमा उभिएपछि सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री ओली यसअघि तय भएको बैठकमा उपस्थित हुन चाहँदैनन् । उनले त यो बैठक सार्नु पर्ने सन्देश नै प्रचण्डलाई पठाएका छन् । मंगलबार विहान ओलीको सन्देश बोकेर प्रचण्ड निवास खुमलटार पुगेका नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पनि प्रचण्डलाई केही दिनका लागि सचिवालय बैठक सार्न ओलीले अनुरोध गरेको सुनाएका थिए ।

‘तर, यसअघि तय भइसकेकाले बैठक सार्न हुँदैन भन्ने उहाँको तर्क थियो, जे हुन्छ र जे विषयमा छलफल गर्नु पर्ने हो, त्यही विषयमा छलफल गर्न पनि बैठक चाहिने उहाँले पौडेललाई जवाफ दिनुभयो,’ प्रचण्डनिकट एक नेताले फरकधारलाई बताए, ‘प्रचण्ड र नेकपाका अन्य नेताहरुले पनि अहिले बैठक सार्नु नहुने तर्क गरिरहनु भएको छ ।’

आखिर सचिवालय बैठक ओलीले नचाहनु र प्रचण्ड पक्षले चाहनुका कारण के हुन् त ? 



आउनुहोस्, यस विषयमा चर्चा गरौँ । 

पहिले सुरु गरौँ, ओली पक्षधर नेताहरुका तर्कबाट । 



शुक्रबार बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन अगाडि सारेपछि सामाजिक सन्जाल तथा विभिन्न मिडियामा अन्तर्वार्ताका लागि उपस्थित हुँदा ओली पक्षका नेताहरुले प्रचण्डको प्रस्तावको निकै चर्का शब्दमा खण्डन गरेका छन् । कतिपयले त प्रचण्ड पक्षबाट आएको प्रस्ताव निकै रुखो भएको र त्यहाँ प्रयोग गरिएका शब्दहरु पार्टीको एकतालाई साथ दिने खालका नभएको टिप्पणी पनि गरेका छन् ।

‘अध्यक्ष कमरेडले आफ्नै पार्टीका अर्का अध्यक्षमाथि लेखेका शब्दहरु, लगाएका आरोपहरु कसैले पनि सहन सक्ने खालका छैनन्,’ ओलीनिकट एक नेताले बताए, ‘यस्तो पार्टीको एकताको भावना विपरित आएको उहाँको प्रस्ताव फिर्ता हुनैपर्छ ।’

प्रचण्डले शुक्रबार राखेको प्रस्तावमा ओलीले राजीनामा दिनुपर्छ भन्ने शब्द त उल्लेख गरिएको छैन तर ओलीले अहिले त्याग गर्नु पर्ने समय आएको उल्लेख गरिएको छ । ओलीले त्याग गर्नु पर्छ भन्नुलाई ओलीको राजीनामा माग गरिएको हो भन्ने व्याख्या पनि नेकपा नेताहरुले गर्न थालेका छन् । 

तर, यो प्रस्तावका कारण मात्र ओलीले बुधबार बस्ने भनिएको सचिवालय बैठक सार्न खोजेका होइनन् । यसपटक उनी लगातार पार्टीभित्र केही विवादमा तानिएका छन् । ती विवादको श्रृङ्खलाका कारण उनी अहिले सचिवालय बैठक गर्ने पक्षमा छैनन् ।

स्मरणीय छ, कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव, विभिन्न देशमा राजदूत नियुक्ति र मन्त्रिमण्डल हेरफेरमा प्रधानमन्त्री ओलीले मनोमानी गरेको आरोप ओलीइतर नेताहरुले लगाइरहेका छन् ।

‘अहिले सचिवालयमा बैठकमा आफ्ना कामहरुविरुद्ध अधिकांश नेताहरु भएकाले नै ओलीले आफूलाई कमजोर महसुस गरेका छन्,’ प्रचण्डनिकट नेताले फरकधारलाई बताए, ‘त्यसैले उनी अहिले सचिवालय बैठक सार्न चाहन्छन् ।’

बैठक केही दिन सार्न सक्दा सचिवालयका सदस्य तथा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई यसअघि जस्तै आफ्नो पक्षमा ल्याउन सकिने ओलीको बुझाइ छ । त्यसका लागि उनले केही दिनअघि मात्र गौतमसँग भेट गरेका छन् । त्यति मात्र होइन, गौतमसँग एक भेटवार्तामा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पार्टी विवाद समाधानमा विशेष भूमिका खेल्न अनुरोध गरेकी छिन् ।

‘ओलीले पछिल्लो समय जसरी राष्ट्रपति र नेकपका अन्य नेताहरुलाई भेट्नुभएको छ,’ ती नेताले भने, ‘यसले उहाँ केही राजनीतिक लेनदेनबाट पार्टीमा फेरि आफू बलियो भएको प्रमाणित गर्न चाहनुहुन्छ । त्यसैले उहाँ अहिले सचिवालय बैठकको पक्षमा हुनुहुन्न ।’

अब लागौँ, प्रचण्ड किन अहिले ओलीले सार्न चाहेको सचिवालय बैठकको पक्षमा छन् भन्नेमा ।

नेकपामा यसअघि पनि दुई अध्यक्ष ओली र प्रचण्डबीच बारम्बार खटपट पर्दै आएको हो । तर, यति बेला जुन विवाद नेकपामा देखिएको छ, त्यसले उत्कर्ष रुप लिएको छ । यसअघिका विवादमा नेकपाका दोस्रो पुस्ताका नेताहरु जति पार्टी एकताको पक्षमा बोलिरहेका हुन्थे, यसपटक त्यस्तो देखिँदैन । 

यसअघि वैशाखमा भएको विवादमा पनि प्रचण्ड वार कि पारको लडाइँमा रहेको बताइन्थ्यो । तर, त्यति बेला अन्तिम समयमा आएर नेकपा उपाध्यक्ष वामदेव गौतमले अन्तिममा ओलीलाई साथ दिएका थिए । अघिल्लो दिनसम्म ओलीको राजीनामा माग गरिरहेका गौतमले एकाएक ६ बुँदे प्रस्ताव निकालेका थिए, जसमा ओली नै पाँच वर्ष सरकारको नेतृत्वमा रहने भनिएको थियो । 

उनको यो प्रस्ताव आएलगत्तै नेकपा सचिवालयमा गौतम ओलीतिर ढल्किएको बुझाइ बढेको थियो । अन्ततः ओली सचिवालय बैठकमा पनि बहुमतमा पुगेका थिए ।

त्यति बेला ओलीलाई साथ दिएका थिए, नेकपामा पूर्वमाओवादी नेताहरुले पनि । 

तर, यसपटक सिनारियो फेरिएको छ । अब नेकपामा पूर्वमाओवादी नेताहरुले समेत प्रचण्डलाई साथ दिन थालेका छन् । कतिपयले ओलीलाई यसपटक आफूहरुले साथ दिन नसक्ने बताएका छन् भने कतिपयले प्रचण्डलाई नै भेटेर आफूहरु अन्तिम समयसम्म प्रचण्डलाई साथ दिने आश्वासन दिएका छन् । ​

तिनैमध्येका एक हुन्, गृहमन्त्रीसमेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल । 

केही दिनअघि खुमलटार पुगेर बादलले आफू प्रचण्डको साथमा रहेको बताएका थिए । यसले गर्दा यसपटक प्रचण्ड सचिवालयमा आफूलाई बलियो भएको र पूर्वमाओवादी नेताहरु पनि आफ्नो पक्षमा आएकाले गणितीय रुपमा आफू बलियो भएको तर्कमा छन् ।

‘पार्टी भित्र दोस्रो र तेस्रो पुस्तामा पनि पछिल्लो समय अध्यक्ष ओलीबाट भएका गतिविधिलाई अस्वीकार्य मान्न थालिएको छ,’ प्रचण्डनिकट एक नेता भन्छन्, ‘त्यसैले पार्टीमा विधि स्थापनाका लागि र अर्का अध्यक्षलाई सच्चिने मौका दिनका लागि पनि उहाँले सचिवालय बैठक हुनैपर्छ भन्ने अडान लिनु भएको हो ।’

  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार १७:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया