बिमा दाबी गर्ने बढेसँगै विवरण जाँच गर्दै इडिसिडी

कोभिड–१९ को बिमा दाबी गर्नेको सख्या बढेपछि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले रुजु गर्न थालेको छ । यसका लागि महाशाखाले वरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी रुजु गर्न थालेको जनाएको छ । 

बिमा समितिसँग समन्वय गरेर इडिसिडीले रुजु गरिरहेको उनले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ५३० जना संक्रमितको रुजु गरिसकेको छ । रुजु गर्ने क्रममा १५ प्रतिशतको विवरण नमिलेको उनले बताए । समितिले इडिसिडीमा प्राप्त विवरण र प्रयोगशालाले पठाएको विवरणबीच रुजु गरिरहेको छ । 

‘संक्रमित हो वा होइन भनेर दुवैबाट प्राप्त विवरणलाई रुजु गरेका छौं,’ समितिका संयोजक अधिकारीले भने,’ ‘दुवैमा मिलेपछि मात्र हामीले बिमाका लागि सिफारिस गर्दछौँ ।’ समितिले रुजु गरिसकेपछि मात्र बिमाबापतको रकम पाउनेछन् । उक्त समितिले नाम, उमेर र ठेगाना रुजु गर्ने गर्दछ । 

 विसं २०७७ भदौ २८ अगाडि बिमा गरेका संक्रमितले ५० हजार र एक लाख बिमा तथा भदौ २९ गतेपछि बिमा गरेकाले २५ हजार र ७५ हजार रुपैयाँ पाउने गर्दछन् । गलत रिपोर्ट लिएर बिमा दाबी गर्न थालेपछि रुजु गर्न थालिएको बिमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बताए । उनका अनुसार अहिलेसम्म करिब २५ हजार जनाले बिमा दाबी गरेका छन् । 

अहिलेसम्म नेपालमा दुई लाख २० हजार ३०८ जना संक्रमित भएकामध्ये एक लाख ९९ हजार २४ जना निको भइसकेका छन् भने संक्रमणकै कारण एक हजार ३२१ जनाको निधन भइसकेको छ ।    
 





  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार १७:१४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया