‘अमेरिका इज ब्याक’ भन्दै बाइडेनले गरे ट्रम्पको विदेश नीति खारेजको संकेत

जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश निती खारेज गर्दै अमेरिका विश्वमञ्चको नेतृत्व गर्न तयार रहेको बताएका छन् । राष्ट्रपतिमा निर्वाचित बाइडेनले ट्रम्पले विश्वका अधिनायकवादी नेतासँग सहकार्य गरेर अमेरिकालाई एक्लो बनाएको भन्दै त्यो अध्यायको अब अन्त्य भएको बताएका हुन् । 

मंगलबार बाइडेनले विश्व समुदायसँग सहकार्य गर्दै अगाडि बढ्ने बताएका छन् । उनले त्यसका लागि अमेरिका पुनः तयार भएको प्रष्ट पारेका हुन्। उनले जनवरी २० मा सत्ता सम्हालेपछि ट्रम्पको एकतर्फी राष्ट्रवादको नीतिबाट अलग हुने प्रष्ट पारेका हुन्

ट्रम्प राष्ट्रपति भएपछि अन्तर्राष्ट्रिय मञ्चबाट अलग हुने विषयमा गरेका निर्णय उल्टाउने संकेत बाइडेनले गरेका हुन् । ट्रम्पको राष्ट्रवादले अमेरिकालाई कमजोर बनाएको उनको विश्लेषण छ । 

बाइडेनले आफ्नो नेतृत्वमा पुरानै मान्यतालाई निरन्तरता दिने संकेत गरेका हुन् । उनले अमेरिकालाई पुरानै लयमा फर्काउने भन्दै ‘अमेरिका इज ब्याक’ भनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।​

बाइडेनले मन्त्रिपरिषदमा रहने महत्वपूर्ण नाम सार्वजनिक गरेका छन् ।  जनवरी २० मा बाइडेनले शपथ लिएपछि जोन केरी जलवायु परिवर्तन विशेष दूत बन्नेछन् । केरी अमेरिकाको पूर्व विदेशमन्त्री हुन् । 

त्यसैगरी बाइडेनले एन्टोनी ब्लिङ्कनलाई विदेश मन्त्री बनाउने घोषणा गरेका छन् भने ज्यानेट येलेन वित्त मन्त्री बन्ने सम्भावना छ । ​



बाइडेनले एभ्रिल हाइनेसलाई राष्ट्रिय गुप्तचर निकायको निर्देशक र होमल्याण्ड सेक्युरिटी मन्त्रीका लागि एलेजान्ड्रो मायोर्कासलाई चयन गर्ने घोषणा गरेका छन्। 

सँगै बाइडेनले ज्याक सुलिभानलाई ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार र लिन्डा थोमसलाई संयुक्त राष्ट्रसंघमा अमेरिकी दूतका रुपमा नियुक्त गर्ने छन् ।



अमेरिकामा नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा बाइडेनले ३०४ र ट्रम्पले २३२ इलेक्टोरल मत पाएका छन् । अमेरिकी राष्ट्रपतिका लागि २७० मत आवश्यक पर्छ । 
बाइडेनले सोमबार विज्ञप्ति सार्वजनिक गर्दै उनको मन्त्रिपरिषद् सदस्यका महत्वपूर्ण व्यक्तिको नाम सार्वजनिक गरेका हुन् । 

उनले अहिले विश्वले सामना गरेका ठूला समस्यालाई चुनौती दिने गरी टिम बनाउने बताएका छन् । यसरी बाइडेनले घोषणा गरेका व्यक्तिको नाम माथिल्लो सदनबाट पारित हुनुपर्छ । ​

बाइडेनले जलवायु परिवर्तनसँग सम्बन्धी महत्वपूर्ण मानिएको पेरिस सम्झौता गरेका केरीलाई विशेष दूत बनाउने निर्णय लिएका हुन् । केरी बाराक ओबामाको दोस्रो कार्यकालमा विदेश मन्त्री थिए । 

जलवायु परिवर्तन सम्बन्धी महत्वपूर्ण पेरिस सम्झौताबाट ट्रम्प प्रशासनले अमेरिका औपचारिक रुपमा बाहिरिने बताएको छ । यता बाइडेनले सत्तामा पुगे लगत्तै सम्झौतामा अमेरिकालाई सामेल गर्ने बताएका छन् । 

केरी सन् २००४ राष्ट्रपतिका उम्मेदवार बनेका थिए। त्यत्तिबेला डर्ज डब्लु बुससँग पराजित भएका केरीलाई बाइडेनले आफ्नो प्रमुख सहयोगीका रुपमा अगाडि सारेका हुन् ।  

  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार ८:१९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया