नेपालमा सरकारकै कारण भ्रष्टाचार बढेको छ : प्रतिवेदन
प्रतीकात्मक तस्बिर

ट्रान्सपरेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन ब्यारोमिटर एशियाको प्रतिवेदनअनुसार नेपालमा हुने भ्रष्टाचारको मूल कारण सरकार रहेको छ । इन्टरनेशनल गरेको अनुसन्धानमा सहभागीमध्ये ८४ प्रतिशत नेपालीले सरकारकै कारण भ्रष्टाचार बढेको बताएका छन् ।

सर्वेक्षणमा सहभागीमध्ये १२ प्रतिशतले सार्वजनिक सेवा लिन घुस दिएको बताएका छन् भने २९ प्रतिशत नेपालीले सार्वजनिक सेवा प्रयोग गर्न व्यक्तिगत पहुँच प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ७ प्रतिशत नेपालीले सार्वजनिक सेवा लिँदा यौन दुर्व्यवहारको समस्या झेल्नुपरेको समेत प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागी १३ प्रतिशत नेपालीले घुससँग मत साट्ने प्रस्ताव आएको बताएका छन् ।

प्रतिवेदनले एशियामा भ्रष्टाचार एउटा प्रमुख समस्या भएको पनि देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचारको विषयमा मार्च १९ देखि सेप्टेम्बर २०२० सम्म एशियाका नेपालसहित १७ देशका करिब २० हजार मानिसमा सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणले एशियामा भ्रष्टाचार बढ्दै गएको देखाएको छ । साथै, सरकारप्रतिको विश्वासमा पनि कमी आएको प्रतिवदेनमा उल्लेख छ । 

इन्टरनेशनलको प्रतिवेदनअनुसार भ्रष्टाचार सूचकाङ्कमा नेपाल कुल सय अंकमा ३४ अंकका साथ ११३ स्थानमा रहेको छ । अघिल्लो वर्ष नेपाल ३१ अंकसहित १२४ औं स्थानमा रहेको थियो ।

एशियामा स्वास्थ्य सेवा जस्ता आवश्यक सेवाहरू उपयोग गर्दा ५ मध्ये १ जनाले घुस दिने गरेको सर्वेक्षणले देखाएको छ । गत वर्षमा सार्वजनिक सेवा प्रयोग गरेका व्यक्तिमध्ये १९ प्रतिशतले घुस दिएको प्रतिवेदनमा उल्लेख छ ।

उक्त अनुसन्धानले एसियामा सरकारी भ्रष्टाचार नै ठूलो समस्या भएको देखाएको छ । सर्वेक्षणमा सहभागीले आफ्नो देशमा सरकारी भ्रष्टाचार नै ठूलो समस्या भएको बताएका छन् । सर्वेक्षणले घुसखोरीबाहेक सरकारी सेवाको प्रयोगमा व्यक्तिगत पहुँचको पनि ठूलै मात्रामा प्रयोग हुने गरेको देखाएको छ । 



सार्वजनिक सेवा प्रयोग गर्ने ५ व्यक्तिमध्ये एकले आफूलाई आवश्यक पर्ने सेवा प्रयोग गर्न व्यक्तिगत पहुँच प्रयोग गरेको रिपोर्टमा उल्लेख छ ।

यस्तै, घुसको मामिलामा उमेर समूह पनि प्रमुख कारण बनेको सर्वेक्षणले देखाएको छ । १८ देखि ३४ वर्ष उमेरका युवाहरूले कुनै अन्य उमेर समूहलाई भन्दा घुस दिने वा व्यक्तिगत पुहँच प्रयोग गर्ने सम्भावना बढी भएको प्रतिवेदनमा उल्लेख छ ।



सर्वेक्षणले निर्वाचन वरपर झन भ्रष्टाचार हुने गरेको देखाएको छ । एशियामा पछिल्लो ५ वर्षमा कुनै पनि चुनावमा ७ मध्ये १ जनालाई घुस दिएर भोट हाल्न प्रस्ताव गरिएको प्रतिवेदनमा उल्लेख छ ।

नेपालको हकमा भने ४३ प्रतिशत सहभागी नेपालीले सबै सांसद भ्रष्ट भएको बताएका छन् । अरूले भने केही सांसद मात्र भ्रष्ट भएको बताएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, ४३ प्रतिशत नेपालीले नेपालका सबै सरकारी कर्मचारी भ्रष्ट भएको बताएका छन् । अरूले केही कर्मचारी मात्र यसमा संलग्न रहेको बताएका छन् ।

यस्तै, स्थानीय तहका जनप्रतिनिधि पनि भ्रष्ट रहेको प्रतिवेदनले देखाएको छ । सर्वेक्षणमा सहभागी ४० प्रतिशत नेपालीले स्थानीय तहका अधिकांश जनप्रतिनिधि भ्रष्ट रहेको बताएका छन् ।

  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार १३:३७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया