राति ९ बजेपछि जब डिएसपी अचानक सम्पर्कविहीन भए...
म‌ंगलबार राति सम्पर्कविहीन भएर फेला परेका डिएसपी भरतबहादुर चौधरी । फाइल फोटो

कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायब उपरीक्षक(डिएसपी) भरतबहादुर चौधरी बुधबार राति एकाएक सम्पर्कविहीन भएपछि कैलाली प्रहरीमा हलचल मच्चियो ।

९ बजेसम्म सम्पर्कमै रहेका डिएसपी चौधरी सम्पर्कविहीन भएपछि राति नै उनको खोजीका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरियो । कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राति नै टोली खटाइयो। प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो। 

‘राति सम्पर्कविहीन भएपछि उहाँको बारेमा हामीले चासो राखेर खोजी थालेका हौँ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले  भने, ‘अहिले उहाँ सम्पर्कमा आइसक्नुभएको छ । दुर्गम क्षेत्रमा सूचना संकलनका लागि गएको भन्नुभएको छ । हामी थप अनुसन्धान गरिरहेका छौँ।’

प्रहरी वरिष्ठ उपरीक्षक सिंहका अनुसार चौधरीले सूचना संकलन गर्न गएको भनेपनि उनीसँग अन्य प्रहरी अधिकृत भने गएका थिएनन् । स्रोतका अनुसार उनी बुधबार बिहान कैलालीको बुढीतोलामा रहेको एक होटलमा भेटिएका हुन्। 

नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरीले दिएको जानकारी अनुसार डिएसपी चौधरी होटलमा एक केटीको साथमा फेला परेका थिए । मंगलबार राति होटलमा केटी लिएर गएपछि चौधरीले फोन अफ गरेका थिए । प्रहरीले खोजी  गर्दै जाँदा उनी होटलमा भेटिएका हुन्। 

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको विभत्स हत्या गरिएको थियो । सो हत्या घटना सेलाउन नपाउँदै इलाका प्रहरी कार्यालयकै इन्चार्ज सम्पर्कविहीन भएपछि गएराति सुदूरपश्चिम प्रहरी वृत्तमा तनाव सिर्जना भएको थियो ।



डिएसपी यसरी सम्पर्कविहीन भएपछि उनी जिल्ला तानिएका छन् । चौधरी माथि छानबिन गर्न जिल्ला तानिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

‘जिल्ला प्रहरी कार्यालयले उनीमाथि छानबिन गर्छ र दोषी देखिएमा कारबाही हुन्छ, वरिष्ठ प्रहरी उपरीक्षक सिंहले भने, ‘अहिले उनी जिम्मेवारीविहीन छन् ।’ इप्रका मालाखेतीमा तत्कालका लागि इन्सपेक्टरलाई जिम्मेवारी दिइएको छ। 



  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार १५:५३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया