साताभर नेप्सेमा साढे ३१ अर्बको कारोबार, कुल बजार पुँजीकरण २५ खर्ब ३७ अर्ब ४४ करोड

यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३१ अर्ब ५४ करोडभन्दा बढीको कारोबार भएको छ ।  हालसम्मकै उच्च रकमको कारोबार हुँदा सूचकमा समेत निकै सुधार देखिएको हो ।

यस साता २ सय १२ कम्पनीको ३१ अर्ब ५४ करोड ३१ लाख ८८ हजार २ सय रुपैयाँबराबरको ७ करोड ५८ लाख ३८ हजार ८ सय ६४ कित्ता सेयर कारोबार भएको छ । यस साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा २५ खर्ब ३७ अर्ब ४४ करोड २२ लाख ८९ हजार रुपैयाँ बजार पुँजीकरण भएको छ ।

सेयर बजारले हालसम्मकै उच्च कारोबार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेप्से सूचकले झन्डै ४ वर्ष ४ महिनापछि फेरि आफ्नै ‘अल टाइम हाई’ रेकर्ड तोडेको हो । बिहीबार बजार १९२६ दशमलव ९२ बिन्दुको नयाँ रेकर्ड बनाएर सामान्य हिसाबले फर्किएको थियो ।

यसअघि नेप्सेले २०७३ साउन १२ गते १ हजार ८ सय ८१ पुगेर त्यसअघि लगातार घट्दै १०९९ बिन्दुसम्म आएको थियो । त्यसपछि विभिन्न समयमा उतारचढाव हुँदै गए पनि कोरोना भाइरसको रोकथामका लागि गरिएको लकडाउन खुला भएपछि बजार निरन्तर बढ्न सुरु गरेको हो । त्यसपछि बजार निरन्तर बुलिस प्रवृत्तिमा छ ।

साताभरमा ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २० दशमलव ११ अंकले बढेर ३६५ दशमलव १८ को बिन्दुमा आइपुगेको छ  । पछिल्लो समय कारोबार रकमले पनि नयाँ नयाँ रेकर्ड कायम गर्दै आएको बजारमा खरिदबिक्री चाप पनि उच्च रहँदा लगानीकर्तामा थप उत्साह जगाएको छ । 

लगानीकर्ताको मनोविज्ञान सकारात्मक भएको कारण पनि सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । यसैबीच बजारमा नाफा बुक गर्ने लगानीकर्ता पनि छन् । तर, नयाँ लगानीकर्ता पनि भित्रिएका कारण बजारमा सन्तुलन कायम भएको छ । पछिल्लो समय सरकार र अर्थमन्त्रीले पनि सेयर बजारलाई सकारात्मक रूपमा लिएका कारण लगानीकर्ताको मनोबल उच्च भएको सेयर लगानीकर्ताको भनाइ छ ।



सेयर बजारले चार वर्षको बियरिस सर्कल पार गरेको छ । त्यसपछिको सर्कल बुलिस हो । पछिल्लो समयमा प्रविधिको प्रयोगले पनि लगानीकर्तालाई कारोबार गर्न सहज भएको छ । यसले नयाँ लगानीकर्ता भित्र्याउन टेवा पुगेको छ ।

साताभर बढेको नेप्से सूचक एक दिन मात्रै घटेको छ । साताको पहिलो दिन आइतबार ४ दशमलव ६९ अंकले बढेको बजारमा सोमबार सामान्य करेक्सन देखिएको थियो । त्यो दिन सूचक २ दशमलव ३८ अंकले घटेको थियो । मंगलबार २९ दशमलव ६८ अंकले बढेको बजार साताको चौथो दिन बुधबार सर्वाधिक ६४ दशमलव ७० अंकले बढेको हो । साताको अन्तिम दिन बिहीबारसमेत सूचक १८ दशमलव ४३ अंकले बढेर १८९३ दशमलव २५ को बिन्दुमा आइपुगेको छ ।



यस साता कारोबारमा आएका होटलबाहेक सबै उपसमूह बढेका छन् । साताको पहिलो दिनको तुलनामा सबैभन्दा बढी उत्पादन तथा प्रशोधन ६६१ दशमलव ५१ अंकले बढेको हो । त्यस्तै, निर्जीवन बिमा ३५३ दशमलव २२ अंकले बढेको छ भने व्यापार समूह २५१ दशमलव १४ अंक, अन्य समूह १५६ दशमलव शून्य १ अंक, जीवन बिमा १२२ दशमलव २४ अंक, लघुवित्त ९४ दशमलव ९ अंक, जलविद्युत् ५१ दशमलव १६ अंक, वित्त समूह १३ दशमलव ८८ अंक, म्युचुअल फन्ड शून्य दशमलव १६ अंक, बैंकिङ समूह ८५ दशमलव ६४ अंक र विकास बैंक ३१ दशमलव ८८ अंकले बढेको छ । होटल समूहको परिसूचक भने २ दशमलव ८९ अंकले घटेको छ ।

यस साता कारोबारमा आएकामध्ये सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यसको २ अर्ब ७ करोड ९९ लाख बढीको कारोबार भएको हो । त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको १ अर्ब २९ करोड र नेपाल बैंकको १ अर्ब २० करोड बढीको कारोबार भएको हो । 

यस साता सिभिल लघुवित्त वित्तीय संस्थाको ११ लाख ४१ हजार १ सय ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नियमित कारोबारका लागि नेप्सेको कारोबार पाँच दिन खुला रहेको छ ।

  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १४:२१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया