नेपालमा कोरोनाभाइरसः काठमाडौंमा सबै उमेर समूह ‘रेड जोनमा’

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या दिनहुँ थपिएको छ । थपिएका मध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेका छन् । तीमध्ये पनि अधिकांश काठमाडौं जिल्लाका मात्र हुने गरेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख २९ हजार २ सय ४३ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाभाइरसका कारण १ हजार ४ सय ३५ जनाले ज्यान गुमाइसकेका छन् । 

काठमाडौंमा चाहिँ अहिलेसम्म ८६ हजार ३ सय ७१ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । यीमध्ये ५१ हजार १ सय ५९ पुरुष हुन् भने ३३ हजार २ सय १२ जना महिला हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजारभन्दा बढी संक्रमित भएका उमेर समूहलाई रेड जोनमा राख्ने गरेको छ । काठमाडौंको हकमा अहिले सबै उमेर समूहमा १ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार १० वर्षभन्दा कम उमेर समूहका काठमाडौंका बालबालिकामध्ये २ हजार ५ जनालाई कोरोनाभाइरस संक्रमण देखिइसकेको छ । त्यस्तै ११ देखि २० वर्षसम्मका ४ हजार ६ सय ८३ जना कोरोनाभाइरस संक्रमित काठमाडौंमा भेटिएका छन् । 

काठमाडौंमा सबैभन्दा प्रभावित उमेर समूहको दोस्रो सूचीमा आउँछ २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरु । यो उमेर समूहमा काठमाडौंमा २१ हजार ७ सय ५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।



काठमाडौं जिल्लामा सबैभन्दा बढी प्रभावित उमेर समूह चाहिँ ३१ देखि ४० वर्षको समूह हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समूहमा २३ हजार ६ सय ३३ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । त्यस्तै ४१ देखि ५० वर्षसम्मका १४ हजार ९ सय २३ कोरोनाभाइरस संक्रमित काठमाडौंमा छन् । 

५१ देखि ६० वर्ष उमेर समूहमा पनि काठमाडौंमा ९ हजार ९ सय ७६ जना कोरोनाभाइरस संक्रमित रहेका छन् । 



६१ वर्षमाथि र ७० वर्ष तल चाहिँ काठमाडौंमा ५ हजार ४ सय १२ कोरोनाभाइरस संक्रमित रहेका छन् । त्यस्तै, ८० वर्षभन्दा तल र ७१ वर्षभन्दा माथि २ हजार ७ सय २२ र ८० वर्षभन्दा माथि १ हजार १ सय ९२ जनालाई काठमाडौंमा कोरोनाभाइरस संक्रमण भइसकेको छ ।

 

  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार २२:२५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया