‘सानो कुरो मनमा लिई दुःखी हुनुहुन्न’
नेपथ्यका गायक अमृत गुरुङ ।

सानो कुरो मनमा लिई दुःखी हुनुहुन्न 
दुख्छ मुटु चस्स तर देखाउनु हुन्न 

नेपथ्य ब्याण्डको ‘सानो कुरो’ बोलको यो गीत सन् २००३ मा सार्वजनिक भएको ‘भेडाको ऊन जस्तो’ एल्बममा समावेश छ । गीत रिलिज गरेको करिव १८ वर्षपछि नेपथ्यले बिहीबार आफ्नो युट्युब च्यानलमा गीतको लिरिकल भिडियो सार्वजनिक गर्‍यो ।

जसरी गीत सार्वजनिक भएको वर्षौपछि मात्र लिरिकल भिडियो सार्वजनिक भयो, त्यसरी नै गीत कम्पोज भएको केही वर्षपछि मात्र रेकर्डिङ भएको थियो । 

यो गीत फगत गीत मात्र होइन, यो गीतसँग कथा जोडिएको छ । गीतमा नेपथ्यको आफ्नै कथा छ । 

सन् १९९१ बाट सुरु भएको नेपथ्यको यात्रा आजपर्यन्त जारी छ । यहाँसम्म आइपुग्दा नेपथ्यले विभिन्न कालखण्डमा विभिन्न उतारचढाव भोगेको छ । ब्यान्डमा सदस्यहरु आउने–जाने क्रम चलिरहेको छ । सदस्यहरु आउने जानेक्रममा कहिलेकाहीँ सानातिना मनमुटावहरु पनि भएका छन् । र, यो गीतको सर्जिन तिनै मनमुटाव र उतारचढावको उपज हो । 

सन् २००१ । नेपथ्यको भारतको सिलोङ्मा कार्यक्रम थियो । कार्यक्रम सकेर फर्किने क्रममा नेपथ्यका अगुवा अमृत गुरुङले ट्रेनमा बसेर अतितको सयर गर्दै अतितमा भएका साथीहरुसँगका अनुभवहरुलाई विचार्दै यो गीत लेखेका हुन् । 



‘नेपथ्य निरन्तर यात्रा गरिरहेको एउटा बस हो भने, यसका सदस्यहरु झर्ने र चढ्ने यात्रुहरु । जसरी यात्रुहरु झरे पनि बस चलिरहन्छ, त्यसरी नै सदस्यहरु आउने–जाने भए पनि नेपथ्य चलिरहन्छ,’ नेपालयका व्यवस्थापन समितिका सदस्य किरन श्रेष्ठले नेपथ्यको यात्रा सम्झिए, ‘ब्यान्डसँग जोडिनु र अलगिनुमा सबै सदस्यहरुको आआफ्नै कारणहरु थिए । जेजस्तो भए पनि हाम्रो कसैको कसैसँग न त द्वेष र न त गुनासो नै । जीवन भनेकै यही हो ।’

यो यात्राका दौरानमा कहिलेकाहीँ भएका तीतामीठा अुनभवहरुलाई सम्झेर अमृत गुरुङ्ले गीत रच्नुभएको किरण बताउँछन् । ‘उहाँले यो गीतको म्यालोडी पनि ट्रेनमै कम्पोज गर्नुभएको हो ।’ किरणले फरकधारलाई बताए । 



गीत रिलिज भएको वर्षौपछि लिरिकल भिडियो रिलिज हुँदा आफुलाई धेरै खुसी लागेको पनि उनले बताए । 

गीतको रचनगर्भ र रचनागर्भको सन्दर्भबारे एल्बमको कभरमै पनि उल्लेख गरिएको श्रेष्ठले बताए । 

  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार २३:१८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया