कर्णालीमा धान उत्पादन साढे ५ प्रतिशतले वृद्धि
सल्यानको वनगाड कुपिन्डे नगरपालिका–१ आँपखोलामा झुलेको धानबाली । तस्बिर : वसन्त भण्डारी/फरकधार

कर्णाली प्रदेशमा यो वर्ष धान उत्पादनमा साढे पाँच प्रतिशतले वृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्ष ६ हजार मेट्रिक टन बढी धान उत्पादन भएको हो । 

कृषि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले दिएको जानकारी अनुसार यो वर्ष कर्णालीमा १ लाख २० हजार ९७१ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष १ लाख १४ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष सुर्खेतमा ४२ हजार ८०३, सल्यानमा २८ हजार ९००, रुकुम पश्चिममा ८ हजार ९७६, दैलेखमा ४ हजार ४४९ र जाजरकोटमा १० हजार ६६५ मेट्रिक टन धान उत्पादन भएको छ ।

यस्तै डोल्पामा ६०५, जुम्लामा २ हजार ९००, कालिकोटमा ९ हजार ४८९, मुगुमा ७ हजार ५७६ र हुम्लामा ७९० मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जानकारी दिएको छ । 

किसानको मिहिनेतसँगै यो वर्ष समयमै वर्षा भएका कारण धान उत्पादनमा वृद्धि भएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले बताए । ‘यो वर्ष वर्षात् हुँदा किसानले समयमै धान रोप्न पाए’, निर्देशक रोकायाले भने, ‘प्रदेश सरकारले उत्पादन वृद्धिका लागि किसानलाई प्रेरित गर्नु, बाँझो जमिनमा पनि खेती गर्नु जस्ता कारणले पनि धान उत्पादन बढेको हो ।’ कोरोनाका कारण किसान समयमै घर आउनु र गोडमेलमा ध्यान दिनु जस्ता कारणले धान उत्पादन वृद्धि भएको रोकायाको भनाइ छ ।

अपेक्षाअनुसार वृद्धि भएन



धान उत्पादनमा वृद्धि भए पनि अपेक्षा अनुसारको वृद्धि भने हुन सकेन । वर्षायाममा किसानले समयमा नै रासायनिक मल नपाउनु र सलह कीराको प्रकोपका कारण अपेक्षा अनुसारको धान उत्पादन नभएको हो । कर्णालीमा यो वर्ष गत वर्षभन्दा १० देखि २० प्रतिशत बढी धान उत्पादन वृद्धि हुने अपेक्षा गरिएको थियो ।

यसअघि वर्षायामको समयमा कोरोना महामारीका कारण कर्णालीमा पनि रासायनिक मल आयात भएको थिएन । धान रोप्ने र गोडमेल गर्ने समयमा रासायनिक मल नपाउँदा अपेक्षा गरेअनुसार धान उत्पादन नभएको निर्देशनालयको भनाइ छ । सोही समयमा सुर्खेत, जाजरकोट, सल्यान लगायतका जिल्लामा सलह कीराले समेत धानको बिउमा क्षति पुर्‍याएको थियो ।



  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार १३:४१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया