भागी बिहे गर्न लागेको आशंकामा आमा-बुबाबाटै छोरीको हत्या, ७ जना पक्राउ

रौतहटमा भागी बिहे गर्न लागेको आशंकामा आमा–बुबाले नै छोरीको हत्या गर्न लगाएको घटना सार्वजनिक भएको छ । 

घटना माधव नारायण नगरपालिका ७ लौकाहामा भएको हो । त्यहाँका राम अयोध्या साह तेली र उनकी श्रीमती सीतादेवीले १७ वर्षीया छोरीको हत्या गर्न लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

गत कात्तिक २६ को राति आमासँगै घरमै सुतिरहेकी अमृता साहलाई अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो । उक्त घटनामा संलग्न आमा–बुबासहित सातजनालाई पक्राउ गरी रौतहट प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बुबा रामअयोध्या, आमा सीतादेवी, देवाही गोनाही नगरपालिका २ करुनिया लक्ष्मिनियाका ६० वर्षीय शेख अलियास, सोही ठाउँका ४० वर्षीय इस्लाम अन्सारी, ३५ वर्षीय शेख इन्ताज, ५० वर्षीय कैमुल देवान र परोहा नगरपालिका ४ का ४५ वर्षीय छोटेलाल साह रहेका छन् । उनीहरुले हत्या गरेको स्वीकार गरिसकेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए ।

उनका अनुसार छोरी अमृताको हत्या गर्न आमा–बुबाले ५० हजार रुपैयाँ खर्च गरेको खुलेको छ । छोरीको हत्या गर्न आमा–बुबाले इस्लाम अन्सारीलाई सो रकम दिएको र उनले नै अन्य व्यक्तिलाई प्रयोग गरी हत्या गर्न लगाएको बताइएको छ ।

किन गरियो हत्या ?



अमृताले सोमिन्द्र नामको केटासँग प्रेम गर्थिन् । तर, आमा–बुबाले उनको विवाह २०७६ असारमा बलपूर्वक सर्लाहीका विशुनपुर गाउँपालिका ३ का रुपेश साहसँग गरिदिए । तर, अमृता उनीसँग बस्न इच्छुक नहुँदा–नहुँदै  श्रीमानसँग बस्न थालिन् । 

केहि दिनमै उनको श्रीमान् रुपेशमाथि आक्रमण भयो । घटनापछि घरपक्षले अमृता र उनका प्रेमी सोसिन्द्र भगतमाथि प्रहरीमा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गराए ।



मुद्दा दर्ता भएपछि अमृताको सम्बन्ध श्रीमान्सँग बिग्रिँदै गयो । गत असारमा उनीहरुबीच सम्बन्ध विच्छेद नै भयो । त्यसपछि अमृता माइतमा बस्न थालिन् ।

आमा–बुबाले छोरी प्रेमीसँग भाग्ने सुइँको पाएपछि ‘अब समाजमा इज्जत नै जाने भयो’ भन्दै हत्या गर्ने योजना बुनेको र कात्तिक २६ मा हत्या गर्न लगाएको प्रहरीले जानकारी गराएको छ ।

  • प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार १९:०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया