कान्छीले आफ्नै घरको २६ लाख चोरिन्, छिमेकीले प्रहरीलाई फोन गरे

सामान्यतः चोरी भन्नाले कुनै धनमाल वा महत्वपूर्ण सामान कसैले त्यसको धनीलाई थाहै नदिइ लैजानु भन्ने बुझिन्छ। चोरी, जुन लुकीछिपी गरिन्छ। त्यो पनि प्राय कुनै बाहिरी व्यक्ति वा अन्जान व्यक्तिले गर्ने गर्छ। तर सबै चोरी उस्तै किसिमका हुँदैनन्। आफूले सोच्दै नसोचेका र सबैभन्दा नजिकको मान्छे नै चोर भएर निस्कन्छ। यस्तै घटना घटेको छ ललितपुरमा। पतिले राखेको पैसा आफ्नै पत्नीले चोरी गरेकी छिन्। त्यो पनि अलिअलि हो र ? २६ लाख रुपैयाँ। 

आइतबार मध्यान्ह प्रहरीको कन्ट्रोल नम्बर १०० मा एउटा फोन आयो। प्रहरीमा आएको जानकारी अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–१ मा रहेको एउटा घरमा ठूलो चोरी भएको थियो।  चोरी हुने घरका व्यक्तिले नभई छिमेकीले प्रहरीलाई फोन गरेका थिए। सो स्थानमा रहेको सानु कान्छा पोडेको घरबाट दिउँसै २६ लाख रुपैयाँ नगद, करिब साढे पाँच तोला सुन र २५ तोला चाँदी चोरी भएको थियो।  

दिउँसै ठूलो चोरी भएको सूचना प्रहरीमा आएपछि महानगरीय प्रहरी परिसरले तत्कालै सातदोबाटो एरियाका प्रहरी कमान्डर (डिएसपी) लाई घटनास्थलमा ‘मुभ’ गर्‍यो। 

यता घटनाबारे सुक्ष्म ढंगले ‘वाच’ गरिरहेका एसएसपी किरण बज्राचार्य समेत घटनास्थल पुगिन्। चोरीको अवस्था हेरेपछि तत्कालै प्रहरीले आफू मातहतका सबै इकाईलाई चोरको खोजीमा दौडाउन थाले। 

यता घटनास्थलमा प्रहरीको टोली पुग्दा प्रहरीले देख्यो– घरका दराज र अन्य सामान लथालिंग थिए। घरको ढोका फोडिएको थियो। दराज फोडिएका थिए। सामानहरु छरपष्ट अवस्थामा थिए। त्यसपछि प्रहरीको टोलीले यहीबाट आफ्नो अनुसन्धान सुरु गर्‍यो। तरपनि सुरुमा प्रहरीसँग अनुसन्धानको ‘क्लू’ थिएन। प्रहरीले सुक्ष्म ढंगले घटनाको अनुसन्धान सुरु गर्‍यो। 



अनि सुरुमा प्रहरीले श्रीमान÷श्रीमतीसँग बेग्लाबेग्लै सोधपुछ गरी अनुसन्धान थाल्यो। प्रहरीलाई धेरै मुश्किल भएन घटनामा संलग्न भएको व्यक्तिको पह्चिान गर्न। यी अनुसन्धानमा नै प्रहरीले चोरी बाहिरबाट नभएर घरभित्रबाटै भएकोमा ‘क्लियर’ भयो। 

प्रहरीलाई अनुसन्धानमा बताइएका कुराका आधारमा श्रीमती कान्छी पोडेमाथि शंका लाग्यो। अनि प्रहरीले विशेषगरी उनीसँग सोध्न थाल्यो–चोरीबारे। 



बुझ्दै जाँदा प्रहरीलाई थप अचम्मित बनायो। जब प्रहरीलाई थाहा भयो सम्बन्ध बिच्छेदसम्मको घटना। लामो समयदेखि श्रीमान÷श्रीमतीबीच राम्रो सम्बन्ध नरहेको थाहा पाएछि प्रहरीको अनुसन्धानको ‘सुइ’सिधै श्रीमती पोडेमाथि नै तेर्सियो। त्यसपछि प्रहरीको एकटोलीले आफ्नो अनुसन्धान अझ कडा बनाउँदै गयो भने अर्को टोली कान्छी पोडेको पूजा कोठामा पुग्यो खानतलासी गर्न। 

त्यसपछि केही समयमा प्रहरीको शंकालाई सही साबित भयो। अर्थात चोरी भएको भनिएका पैसा तथा गरगहना सहितका  सामानहरु  घरकै माथिल्लो तल्लामा रहेको पूजोठाको दराजबाट प्रहरीले बरामद गर्‍यो।  चोरी भएको भनिएका ती सामान सबै समान कान्छी पोडेले नै पुजाकोठामा रहेको दराजको सेफभित्र लुकाएर राखेको पुष्टि प्रहरीले गर्‍यो।  

बेग्लाबेग्लै अनुसन्धान गर्दा श्रीमतीका कुरा बनावटी देखिए। शरीरको हाउभाउ परिवर्तन गर्न थालेपछि यहीँबाट प्रहरीले घटनाको अनुसन्धान गर्न सफल भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रज्वल महर्जन बताउछन्।     
घटना भएको चार घण्टामै प्रहरी अनुसन्धानबाट कान्छी पोडे अभियुक्त ठहरिएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता महर्जनले जानकारी दिए। 

प्रहरीका अनुसार कान्छीका पतिले जग्गा बैना गरेको पैसा फिर्ता लिएर राखेका थिए।  पैसा लुकाउने कान्छी पोडेले श्रीमानले आफूमाथि हिंसा गरेको भन्दै केहीदिन पहिले नै उजुरी दिएको प्रहरीले जानकारी दिएको छ । 

  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १४:५०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया