ओली उपस्थित नभएपनि नेकपा सचिवालय बैठक बस्ने तयारी
फाइल फोटो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद चलिरहेकै सन्दर्भमा आज सचिवालय बैठक बस्दैछ। आज दिउँसो १ बजेका लागि बालुवाटारमा बोलाइएको बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू उपस्थित नहुने बताइसकेका छन्। 

तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले ओली उपस्थित नभएपनि बैठक बस्ने तयारी गरेको छ। 

नेकपाभित्र उत्पन्न संकट समाधान र अध्यक्षद्वयका राजनीतिक प्रतिवेदनमाथि आज छलफल हुने कार्यसूची छ।  यही मंसिर १३ गतेको बैठकमा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्र्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित पत्रमाथि मंगलबारको सचिवालय बैठकमा छलफल सुरु भएको थियो। 

मंगलबार दुवै अध्यक्षका राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा विवाद सिर्जना भएपछि बैठक बुधबारका लागि सारिएको थियो। मंगलबारको बैठकमा विवाद चर्किएपछि ओलीले बैठकमा सहभागी नहुने चेतावनी दिइसकेका छन्। 

प्रधानमन्त्री उपस्थित नभएपनि आजको बैठक चल्ने जानकारी पाएको नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले बताए। उनले भने, ‘आजको बैठक रोकिँदैन। प्रधानमन्त्रीको अनुपस्थितिमा पार्टी सचिवालयका अन्य सदस्यहरु बस्ने भन्ने कुरा आएको छ।’ 

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मंसिर १८ गते हुने स्थायी समिति र यही मंसिर २५ गते हुने केन्द्रीय समिति बैठकमा लाने वा अलग–अलगरुपमा लाने भन्ने बारेमा नेताहरुबीच सहमति जुट्न सकेको छैन। 
गत मंसिर ३ गते बसेको सचिवालय बैठकले स्थायी समिति बैठक मंसिर १८ र केन्द्रीय कमिटीको बैठक मंसिर २५ गते बोलाउने निर्णय गरेको थियो। 



सचिवालय बैठक लम्बिएपछि स्थायी कमिटी बैठकको मिति सर्ने अनुमान गरिएको छ। गत भदौ २६ गते सकिएको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्ष नेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो। तर भदौ २६ को सो निर्णय कार्यान्वयन हुन नसकेपछि नेकपा अहिले झन–झन  किचलोमा फस्दै गएको छ। 
 



  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार ११:५८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया