शतप्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्यका साथ काम गर्न मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शत–प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्यका साथ काम गर्न प्रदेशमातहतका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । बजेट कार्यान्वयनसँग सम्बन्धित सबैजसो समस्या समाधान भएको भन्दै शाहीले चालू आर्थिक वर्षको प्रगति उदाहरणीय हुनुपर्ने बताए । 

भौतिक पूर्वाधार विकासमन्त्रीको समेत जिम्मेवारी हेरिरहेका शाहीले बुधबार आयोजना गरिएको प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा बजेट कार्यान्वयनमा देखाइने कुनै पनि बहानाबाजी स्वीकार नहुने बताए । 

कार्यसम्पादनका आधारमा मूल्यांकन हुने बताउँदै मुख्यमन्त्री शाहीले कार्यालयमा बसेर फाइलमा हस्ताक्षर गर्ने र निर्देशन मात्र दिने कार्यालय प्रमुखको कार्यशैली सच्याउनुपर्ने समेत बताए । 

कार्यालय प्रमुखसमेत फिल्डमा खटेर परिणाममुखी काम गर्नुपर्ने बताउँदै शाहीले दोस्रो चौमासिकमा ५० प्रतिशत कार्यप्रगतिसहित समीक्षा गोष्ठीमा आउन निर्देशन दिएका छन् । 

निर्माण व्यवसायीको भरमा आयोजना नछाडी हरेक आयोजनास्थलमा प्राविधिक खटाउनुपर्ने, आयोजनाको प्रभावकारी कार्यान्वयन र गुणस्तरीय निर्माणकार्यका लागि अनुगमन तथा निरीक्षणलाई कडाइ गर्नुपर्ने उनको भनाइ छ । 

भुक्तानी प्रक्रियामा ढिलासुस्तीको गुनासो आफूकहाँ आइपुगेको बताउँदै उनले कार्यसम्पन्न भएका आयोजनाको भुक्तानीमा ढिलासुस्ती एवं अनावश्यक दुःख दिने कार्य स्वीकार्य नहुने बताए । 



दोस्रो चौमासिकसम्म बजेट कार्यान्वयनलाई तीव्र बनाउनुपर्ने भन्दै मुख्यमन्त्री शाहीले विभागीय मन्त्रीको सहमतिविना कोही पनि कार्यालय प्रमुखको बिदा स्वीकृत नगर्न सचिवलाई निर्देशनसमेत दिएका छन् ।  

भर्चुअल प्रविधि प्रयोग गरी आयोजना गरिएको प्रगति समीक्षा कार्यक्रममा प्रदेशमातहतका सम्पूर्ण कार्यालयका प्रमुखको सहभागिता थियो । 



  • प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार १९:१६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया