विद्यार्थी संगठनमा काउन्टर भेला, कसरी एक भइरहला नेकपा ?
शुक्रबार थापाथली क्याम्पसमा आयोजना गरिएको अनेरास्वियूका प्रचण्ड–नेपाल निकट विद्यार्थीहरूको भेलामा सहभागीहरु ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद तल्लो तह तथा जनवर्गीय कमिटीमार्फत पनि उजागर हुन थालेको छ। शुक्रबार नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूको एक पक्षले काठमाडौंमा  छुट्टै भेला गरेको छ। प्रचण्ड–नेपाल निकट विद्यार्थीले काठमाडौं उपत्यका स्तरीय भेला गरेको हो। अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङको अगुवाइमा भेला आयोजना गरिएको थियो।

कार्यक्रममा पूर्वविद्यार्थी नेताहरु लेखनाथ न्यौपाने र रामकुमारी झाँक्री अतिथिका रुपमा सहभागी थिए। मुख्य अतिथिका रुपमा स्थायी समिति सदस्यहरु अष्टलक्ष्मी शाक्य र पम्फा भुसालको उपस्थिति थियो। 

अनेरास्ववियूका संयोजक ऐन महरको अगुवाइमा ओली समूहका विद्यार्थीहरुले एक साताअघि गते यस खालको भेला गरिसकेको थियो। काठमाडौंको मदन भण्डारी कलेजमा भेला आयोजना गरिएको थियो। त्यस भेलामा ओली समूहका विद्यार्थी नेता कार्यकर्तालाई मात्रै डाकिएको थियो। 

ओली समूहका विद्यार्थीको सोही भेलालाई काउन्टर दिन अर्का समूहले आजको भेला आयोजना गरको हो। 

संगठनको संयोजकले आफूखुसी एउटा गुटको भेला गरेपछि  आफूहरुले पनि यो भेला गर्नुपरेको अनेरास्ववियूमा सह–संयोजक रञ्जित तमाङले बताए। ‘उनीहरुले आफूखसी भेला गरे, संगठनका साथीहरु अन्योलमा पार्नुभयो, उहाँहरुलाई स्पष्ट पार्नका लागि यो भेला गरिएका हो’ तामाङले भने।   यो भेला चाँही अनेरास्ववियूको आधिकारिक भेला भएको तामाङले दावी गरे। 



संगठनलाई एक व्यक्तिको भजन मण्डली बनाउन गरिएको प्रयत्नका विरुद्धमा भेला आयोजना गर्नु परेको सोही भेलामा सहभागी अनेरास्ववियूमा एक नेताले बताए। ती  नेताका अनुसार त्यहाँका वक्ताहरूले पार्टीमा एक व्यक्तिको मनपरी नचल्ने बताएका थिए। पार्टीलाई विधि, पद्धति अनुसार सञ्चालन गरी पार्टी एकतालाई कायम राखिने दावी गरेका थिए। 

ओलीले पार्टीमा विवाद देखिएपछि केही महिना अघिबाटै आफ्नो पक्षका नेता कार्यकर्ताहरूको भेला, छलफल आयोजना गर्दै आएका छन्। मदन भण्डारी फाउन्डेसनको ब्यानरमा ओलीले आफ्नो समूहका भेला तथा कार्यक्रमहरु गर्दै आएका छन्। पछिल्लो दिनमा प्रचण्ड–नेपाल समूहले पनि गोप्य रुपमा देशका विभिन्न ठाउँमा आफ्नो पक्षका भेला, बैठकहरू गर्दै आएको छ। 



पछिल्ला दिनमा ओली समूहका केही नेताहरुले प्रचण्ड–नेपाल समूहले यसैगरी पेल्दै गएमा सँगै बस्न नसक्ने अभिव्यक्ति दिइरहेका छन्। ओली समूहकै केही नेता र प्रचण्ड–नेपाल समूहका नेताहरुले पार्टी नफुट्ने, फुट्न नदिने दावी गरिरहेका छन्। यो दावीका बाबजुद दुवै समूह आ–आफ्ना तयारीमा लागेको देखिन्छ। 

शीर्ष नेतादेखि तल्ला कमिटीसम्ममा देखिएका विवाद र गतिविधिहरु हेर्दा कुन कुराले नेकपालाई फुटबाट जोगाउला भन्ने अनुमान गर्न कठिन देखिन्छ। 

  • प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार १६:५४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया