वीरेन्द्रनगरका दुई दर्जनभन्दा बढी सडक निर्माण गर्दै प्रदेश सरकार
प्रदेश सरकारमार्फत् वीरेन्द्र नगरमा निर्माण हुँदै गरेको प्रदेश प्लानिङ सडक । तस्बिर : वसन्त भण्डारी/फरकधार ।

कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरमा दुई दर्जनभन्दा बढी सडक निर्माणको काम अघि बढाएको छ । बजार क्षेत्रबाट विभिन्न ठाउँमा जोडिएका साना, ठूला गरेर हाल ३१ वटा सडक निर्माणको चरणमा रहेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका विभिन्न कार्यालयबाट प्रदेश प्लानिङ क्षेत्र सडक, सुर्खेत सहरी सडक, जनता सडक कार्यक्रम, निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत् सडक निर्माण भइरहेका छन् ।

प्रदेश प्लानिङ सडक अन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हुँदै हटियालाइन जोड्ने सडक निर्माणको काम ‘ए’,‘बी’ र ‘सी’ चरणमा भइरहेको छ । झण्डै ६ किमि लामो उक्त सडक निर्माणको जिम्मा श्याम एन्ड शंकर जेभी काठमाडौँले लिएको छ ।

पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार सुर्खेत सहरी सडक अन्तर्गत २६ वटा सडक निर्माणको चरणमा रहेका छन् । यसै गरी जनता सडक कार्यक्रम, निर्वाचित क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा पनि सडक निर्माण भइरहेका छन् ।

निर्देशनालयका निर्देशक वासु पौडेलले वीरेन्द्रनगर उपत्यकाभित्र रहेका सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । ‘प्रदेश सरकारले गत आर्थिक वर्षका ३६ वटा सडकमध्ये ५ वटाको निर्माण सकेको छ भने ३१ वटा निर्माणको चरणमा छन्,’ उनले भने, ‘ती सबै सडक चालु आर्थिक वर्षमा निर्माण हुने छन् ।’

कोरोना संक्रमण रोक्न गरिएको लकडाउनले काम प्रभावित हुँदा गत आर्थिक वर्षको काम चालु आर्थिक वर्षमा सरेको उनको भनाइ छ ।

कालोपत्रे फागुनपछि मात्रै



हाल प्रदेश मातहतका सडक निर्माणको काम तिव्र रूपमा अघि बढे पनि सडकको कालोपत्रे फागुनपछि मात्रै हुने बताइएको छ । पूर्वाधार निर्देशनालयका निर्देशक वासु पौडेलले चिसोमा कालोपत्रे गर्दा कच्ची हुने, राम्रोसँग नसुक्दा केही समयमा नै उक्किने जस्ता समस्या आउने भन्दै फागुनबाट कालोपत्रेको काम सुरु गर्ने बताए । ‘हाल नाला निर्माण, ग्राबेल गर्ने, खन्ने जस्ता काम सक्छौँ,’ उनले भने, ‘फागुनमा तापक्रम परिवर्तन भएपछि सडकको कालोपत्रेको काम तत्काल सिध्याउने छौँ ।’



थप १० सडक टेन्डर प्रक्रियामा 

प्रदेश सरकारले अघि बढाएका बजार क्षेत्रका १० वटा सडक टेन्डर प्रक्रियामा छन् । तिनको टेन्डर प्रक्रिया सकिए लगत्तै निर्माण सुरु हुने पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ । यसअघि केही दिनअघि मात्रै वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको एकीकृत विकास योजना अघि बढाएका छन् । जसमा पनि सडक क्षेत्रलाई प्रमुख प्राथमिकता दिइएको छ । प्रदेश र नगरले अन्य विभिन्न क्षेत्रसँग समन्वय गरेर वीरेन्द्रनगरमा रहेका सबै जसो सडक निर्माण गर्ने बताइएको छ ।

  • प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार १७:५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया