नेकपा बैठकमा किन यतिधेरै सुरक्षा ? विवाद हुने सूचना आएको थियो प्रहरीलाई

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आइतबार पार्टी मुख्यालय धूमवाराहीमा बस्यो। भित्र बैठक चलिरहँदा नेकपा केन्द्रीय कार्यालय बाहिरको दृश्य असामान्य खालको देखिन्थ्यो।

सुरक्षा संवेदनशीलतालाई हवाला दिँदै धूमवाराहीमा व्यापक सुरक्षाकर्मी परिचालनले नेकपा पार्टी कार्यालय फरक देखिएको हो। 

जहाँ तीन वटै सुरक्षा निकायबाट सुरक्षाकर्मी परिचालित थिए। एम्बुलेन्स तैनाथ अवस्थामा राखिएको थियो। नजिकैका घरका छतमा समेत सुरक्षाकर्मी तैनाथ थिए। यो माहोल हेर्दा केही क्षणमै यहाँ कुनै ठूलै घटना भइहाल्ने होकि भन्ने त्रास देखिन्थ्यो। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार बैठकमा तीन सय भन्दा बढी सुरक्षाकर्मी परिचालित भएका थिए। यसको अलावा तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको थियो। बम डिस्पोजल टोलीसहितका सुरक्षाकर्मीले गस्ती गरिरहेका थिए।  

यही ठाउँमा अन्य समय हुने स्थायी समितिको बैठकमा कहिल्यै यतिको सुरक्षा व्यवस्था कडा पारिएको थिएन। जुन दृश्य देखेर स्थानीय समेत चकित बनेका थिए। यही पार्टी कार्यालयमा अन्य बेला बैठक बस्दा कहिल्यै यसरी सुरक्षा व्यवस्था कडा पारिएको देखिएको थिएन। के हुन लाग्यो भनेर स्थानीय अचम्मित थिए। 

आज भएको सुरक्षा व्यवस्थाको दृश्य देखेर नेकपाकै नेताहरु पनि छक्क परे। अहिलेसम्म पार्टीको कुनै पनि बैठक गर्दा यतिको सुरक्षा व्यवस्था कडा पारिएको रेकर्ड नभएको नेकपाको एक नेता बताउँछन्। 
एक्कासी कसरी यतिधेरै सुरक्षा थ्रेट भयो नेकपा पार्टी कार्यालयमा ? जसले गर्दा ४४ सदस्य रहेको नेकपा स्थायी समिति बैठक यो तहको सुरक्षा धेराभित्र गर्नुपर्ने भयो ? 

प्रहरीले भने यो सामान्य विषय रहेको जनाएको छ। यसअघि केहीदिन अगाडि पार्टी कार्यालयमा गर्ने तय भएको केन्द्रीय सचिवालयको बैठक ओलीले सुरक्षा जोखिमको सूचना आएको भन्दै अन्तिम समयमा प्रधानमन्त्री निवास बालुवाटारमै बसाएका थिए। 




प्रधानमन्त्री ओलीले पार्टी कार्यालय असुरक्षित रहेको भनेपछि आजको बैठकका लागि उच्च तहको सुरक्षा व्यस्था मिलाइएको प्रहरी स्रोतको भनाइ छ। 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलका अनुसार धूमवाराहीमा भिभिआइपीहरुको ‘मुभमेन्ट’ भएकाले बढी सतर्कता मात्र अपनाइएको हो। यो कुनै सुरक्षा थ्रेट वा कारणले नभई उच्चस्तरको सुरक्षाका लागि यति धेरै प्रहरी परिचालन गरिएको उनको दाबी छ। भिभिआइपी सुरक्षामा कुनै पनि कमी नहोस् भनेर बढी सुरक्षाकर्मी खटाइएको उनी बताउँछन्। 



उनी भन्छन्–अरु ठाउँमा भिभिआइपीको कार्यक्रम हुँदा त्यहाँ पनि यो स्तरको सुरक्षा दिइन्थ्यो। र,यहाँ पनि त्यही गरिएको हो। प्रहरीको उच्च स्रोतले दिएको जानकारी अनुसार आजको बैठकमा आन्तरिक विवाद हुने प्रहरीलाई सूचना आएपछि झडप हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा बनाइएको हो।  
 

  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १७:१४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया