अब विश्वकै सर्वाेच्च शिखर सगरमाथाको उचाइ ८,८४८.८६ मिटर कायम भएको छ । मंगलबार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । उचाइ पहिलेको भन्दा ०.८६ मिटर बढेको हो । यसअघि सगरमाथाको उचाइ ८,८४८ मिटर थियो । मंगलबार भएको भर्चुअल घोषणा कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्तरुपमा सगरमाथा(चोमोलोङमा) को नयाँ उचाइ घोषणा गरेका हुन् ।
नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।
विभागले १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस सुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।