नेपालले मानेनन्, अब प्रचण्ड फकाउन खोज्दैछन् ओली

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको पछिल्लो विवाद तत्काल समाधान हुने छाँटकाँट देखिएको छैन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय देखाएको सक्रियताले यसलाई पुष्टि गर्छ । ओलीले केही दिन यता आफूनिकट नेताहरुलाई उनीविरुद्ध एउटा खेमामा उभिएका नेताहरुसँग परामर्शमा पठाउन थालेका छन् ।

यही सिलसिलामा उनले बुधबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गरेका छन् ।

आइतबार नेकपा पार्टी कार्यालय धूमवाराहीमा बसेको नेकपा स्थायी कमिटी बैठकपछि नेकपाका यी दुई अध्यक्षबीच पहिलो पटक बुधबार बालुवाटारमा भेट भएको हो । यो भेटका लागि ओलीले आग्रह गरेपछि प्रचण्ड बालुवाटार पुगेको बताइएको छ । 

त्यसो त लामो समयको मौनता तोड्दै स्थायी कमिटी बैठकअघि शनिबार पनि यी दुई नेताबीच भेट भएको थियो ।

तर, त्यो भेटमा यी दुई नेताबीच कुनै सहमति निस्किन सकेको थिएन । नेकपाका यी दुई अध्यक्षको त्यो दिनको भेटपछि बसेको नेकपा सचिवालय बैठकमा पनि दुई अध्यक्षबीच एकअर्कालाई आरोप प्रत्यारोप गर्ने काम नै भएको थियो । 

अहिले नेकपामा यो विवादको श्रृङ्खला सुरु भएको केही साता भइसकेको छ । २८ कार्तिकमा सचिवालय बैठकमा प्रचण्डले राखेको राजनीतिक प्रतिवेदन र त्यो प्रतिवेदनको जवाफमा १३ मंसिरमा ओलीले राखेको राजनीतिक प्रतिवेदनमा पनि यी दुई नेताबीचको तिक्तता स्पष्ट देख्न सकिन्छ । 



प्रचण्डले राखेको उक्त राजनीतिक प्रतिवेदनलाई पहिलो दिन देखि नै ओलीले आरोप पत्र बताउँदै आएका छन् । सुरुमा उनले उक्त प्रतिवेदनको कुनै जवाफ दिनु आवश्यक नै नभएको बताएका थिए । तर, उनले १० दिनको समय लिए र त्यसको उत्तर लेखेर सचिवालयमा पेश गरे । अब यी दुवै प्रतिवेदन छलफलका लागि स्थायी कमिटीमा पुगेका छन् । स्थायी कमिटीमा ओलीले दुई पाने पत्र पठाउँदै प्रचण्डको प्रतिवेदनको माथि कुनै छलफल नै आवश्यक नभएको अडान लिएका छन् । 

आइतबार सुरु भएको स्थायी कमिटीको बैठक २८ गते फेरि बस्दै छ । यसबीचमा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास पनि गरेका छन् । यसका लागि ओलीको सन्देश बोकेर केही दिन यता नेकपाका नेताहरु ओलीनिवास पुग्न थालेका छन् । 



नेकपा महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ नेपालनिवास पुगेका हुन् । 

तर, नेपालले यी तीनै नेतासँग सकारात्मक ‘जेस्चर’ देखाएनन् ।

माधव नेपाललाई अब आफ्नो पक्षमा ल्याउन कठिन भएको बुझेपछि प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्डलाई भेटेको नेकपाका एक केन्द्रीय सदस्यले फरकधारलाई बताए । 

‘ओली कमरेडलाई अहिले सबैभन्दा ठूलो चुनौति प्रचण्ड कमरेडको पक्षमा बनेको गठबन्धनलाई तोड्नु हो भन्ने लागेको छ,’ ती नेताले भने, ‘त्यसैले उहाँले अब नेताहरुलाई एक्लाएक्लै भेटेर आफूलाई पार्टीमा बलियो बनाइरहने प्रयास गर्नुभएको छ । तर, पछिल्लो समय उहाँले जे गरिरहनु भएको छ, त्यो उहाँका लागि थप आत्मघाती सिद्ध हुनेछ ।’

स्रोतका अनुसार नेपाललाई ओलीले पूर्वएमाले एक ठाउँमा हुनु पर्ने भन्दै आफूलाई सहयोग गर्न सन्देश पठाएका थिए । महाधिवेशन छिटो गरेर पार्टी अध्यक्षमा नेपाललाई आफूले सहयोग गर्ने र अबको अध्यक्ष बनाउने प्रस्ताव उनले पठाएका थिए । तर, नेपालले अहिले विधि मिचिएको भन्दै ओलीको यो प्रस्ताव अस्वीकार गरिदिएका छन् । 

अर्कोतिर, बुधबार बालुवाटारमा भएको भेटमा ओलीले प्रचण्डलाई आफूसँग मिल्न प्रस्ताव गरेका छन् । उनले नेपालसहितको गठबन्धनमा धोका हुने भन्दै प्रचण्डलाई आफूलाई सहयोग गर्न अनुरोध गरेको प्रचण्डनिकट एक नेताले फरकधारलाई बताए । 

तर, प्रचण्डले पनि ओलीको यो प्रस्ताव अस्वीकार गरिदिएका छन् । भेटमा प्रचण्डले ओलीलाई अझै सच्चिने मौका भएको भन्दै थप सोच्नका लागि अनुरोध गरेको उनीनिकट ती नेताले बताए ।

  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार १:४०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया