धरहरा निर्माणको प्रगति ४७ प्रतिशत, सवा अर्बको लागतमा २० औं तला ढलान हुँदै

ऐतिहासिक धरहराको २०औँ तला ढलानको तयारी थालिएको छ । जम्मा २२ तले बन्न लागेको धरहराको २०औँ तलाको ढलान आगामी हप्ता हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार हालसम्म धरहराको भौतिक प्रगति भने ४७ प्रतिशत सम्पन्न भएको छ । ‘पूरै धरहरामा ४७ प्रतिशत भौतिक प्रगति भएको छ, त्यसमा २० तलासम्मको ढलान अन्तिम चरणमा पुगेको छ,’ उनले फरकधारलाई भने, आगामी सोमबार मंगलबारसम्म २० औं तलाको ढलान हुनेछ ।  त्यसपछि धरहरामा २ तला थप्न बाँकी हुन्छ ।’ 

जम्मा २२ तलाको बन्न लागेको धरहरामा २१ औं तलामा लिफ्टको मेसिन रहनेछ भने २२ औं तलामा शिवलिङ्ग रहनेछ । ‘पहिलेको धरहरा ९ तले भए पनि तलाको उचाइ निकै अग्लो थियो । अब बन्ने धरहराको तलाको उचाइ पहिलेको भन्दा कम हुनेछ,’ प्राधिकरणका सहसचिव मानन्धरले भने, ‘२२ तलाको भए पनि पहिलाको धरहराभन्दा केही बढी मात्र उचाइ हुनेछ ।’

प्राधिकरणका अनुसार धरहरा छेउमै बन्न लागेको भुकम्प सङ्ग्रहालयको फाउन्डेसनको कामसमेत भइरहेको छ । यसैगरी, सवारी पार्किङका लागि बनिरहेको तीनतले भवनको ५० प्रतिशत काम सम्पन्न भएको छ ।  

जिआइइटिसी–रमण जोइन्ट भेञ्चरले निर्माण गरिरहेको धरहराको निर्माण कार्य भने निकै सुस्त गतिमा भइरहेको छ । सुरुको सम्झौता अनुसार २ वर्षमा काम सम्पन्न गर्ने भनिए पनि गत कात्तिकमा पुनः सम्झौता अवधि थपिएको थियो । २०७५ साल जेठ १४ मा सम्झौता भएकोमा गत अक्टोबर ६ तारिख अर्थात् कात्तिक २२ गते सम्झौता अवधि थप गरिएको हो । विभिन्न कारणले सम्झौता अवधिमा काम सम्पन्न नभएपछि पुनर्निर्माण प्राधिकरणले ठेक्काको समयावधि आगामी जुन अन्तिम अर्थात् असार १६ गतेसम्मका लागि थपेको थियो । 

प्राधिकरणका सहसचिव मानन्धर भन्छन्, ‘अहिलेसम्मको अवधिमा कतिपय हाम्रा पनि कमजोरी भए । केही समस्या कोभिडले पनि गरेको थियो । अब त खास अवरोध छैन । सुरक्षा सतर्कता अपनाएर रातदिन काम गरी समयमा सम्पन्न गर्नुको विकल्प छैन ।’

धरहरा पुनर्निर्माणका क्रममा हालसम्म १ अर्ब १७ करोड खर्च भइसकेको प्राधिकरणको जानकारी दिएको छ । प्राधिकरणले ३ अर्ब ८ करोडमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संयोजन तथा नेपाल सरकारको लगानीमा  धरहरा पुनर्निर्माणको काम भइरहेको छ । 



यस्तो बन्दै छ धरहरा

धरहरा बाहिरी र भित्री संरचनासहित २२ तलाको हुनेछ । पुरानो धरहराबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण भइरहेको धरहराको स्वरूप क्षतिग्रस्त पुरानै धरहराको जस्तो हुनेछ । मोटाइ भने पहिलेको भन्दा केही बढी हुनेछ ।  गजुरसहित नयाँ धरहराको उचाइ करिब ७७ मिटरको हुनेछ ।



भुकम्पबाट बाँकी रहेको पुरानो धरहराको क्षतिग्रस्त भागलाई ‘भुइँचालो स्मारक’का रूपमा सिसाको फ्रेमले छोपेर राखिनेछ । 

धरहरा क्षेत्र पूर्ण रुपमा बनेपछि ४२ रोपनी जमिनमा फैलनेछ । धरहरासँगै यसको छेउमा अत्याधुनिक तीनतले सवारी पार्किङस्थल पनि बनिरहेको छ । धरहराको छेउ अर्थात् नेपाल टेलिकम अगाडि रहेको गोस्वारा हुलाक कार्यालय भएको स्थानमा पार्किङस्थल बन्नका लागि सबै खाली गरिएको छ । पार्किङ क्षेत्रमाथि मनोरम बगैँचासमेत निर्माण हुनेछ । 

पुनर्निर्माणका क्रममा सुन्धाराको धारालाई पनि मर्मत गरिनेछ । निर्माणका क्रममा पुरातात्त्विक महत्त्वलाई कायम राखिने प्राधिकरणले जनाएको छ । 

नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाको पालामा झन्डै साढे २ सय वर्षअघि निर्मित धरहरा भुकम्पका कारण विसं १९९० मा पनि आंशिक रुपमा भत्किएको थियो । त्यतिबेला पुनर्निर्माण गरिएको धरहरा विसं २०७२ सालको भूकम्पले पूर्ण रूपमा क्षति पु¥याएको थियो । अहिले धरहराको खण्डहर फेद मात्र बाँकी छ ।

  • प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार १३:३४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया