चुरेका पहिरो पीडित तीन दिनदेखि जंगलमा अलपत्र
कैलालीको गौरीगंगा नगरपालिकाको चौमाला माघी शिविर क्षेत्रको वनमा ३ दिनदेखि खुला आकाशमुनि बस्दै आएका पहिरो पीडित । तस्बिर : कैलाश जोशी/फरकधार

कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित तीन दिनदेखि जंगलमै अलपत्र परेका छन् । ५ महिनादेखि सडक छेउको त्रिपालमा बस्दै आएका उनीहरू गाउँपालिकाले सिफारिस गरेको क्षेत्रमा जाँदै गर्दा बीच बाटोमै अलपत्र परेका हुन् । 

चुरेको वडा नम्बर ४, ५ र ६ को तल्लो सिमलगैरा, मल्लो सिमलगैरा, राजवन, गौजना, तितिरेलगायत बस्तीका पहिरो पीडितहरू शुक्रबार राति यता आएको संघर्ष समितिका सचिव वीरजित बोहराले जानकारी दिए । चुरेबाट अत्तरिया हुँदै बसमार्फत् चौमाला पुगेका उनीहरू वन क्षेत्रमा बसेका छन् ।

पहिरोपीडितका लागि गाउँपालिकाले वडा नम्बर ४ को टाँकगडालाई उपयुक्त क्षेत्र तोकेको थियो । चिसोको मौसममा सडकको बास भएका पीडितहरू गाउँपालिकाको निर्णयबिनै यस क्षेत्रमा बसोबास गर्न आइपुगेका थिए ।

उनीहरू टाँकगडा बस्न आएको खबर पाउने बित्तिकै गौरीगंगा नगरपालिका–१, चौमालास्थित पशुपति सामुदायिक वनले त्यहाँ जान रोकेको थियो । चुरे गाउँपालिकाले बसोबासका लागि तोकेको टाँगडा गौरीगंगा नगरपालिका र चुरेको सिमानामा पर्छ ।

अहिले गौरीगंगा नगरपालिकाको चौमाला माघी शिविर क्षेत्रको वनमा बसेको बोहराले बताए ।

गत असोज १५ गते चुरे गाउँपालिकाको कार्यपालिका बैठकले पहिरो पीडित परिवारलाई बसोबासका लागि टाँकगडा लगायतका क्षेत्रमा पुनःस्थापना गराउन सिफारिस गरेको थियो । 



‘गाउँपालिकाले आफूहरूलाई टाँकगडा भन्ने स्थानमा छनोट गरेर बसोबासका लागि सिफारिस गरेको बताउँदै पहिरो पीडित संघर्ष समिति अध्यक्ष टीकाराम कार्कीले भने, ‘गाउँपालिकाले टाँकगडा सिफारिस गर्‍यो, तर त्यो जमिन त अर्कै स्थानीय तहको रहेछ, अहिले आएर हामीलाई यता न उताको बनाइदियो ।’

गत साउन १५ देखि २५ गतेसम्मको अविरल वर्षाका कारण पहिरो लागेपछि कैलालीको चुरे गाउँपालिकाको वडा नं १ देखि वडा नं ६ सम्मका २११ परिवार घरबारविहीन भएका थिए । घरबारविहीन परिवारलाई स्थानीय सरकारले केही समयका लागि भन्दै स्थानीय विद्यालय र भीमदत्त राजमार्गको सडक किनारमा टेन्ट दिएर अस्थायी बसोबासको व्यवस्था मिलाएको थियो । पाँच महिनादेखि त्रिपालमा रात कटाएका पहिरो पीडितहरू जाडो बढ्न थालेपछि स्थायी बसोबासका लागि ठाउँ खोज्दै आएका हुन् ।



गाउँ कार्यपालिका बैठकले पहिरो पीडित परिवारलाई पुनःस्थापित गर्न वडा नम्बर १ को खामाहाल्ने, लाउनगडा, कोलगडा, वडा नम्बर ३ को करलेगडा, आरुखर्क, विचारगडा, वडा नम्बर ६ को राताखाली, बसर र वडा नम्बर ४ को सीताखाली, चोरपानी, टाँकगडालाई छनोट गरेको थियो । छनोट गरिएका सबै स्थानभन्दा उपयुक्त टाँकगडा भए पनि त्यो क्षेत्र अर्को स्थानीय तहको भएको अर्का पहिरो पीडित मने बुढाले बताए ।

पहिले बसेको ठाउँ छोडेर यहाँ आउँदा जंगलमा बास बस्नु परेको पीडा उनले सुनाए । ‘कति राम्रो घरबारी थियो, पहिरोले उजाडिदियो,’ उनले भने, ‘अहिले स्थानीय सरकारको भर पर्दा जंगलमा बास बस्नु परेको छ ।’ विगत ५ महिनादेखि खानीडाँडाको सडक किनारमा बस्दै आएको बताउँदै पीडित अर्जुन धामीले भने, ‘साउन १७ गतेदेखि गाउँपालिकाले नै सडक किनारमै बस्न अनुमति दियो, अहिलेसम्म केही बन्दोबस्त नभएपछि उसैले रोजेको विकल्पका आधारमा टाँकगडा जान हिँडेका हामी बीच बाटोमै अलपत्र भयौँ ।’  

टाँकगडामा पहिरो पीडितहरू जान थालेपछि आफूहरूले बीच बाटोमै रोकेको गौरीगंगा नगरपालिका पर्ने पशुपति सामुदायिक वनका अध्यक्ष गोविन्द रावलले बताए । ‘आफ्नो अर्काको स्थानीय तहको सीमाका बारेमा नबुझेरै चुरे गाउँपालिकाले पशुपति सामुदायिक वनभित्रको जमिनमा पहिरो पीडितलाई पुनःस्थापित गराउन थालेको रहेछ’, उनले भने, ‘हामीले हाम्रो समुदायको क्षेत्रमा बसोबास नगर्न भन्दै पहिरो पीडितलाई रोकेका हौँ ।’

चुरेकी उपाध्यक्ष दीपादेवी साउँदले पहिरो पीडितहरू टाँकगडा गएको वडाध्यक्षले फोनमार्फत् जानकारी दिएको बताइन् । पहिरो पीडितको व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारसँग पहल जारी रहेको उपाध्यक्ष साउँदको दाबी छ ।

  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार १७:५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया