अछामकी युवतीको महिनावारी कथा...

सुदूरपश्चिमको विकट जिल्ला अछामको छाउपडी कुप्रथाबारे कतिले सुनेका छन् । कतिले अखबारमा पढेका छन् त कतिले देख्न पाएका छन् । अछामको मेल्लेख गाउँपालिका–६ की युवतीका भोगाइ यस्ता थिए– 

महिनावारी मेरा लागि डर, भय र त्रास अनि परिवारको इज्जतसँग जोडिएको विषय हो । म महिनावारी भएको मलाईभन्दा बढी मेरो टोल, गाउँ, छिमेकीलाई चासो हुन्छ । समाजले मेरो महिनावारीसँग मेरो चरित्रलाई पनि जोडिदिएको छ ।

२०६४ माघमा मेरो पहिलो महिनावारी भयो । महिनावारी हुँदा आमा, बुवा त खुसी हुनु नै भयो । तर, म भने दुःखी थिएँ, किनकि त्यही दिनदेखि मैले सुरु गर्नु थियो, मेरो एकान्तवास, घरबाट टाढा रहेको त्यो छाउपडी गोठमा । त्यो दिन डाँडाकाँडा हिउँले सेताम्मे थिए । गाउँमा परेको हिउँ पग्लिँदै थियो । मुटु कँपाउने जाडो थियो । अब सामना गर्नुपर्ने भयो त्यो चिसोसँग । पातलो एक जोर ओढ्ने ओछ्याउने र अलिकति दाउरा बोकेर लागेँ छाउपडी गोठमा । 

एक्लै कसरी बस्ने ? मनमा डर लाग्यो, तर बाध्यता थियो, भाइ, बुवाको अघि लुकेर बस्नुपर्ने । खाँदा, बस्दा पुरुषसँग देखिनु हुँदैन थ्यो । कसैलाई छुन त परैको कुरा घरको करिब २÷३ सय मिटर आसपास जानै नपाउने । दही, दूध खानुको त कुरा छोडौँ, गाईलाई समेत छुन नपाइने ।

हो त्यही दिनदेखि बुझें मैले यो महिनावारी मजस्ता केटीहरूका लागि डर हो, भय हो र त्रास हो । त्योभन्दा ठूलो मेरो परिवारको इज्जत हो । इज्जत कसरी ? यो पनि म भन्छु– मेरो टोलमा १२ वटा जति घर छन् । सबैको छाउ हुँदा बस्ने गोठ एउटै । टोल सानो भएकाले पनि होला कसको घरमा के भयो, के हुँदैछ सबैैलाई सजिलै थाहा हुन्छ । मेरो पहिलो महिनावारी सबैलाई थाहा भयो । ए फलानो त छाउ भइछे नि आज । ल केटी पनि आमा बन्न तयार भई, ओहो लौ तेरो त बिहे गर्ने बेला सुरु भयो । काकी, भाउजूहरूले यस्तै कुरा सुनाए । मानौं मेरो महिनावारी अचम्म थियो । मैले मात्र होइन, मेरो टोलका दिदीबहिनी सबैले पहिलो महिनावारीमा सुन्नुपर्ने यही हो ।

महिनावारी सुरु भएदेखि हरेक महिनाको त्यही गते अथवा महिनावारी हुने पालो, सोध्न थाल्छन् । ए तेरो त महिनावारीको पालो आयो । महिनावारी भयो कि बाँकी छ ? केही दिन तलमाथि हुँदा किन छाउ भएन ? ओहो के भयो होला ? यो मलाईभन्दा मेरा टोलका काकी, भाउजूहरूलाई खुल्दुलीको विषय हुन्थ्यो । 



यो महिनावारी के रहेछ ? किन केही दिन तलमाथि हुँदा पनि सबैले प्रश्न गर्छन् ? मैले आमालाई सोधीहालें– आमा ! किन म छाउ भएको नभएको सबैलाई चासो हुन्छ ? आमाले भन्नुभयो, ‘तिम्रो महिनावारी त हाम्रो इज्जत हो ।’ महिनावारी केही महिनाका लागि तब रोकिन्छ, जब महिला आमा बन्न पेटमा बच्चा बस्छ । महिनावारी सधैंका लागि तब रोकिन्छ, जब महिला ५० भन्दा माथिको उमेरमा पुग्छे । त्योभन्दा अघिपछि नभए त चरित्रमा औँला उठ्छ । मलाई पनि आमाकै कुरामा विश्वास लाग्यो । गाउँमा आफ्नोभन्दा अरूको परिवारको चासो राख्ने बढी हुन्छन् ।

छाउ भएका बेलामा कसरी सफा रहने, कसरी सुरक्षित रहने, कस्ता खानेकुरा खाने यो बारेमा ध्यान कसको जाओस् । ध्यान जान्थ्यो त सबैको उसको महिनावारी किन भएन ? कहिले हुन्छ ? 



कति चिसा रात, कति गर्मीका रात एक्लै बस्नुपर्दाको पीडा, म शब्दमा बयान गर्न सक्दिनँ । साउने झरी होस् या वैशाखको चर्को घाम । कति रात ननिदाएर काटें । कति रात डरले बिते । कति रात बहिनीहरूलाई सँगै लिएर बिताएँ । कति रात वर्षामा चुहिने गोठमा प्लास्टिक ओढेर बसेँ । कीरा फट्याङ्ग्रोको डर । सर्प, बिच्छीको डर । मान्छेको डर । मनको डर । ओहो ! डरैडर । त्यो बेला एउटी किशोरीको कलिलो मस्तिष्कमा कस्तो असर प¥यो होला ? मात्र मनोविमर्शकर्ताहरूले अनुमान गर्न सक्छन् । यसरी कति वर्ष बिते, पत्तो पाइनँ । 

त्यसपछि गाउँमा भएका छाउगोठ भत्काइए । छाउगोठ भत्काएर के गर्नु ? मनको गोठ त भत्केको थिएन । त्यसपछिका दिन फेरि कष्टकर बने ।

शौचालयको बास

गाउँमा भएका छाउगोठ भत्के । घरमा बस्न परिवारले दिँदैनन् । गोठ छैनन् । त्यसपछिका दिन मेरा लागि थप कष्टकर बने । कि त खेतको आलीमा पाल टाँगेर बस्नु पथ्र्यो । कि त अर्को गाउँमा रहेको छाउपडी गोठमा जानु पथ्र्यो । त्यहाँ जाँदा कहिले धेरैजना भएर ठाउँ नै नहुने, कहिले एक्लो हुने । यस्तैमा बिते कति समय । त्यसपछि गाउँमा खुला दिसामुक्त अभियान चल्यो । सबैलाई शौचालय अनिवार्य थियो । मेरो बुवाले पनि शौचालय बनाउनुभयो । त्यसपछिको करिब चार महिना मेरो बास शौचालयमै भयो । खुट्टा खुम्च्याएर त्यहीं बसेँ । 

दिउँसो सबैको दिसा गर्ने शौचालय साँझ मेरा लागि बासस्थान थियो । म एक्लैका लागि होइन, मेरा साना बहिनीहरूको पनि बासस्थान भयो ।

हुन त महिनावारीका बेला छाउगोठको होस् वा शौचालयको, साथमा सानी बहिनी मेरी साथी हुन्थी । किनकि उसलाई डर लाग्दैन । सानी थिई । डर के हो थाहा थिएन । उसैको साथमा म गोठमा निडर भएर बस्थेँ ।

कहिले त टन्न साथी हुन्थे । गाउँकै भाउजू, काकी, दिदीहरू पनि महिनावारी भइरहेका हुन्थे । गोठमा सँगै हुन्थ्यौं । अरू कोही नहुँदा मेरी साथी बहिनी हुन्थी । दिनभर प्रयोग गरेको शौचालय साँझ सफा गर्ने, प्वालमा पराल राख्ने, त्योमाथि काठ बिच्छ्याउने अनि रातभरि सुत्ने । यसैगरी बिते, मेरा केही महिना । त्यसपछि म पढाइको सिलसिलामा कैलाली सरें, अनि छुट्यो मेरो गोठको यात्रा ।

फेरि छाउ गोठमै बास

सुदूरपश्चिममा अछाम लगायतका जिल्लामा कोरोनाको महामारीसँगै छाउगोठ पनि बन्न थालेका छन् । गत मंसिर १५ गते राति साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भएपछि गोठ भत्काउने अभियान निकै तीब्र पारियो ।

फागुनसम्म चलेको यो अभियान कोरोनाका कारण रोकियो । पालिका र वडाको ध्यान कोरोना व्यवस्थापन रोकथामतिर हुन थालेपछि छाउगोठ भत्काउने अभियान ओझेलमा प¥यो । कोरोनाका कारण छाउगोठ भत्काउने अभियान अधुरै रह्यो । चैत ११ पछि लकडाउन भयो । छाउगोठको अनुगमन नहुँदा फेरि गोठ बन्न थाले । भत्काएका पुराना छाउगोठ मर्मत गरेर अछामका कतिपय ठाउँमा फेरि गोठमै बस्न थालेका छन् ।

छाउगोठ फेरि बन्न थालेको कुरा स्वयम् वडा अध्यक्षले समेत गुनासो गर्न थालेका छन् । अधिकांश पालिकाका केही वडामा छाउगोठ बनेको र त्यहाँ फेरि किशोरी तथा महिला बस्न थालेका छन् । चौरपाटी गाउँपालिकाका–१ का वडाअध्यक्ष सालीभान साउदले छाउगोठ बन्न थालेकाले चुनौती थपिएको बताए । यसका लागि फेरि पनि अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।

गोठ भत्काइसकेपछि फेरि पनि निगरानी र अनुगमन नहुँदा छाउगोठ व्युँतिन थालेको अभियान्ता पशुपति कुँवरले बताइन् । उनले भनिन्, ‘गाउँमा फेरि छाउगोठ बनेका छन्, मैले गाउँमा गएर हेरेकी छु, केही भत्काउन बाँकी थिए, कोरोनाका कारण अभियान रोकिएको थियो, भत्काएका गोठ पुनः मर्मत गरिएको छ भने चर्पीलाई समेत छाउगोठ बनाइएको छ ।’

अहिले एकै टोलमा दस छाउगोठ बनिसकेका छन् । गोठ भत्काउने काम सँगसँगै कानुनी र मानसिक परामर्शको आवश्यक रहेको उनले बताइन् । छाउगोठमा फेरि बस्न थालेका महिला र किशोरीलाई सम्झाउन खोज्दा उल्टै गाली गर्ने गरेको एक स्थानीय किशोरीले बताइन् । 

‘गोठ बनेका छन्’, उनले भनिन्, ‘अभियानले निरन्तरता पाउन नसक्दा छाउगोठमै बस्न थालेका छन् । आफ्नो वडा टोलको बेइज्जत हुने डरले जनप्रतिनिधिले पनि ढाकछोप गर्ने गरेको छन् ।’

  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार १६:२६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया