अध्यादेश प्रकरणः ओलीले जिते कि हारे ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्कर्षमा पुगेको विवाद अब केही साम्य हुनसक्ने सम्भावना बढेको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार ल्याएपछि यो विवाद उत्कर्षमा पुगेको थियो । तर, बुधबार ओलीले यो अध्यादेश फिर्ता लिने सहमति गरे । 

उनले अध्यादेश फिर्ता लिने सहमति गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि तत्काल संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई दिएको पत्रलाई फिर्ता लिएका छन् ।

बुधबार बालुवाटारमा भएको छलफलमा ओली–प्रचण्ड यो सहमतिमा पुगेपछि एकाएक नेकपाको विवाद मत्थर भएको अनुमान गर्न थालिएको छ । त्यसो त आफू नजाने भनेको स्थायी कमिटी बैठकमा ओली बुधबार सहभागी पनि भए ।

मंगलबार मन्त्रिपरिषद्लाई समेत थाहा नदिइ अध्यादेश ल्याएपछि ओलीको आलोचना सबैभन्दा बढी नेकपामा नै भएको थियो । अध्यादेश आएको केही समयमा नै खुमलटारमा उनीइतर नेताहरु भेट भएका थिए । त्यो भेटको निष्कर्ष जसरी पनि अध्यादेश फिर्ता लिन लगाउने भन्ने थियो । बुधबार ओली पक्षका केही नेताहरुले यसबारे छलफल गर्न खुमलटार पुगेका थिए ।

बुधबार एक बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक समयमा सुरु हुन सकेको थिएन । दुई अध्यक्ष ओली र प्रचण्डको छलफल चलिरहेको थियो । तर, पहिलो छलफलमा प्रचण्ड र ओलीबीच कुनै सहमति हुन सकेन । त्यसपछि स्थायी कमिटी बैठक बस्न खोजे पनि ओली अनुपस्थित भए ।

बुधबार नै फेरि ओली र प्रचण्डबीच दोस्रो चरणको वार्ता भयो । त्यसपछि मात्र उनीहरुबीच सहमति भयो । यसका लागि नेकपा महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटीका सदस्य शंकर पोखरेल र घनश्याम भुसालले सक्रियता निकै बढाएका थिए ।



अन्ततः मंगलबार ल्याएको अध्यादेश बुधबार फिर्ता गर्न ओली तयार भए, संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई दिइएको निवेदन फिर्ता लिन प्रचण्ड–नेपाल तयार भए ।

पार्टीमा केही समयदेखि जारी आन्तरिक समस्या तथा अन्तरिक समस्या समाधान गर्नका निम्ती कार्यसूची बनाएर स्थायी कमिटीको बैठक बसिरहेका बेला पार्टीको आन्तरिक समस्या समाधान नहुँदै थपिएको जटिलताले पार्टीलाई गम्भिर स्थितीमा पु¥याएकाले त्यसको समाधान गर्न अध्यादेश फिर्ता लिइएको नेकपा स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले फरकधारलाई बताए ।



‘सभामुख समेत उपस्थित नहुने, बहिष्कार गर्ने जस्ता कारणले गर्दा कोरम नपुगेकोले संवैधानिक परिषद्को बैठक बस्न नसक्ने अवस्थाको सिर्जना भयो । त्यो बैठक राख्न प्रधानमन्त्रीले अध्यादेश ल्याउनुभयो,’ नेम्वाङले भने, ‘तर, केही जटिलताहरुले गर्दा विवादमा प¥यो । अध्यादेशले पार्टीभित्र जटिलता सिर्जना गर्‍यो । त्यसलाई लिएर केही साथीहरुले राष्ट्रपतिकहाँ निवेदन हाल्न पुग्नुभयो । त्यसले गर्दा यो विषय एकदमै चर्किएको अवस्था थियो । दुई अध्यक्षबीच एक्ला एक्लै छलफल गर्दा पनि समाधान ननिस्केपछी हामी चारजना पार्टीका साथीहरुसहित बसेर छलफलपछी यो सहमती भएको हो ।’

‘दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक्लाएक्लै छलफल गर्नुभयो । तर, उहाँहरुको कुरा सकारात्मक टुंगोमा पुगेन,’ नेम्वाङले भने, ‘त्यसपछी फेरि उहाँहरु दुईवटा अध्यक्षलाई प्रधानमन्त्री निवासमा राखेर हामी चारजना म, महासचिव विष्णु पौडेल, शंकर पोख्रेल र घनश्याम भुसालले सहयोग गर्‍यौँ । बेलुकी करिब ४ बजेतिर त्यो सहमति तयार गरेका हौ । स्थायी कमिटीले त्यही सहमतीलाई पारित गर्‍यो ।’

अब नेकपाभित्रको अन्य आन्तरिक विवादका सम्बन्धमा आगामी बैठकमा छलफल हुने नेम्वाङले बताएका छन् । यसबीचमा आन्तरिक गृहकार्य र छलफल गर्ने तयारी छ । बुधवारको घटनाले सकारात्मक दिशातर्फ स्थिती गएको उनको विश्वास छ ।

उनले भने, ‘स्थायी कमिटीको बैठक ५ गतेका लागि सारिएको छ । यसबीचमा छलफल, गृहकार्य गरेर थप निष्कर्षमा पुग्ने भनेका छौ । यसले एउटा वातावरण तयार गरेको छ । अब सकारात्मक ढंगले विषयहरु अगाडी बढ्छन् ।’

नेकपाका स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझी अब स्थिती सकारात्मक दिशातर्फ अगाडि बताउछन् । फरकधारसँग कुराकानी गर्दै रायमाझीले भने, ‘पार्टीका जारी विवादहरु छँदैछन् । तीनलाई अब हामीले सकारात्मक रुपले समाधान गर्नुपर्छ । स्थिती सकारात्मक दिशातर्फ बढेको छ । सहमती गर्न, सहमतीमा पुर्‍याउन अधिकतम पहल गर्ने र निष्कर्षमा पुर्‍याउने अबको काम हो ।’

एकातिर नेताहरु अब सहमतिको वातावरण बन्छ भन्नेमा तर्क गरिरहेका छन् भने अर्कोतिर नेकपामा २८ कार्तिकमा प्रचण्डले सचिवालयमा प्रस्ताव गरेको प्रतिवेदन र १३ पुसमा सचिवालयमा नै ओलीले राखेको प्रतिवेदनको विवादले अझै अर्को रुप लिने अनुमान गर्नेहरु पनि नभएका होइनन् ।

तर, बुधबारको घटनाक्रमले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली केही गलेको अनुभव नेकपाका नेताहरुले गरेका छन् ।

‘आउँदिनँ भनेको बैठकमा उहाँ आउनुभयो, अध्यादेश ल्याएर आफूलाई शक्तिशाली देखाउने उहाँको प्रयास पनि अब विफल भएको छ,’ नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘त्यसैले यसमा ओली कमरेड गलेको स्पष्ट देखिन्छ ।’

यही विचारसँग सहमति राख्छन्, नेकपा अध्यक्ष प्रचण्ड सचिवालयका एक सदस्य पनि । 

‘बुधबारको स्थायी कमिटी बैठकमा प्रचण्ड समूहबाट जे गर्ने भनिएको थियो, त्यही भयो,’ प्रचण्ड सचिवालयका ती सदस्यले फरकधारसँग भने, ‘अर्का अध्यक्ष ओली स्थायी कमिटी बैठकमै भाग लिन्नँ भन्ने अडानमा हुनुहुन्थ्यो, तर अब उहाँ पछाडि फर्किनु परेको छ । यसले उहाँको हार देखाउँदैन र ?’

  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार ७:६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया