पार्टीको ७० प्रतिशत केन्द्रीय सदस्य आफूसँग रहेको दाहाल–नेपाल समूहको दाबी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णय निर्वाचन आयोगमा बुझाएको छ ।

प्रचण्ड–माधव समूहको मंगलबार सम्पन्न केन्द्रीय कमिटीको निर्णयबाट अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरेको निर्णय लिएर नेताहरु बुधबार आयोग पुगेका हुन् । नेताहरुले केन्द्रीय कमिटीका बहुमत सदस्यको हस्ताक्षरसहित बैठकका निर्णय आयोगमा बुझाएका हुन् । 

नेकपाका नेता सुरेन्द्र पाण्डेलगायत नेताहरू निर्वाचन आयोग पुगेर अध्यक्ष ओलीलाई अध्यक्षबाट निष्काशन गरी वरिष्ठ नेता नेपाललाई अध्यक्ष चयन गरेको निर्णय आयोगमा पेश गरेको हो । केन्द्रीय कमिटीका निर्णय आयोगमा पेश गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गदै नेता पाण्डेले २ सय ८७ जनाको बैठकमा उपस्थित भएर निर्णय गरेको हस्ताक्षर र ३ जना उपस्थित हुन नसकेको निवेदन सहित २ सय ९० जनाको हस्ताक्षर सहितको निर्णय आयोगमा बुझाएको बताए । 

तत्कालीन नेकपा एमाले र एकीकृत माओवादीबीचको एकतापछि कायम भएको ४ सय ४५ मध्ये ३ जनाको मृत्यु भएको, ५ जना विभिन्न संवैधानिक निकायमा नियुक्ति पाएको र ३ जना राजदूत भएर गएपछि कायम भएको ४ सय ३४ केन्द्रीय सदस्यमध्ये बहुमत सदस्यको निर्णय नै अन्तिम हुने उनले दाबी गरे । करिब ७० प्रतिशत केन्द्रीय सदस्य आफूहरुसँग रहेको पनि उनको भनाइ थियो ।

सरकारले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजनतर्फ उन्मुख भएको छ । अध्यक्ष ओली समूहले पनि मंगलबार बालुवाटारमा केन्द्रीय सदस्यको भेला गरेर आफ्नो समूह नै आधिकारिक भएको दावी गरेको थियो । अध्यक्ष ओली समूहको केन्द्रीय सदस्यको बैठकले केन्द्रीय कमिटीमा ५ सय ५६ जना सदस्य थप गरेको थियो । उक्त निर्णय ओली पक्षले मंगलबार नै आयोगलाई बुझाइसकेको छ ।
 





  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार १७:३७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया