कर्णालीमा नेकपाका दुवै पक्ष अल्पमतमा, कांग्रेसको साथ निर्णायक

प्रचण्ड–नेपाल पक्षका मानिएका दुई सांसद ओली पक्षतिर लागेपछि नेकपा कर्णालीमा दुवै पक्ष अल्पमतमा परेका छन् । पूर्व–माओवादीबाट कर्णाली प्रदेशसभामा दैलेख क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद धर्मराज रेग्मी र सुर्खेत क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद डम्बर विष्टले प्रचण्ड–नेपालको साथ छोडेका हुन् । 

योसँगै कर्णालीको राजनीतिले नयाँ रुप लिएको छ । पछिल्लो घटनाक्रमअनुसार कर्णालीमा अब सरकार बनाउन कांग्रेसको साथ निर्णायक हुने देखिएको छ । दुवै सांसद प्रचण्ड समूह परित्याग ओली समूहले थपेका ५५६ मध्येका केन्द्रीय सदस्य बनेका छन् । 

प्रचण्डको साथ छाडेका सांसद रेग्मी र विष्टले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध असोज २५ गते ल्याइएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । पछि सांसद विष्टले अन्तिम समयमा अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए । सांसद रेग्मीले हस्ताक्षर फिर्ता लिए–नलिएको खुलेको छैन । रेग्मीले त्यो विषयमा केही बताउन चाहेका छैनन् । 

प्रदेशसभाका ४० सांसदमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ३३ जना सांसद छन् भने नेपाली कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । नेकपाका ३३ सांसदमध्ये तत्कालीन नेकपा एमालेबाट २० जना र माओवादीबाट १३ जना सांसद निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित २० मध्ये ओली समूहमा सभामुखसहित १२ जना सांसद छन् भने नेपाल समूहमा ८ जना छन् । रामबहादुर थापा ‘बादल’ समूहका दुईजना सांसदसहित प्रचण्ड समूहमा १३ जना सांसद थिए । 

तर, प्रचण्ड समूहका दुई सांसद ओली समूहमा गएपछि ओली पक्षका सांसदको संख्या सभामुखसहित १४ पुगेको छ भने प्रचण्ड–नेपालको संख्या १९ पुगेको छ । सरकार बनाउनका लागि २१ सांसद आवश्यक पर्छ । त्यसका लागि कांग्रेसको साथ अनिवार्य हुन्छ । 

यता, १४ सांसद रहेको ओली समूहले ६ सांसद कांग्रेस र एक राप्रपाको सांसद गरेर २१ सांसद पु¥याउन सक्नेछन् भने प्रचण्ड–नेपाल समूहलाई कांग्रेसको साथ अनिवार्य आवश्यक पर्छ ।  



यता, कांग्रेसले भने पार्टी केन्द्रीय कमिटीको निर्देशनपछि मात्र सरकारमा जाने–नजाने फिक्स हुने बताएको छ । 

प्रदेशसभाका कांग्रेस सांसद एवं सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले पार्टी केन्द्रीय कमिटी र प्रदेश संसदीय दलको बैठकपछि मात्रै आफूहरु सरकारमा जाने–नजाने टुंगो लाग्ने बताए । 



‘अहिले सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन,’ उनले भने, ‘केन्द्रीय कमिटीको निर्णय आधिकारिक हुन्छ । अहिले सरकार सञ्चालनका लागि नेकपाका केही नेताले सामान्य फोनवार्ता गरे पनि आधिकारिक रुपमा सहकार्यको कुनै प्रस्ताव आएको छैन ।’

  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार १९:३३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया