कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रम
प्रत्येक वडामा ३३ देखि ६५ लाख बजेट

कर्णाली प्रदेशमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि यस वर्ष प्रत्येक वडामा ३३ लाख देखि ६५ लाखसम्म पठाउने तयारी गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनसंख्या, भौगोलिक विकटता, गरिबी जस्ता कुराहरूलाई प्राथमिकतामा राखेर रकम पठाउने तयारी भइरहेको जानकारी दिएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि वडागत रूपमा २ अर्ब ९७ करोड ७१ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएको छ । उक्त रकम प्रदेशका ७९ वटै स्थानीय तहका ७१८ वटामा पठाइने बताइएको छ । कार्यक्रम अन्तर्गत हाल योजना छनोटको अन्तिम चरणमा रहेको बताइएको छ ।

यस वर्ष पद मार्ग, घोडेटो बाटो, मन्दिर निर्माणलाई बजेट नदिने बताइएको छ भने धेरै मानिसले रोजगार पाउने तटबन्ध निर्माण, कृषि सडक निर्माण, विद्यालय, सिँचाइ कुलो निर्माण जस्ता क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजना गरेको छ । जसमा मुख्यमन्त्री रोजगार कार्यक्रमसँगै एकीकृत बस्ती विकास कार्यक्रम, कर्णाली उज्यालो कार्यक्रम, सेयर साझेदारी सहुलियत कार्यक्रम, उद्यमशीलता तथा आय–आर्जन कार्यक्रम, मुख्यमन्त्री महिला दलित युवा उद्यमी खाद्यान्नका लागि कार्यक्रम जस्ता थुप्रै कार्यक्रम रहेका छन् ।

मुख्य रोजगार कार्यक्रम संयोजक सर्वदल शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट योजना छनोटको अन्तिम चरणमा रहेको जानकारी दिए । रोजगार कार्यक्रमका लागि प्रत्येक वडाले आफ्नो वडामा रहेका बढीमा ५ वटा योजना स्थानीय तहलाई बुझाउनु पर्नेछ । स्थानीय तहले सबै वडाबाट आएका मध्ये पाँचवटा योजना मात्र सम्बन्धित जिल्लामा रहेका सामाजिक विकास कार्यालयमा पठाउनेछ ।

जसमा सम्बन्धित क्षेत्रका प्रदेशसभा सांसदहरुको संयोजकत्वमा बनेको योजना छनोट समितिले योजना छनोट गरेर एक स्थानीय तहका कम्तिमा ३ वटा योजना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनेछ । त्यसपछि प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा बनेको कार्यक्रम निर्देशक समितिले योजना छनोट गरेर सम्बन्धित स्थानीय तहमा बजेटसहित पढाउने बताइएको छ ।



संयोजक शाहीले कार्यक्रमका लागि हाल १० वटै जिल्लामा रहेका सामाजिक विकास कार्यालयहरूमा बजेट गइसकेको र योजना छनोट हुने बित्तिकै सम्बन्धित वडा तहमा पैसा जाने बताए । ‘हाल योजना छनोटको काम तिव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘केही ठाउँबाट योजना आउँन बाँकी छन् । ती योजनाहरू पनि एक, दुई दिनभित्र आउँछन् । त्यसपछि छनोट भएर करिब एक साता पछिबाट कार्यक्रम सुरुवातका चरणमा जानेछ ।’

साथै उनले प्रत्येक वडामा रहेका बेरोजगार मानिसहरूको तथ्याङ्क संकलन, प्रत्येक स्थानीय तहका लागि रोजगार संयोजक नियुक्ति गर्ने जस्ता काम तिव्र गतिमा अघि बढिरहेको उनको भनाइ छ ।



  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १२:३१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया