अब जीवन-मृत्युको लडाइँ सुरु भयो : प्रचण्ड
फकाउँदा पनि बादललाई ल्याउन नसकेको भनाइ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्य रामबहादुर थापा बादललाई आफ्नो पक्षमा ल्याउन नसकिएको बताएका छन्। बिहीबारको केन्द्रीय कमिटी बैठकमा उनले आजको बैठकमा आउने अपेक्षा गरे पनि ल्याउन नसकिएको बैठकमा जानकारी गराएका हुन्।

'वामदेव गौतम र बादल कमरेडलाई आउन आग्रह गरेको थिएँ, उहाँहरु आउनु भएन', उनले भने 'वामदेव कमरेड सकारात्मक हुनुहुन्छ। बादललाई ल्याउन नसकिए पनि उता (बालुवाटार) बैठकमा सहभागी २३ जना फर्किसक्नु भएको छ।'

उनले बादलनिकट कुलप्रसाद केसी र सूर्य सुवेदी पथिक आफूहरुको बैठकमा सहभागी भएको पनि बताए। सरकारले संसद् विघटन गरेपछि दुई कित्तामा विभाजित नेकपाको कुन कित्तामा लाग्ने भन्‍नेमा बादल केही दिन अनिर्णीत बसेका थिए। तर उनी बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली समूहको भेलामा सहभागी भएका छन्।

प्रचण्डले प्रतिनिधिसभा विघटन भएको वर्तमान अवस्था २०१७ सालको जस्तो भएको समेत बताए। 'आजको अवस्था सामान्य जस्तै हो भनेर सोच्नु गलत हुनेछ। २०१७ सालको जस्तै हो', उनले भने, '२०१७ सालमा राजा महेन्द्रले 'कु' गरी पञ्चायती व्यवस्था लागू गरेका थिए।' 

७ दशकसम्मको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिसमेत प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमबाट अपहरणमा परेको अध्यक्ष दाहालले बताए। 'हामीले ७ दशकसम्मको लडाइँबाट पाएका उपलब्धि अपहरण भएका छन्। हाम्रो आन्दोलन जाली र फटाहा प्रवृत्तिविरुद्ध हो,' उनले भने, 'वैचारिक र राजनीतिक रूपमा विचलित साथीहरूसँगको लडाइँ हो। यो जीवन र मृत्युको लडाइँ हो। जस्तोसुकै मूल्य चुकाउन अघि बढ्नुपर्छ।' 

आफ्नो पक्षमा ७० प्रतिशत केन्द्रीय सदस्य रहेको भन्दै उनले आफूहरु नै आधिकारिक भएको समेत दाबी गरे। उनले भने, 'हामी ७० प्रतिशत छौँ। सबै प्रमाण निर्वाचन आयोगमा पेस गरेका छौं। आयोगले हामीलाई वैधता दिन्छ।'





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १५:४९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया