काङ्ग्रेस केन्द्रीय समिति बैठकमा आज पनि देउवा–पौडेल 'भनाभन'
फाइल तस्वीर ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदममाथि अझै निर्णय गर्न सकेको छैन । प्रधानमन्त्री ओलीले गत आइतबार संसद विघटन गर्ने निर्णय गरेपछि केन्द्रीय कमिटी बैठक बोलाएको नेपाली काङ्ग्रेसले यसलाई कसरी लिने भन्ने अझै निर्णय गर्न सकेको छैन । 

यो कदमको राजनीतिक प्रतिरोध गर्ने भनिए पनि कांग्रेस केन्द्रीय कमिटी बैठकमा नेताहरुबीच यसबारे विवाद अझ बढ्दो छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच यो विषयमा अहिलेसम्म एक मत हुन सकेको छैन । 

शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपमा भएको छलफलमा पनि यस विषयमा नेताहरुबीच एक मत भएन । 

शुक्रबार बैठकमा शंकर भण्डारी, देवेन्द्र कँडेल, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले यो कदमको राजनीतिक विरोध गरे पनि अब चुनावको तयारी गर्नु पर्ने बताएका थिए । 

उनीहरुले चुनावको तयारी नगर्ने हो भने कांग्रेस फेरि पछाडि फर्किने बताएका थिए । ‘कम्युनिस्ट पार्टीले गरेको हो, हामीहरुले अहिले फेरि सडकमा गएर कम्युनिस्टलाई थप बलियो बनाउन हुँदैन, माधव नेपाल र प्रचण्डसँग मिलेर केही हुँदैन,’ यी चार नेताले भनेको कुरालाई एक कांग्रेस केन्द्रीय सदस्यले फरकधारलाई सुनाए, ‘माधव नेपाल र प्रचण्डसँग मिल्नु हाम्रो मुद्दा होइन, हामीले उनीहरुसँग मिलेर केही हुने पनि होइन ।’



कांग्रेसका ती केन्द्रीय सदस्यका अनुसार शुक्रबारको केन्द्रीय कमिटी बैठकमा डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्न अझै नपुगेको बताएका थिए । ‘उहाँले पूरै घुमाउरो पारामा अहिले आन्दोलनमा जानु ठिक भएको बताउनुभयो,’ ती केन्द्रीय सदस्यले फरकधारलाई बताए । 

शुक्रबारको बैठकमा बोलेकी अर्की कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले पनि अहिले आन्दोलन गर्नु पर्ने बताएकी थिइन् । 



तर, आन्दोलनमा जाने विषय आएपछि बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरुलाई क्रस गर्ने गरेका छन् । ‘कहाँ आन्दोलन, आन्दोलन गरेर केही हुँदैन,’ उनले भन्ने गरेका छन् । 

आजको बैठकमा सहभागी भएका ती केन्द्रीय सदस्यले आज पनि बैठकमा देउवा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको बताए । 

 

देउवा भन्छन्– संसद पुनस्र्थापना हुनै सक्दैन

कांग्रेस सभापति शेरबहादुर देउवाले बारम्बार अहिले संसद विघटन भइसकेको भन्दै अब यो पुनस्र्थापना हुनै नसक्ने तर्क गर्न थालेका छन् । उनले कांग्रेसले अहिले सडकमा जानुलाई गलत बताउन पनि थालेका छन् । 

उनले आजको केन्द्रीय कमिटी बैठकमा पनि कांग्रेसलाई अहिले सडकमा आन्दोलनमा लैजान नहुने बताएका छन् । 

‘सडकमा गएर के हुन्छ, अब चुनाव हुन्छ, हामी चुनावमा जाने हो,’ देउवाले आन्दोलनको पक्षमा नेताहरुले बोल्न थाल्दा भन्ने गरेका छन्, ‘त्यही भएर अहिले आन्दोलनको कुरा नगर्नु, यो संसद पुनस्र्थापना हुनै सक्दैन, अब हामी चुनावमा जाने हो ।’

उनले अहिले यो मुद्दा अदालतमा भएकाले अदालतको आदेश पर्खिनुको विकल्प कांग्रेससँग नभएको पनि बताएका छन् । 

 

विधि मान्ने हो भने आन्दोलन गर्नुपर्छः पौडेल

अर्कोतिर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलन गरेर विघटित संसदलाई ब्यूँताउन आवाज उठाउनुको विकल्प नभएको बताउने गरेका छन् । 

आज पनि देउवाले आन्दोलन नगर्ने कुरा गरिरहँदा पौडेलले कांग्रेसले विधिको शासन मान्ने हो भने अहिलेको प्रधानमन्त्रीको कदम असंवैधानिक भएको र यसलाई आन्दोलन गरेर जसरी पनि पुनस्र्थापित गर्नु पर्ने बताएका छन् । 

‘१३ गते जिल्लाजिल्लामा संसद पुनर्वहाली हुन्छ भन्ने सन्देश दिनुहोस्,’ पौडेलले भने । कांग्रेसले १३ पुसमा नेपालभर विरोधका कार्यक्रम गर्ने भएको छ ।

  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार २१:२३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया