अर्को संकट निम्त्याउँदै कोरोनाको नयाँ प्रजाति
बेलायतबाट फैलिएर आधा दर्जन देशमा पुग्यो

काठमाडौं : कोरोनाविरुद्धको भ्याक्सिन आएपछि सन्तोषको सास फेरिरहेको विश्व जगतमा फेरि अर्को संकट आएको छ। पहिलेको भन्दा कयौँ गुणा खतरनाक कोरोनाको नयाँ प्रजातिले विश्‍वमा नयाँ संकट ल्याइदिएको हो। बेलायतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको नयाँ रुपले पूरै युरोपको अवस्था फेरि खलबलाइदिन थालेको छ। कयौँ युरोपेली मुलुकले बेलायतसँगको हवाई सम्पर्क बन्द गरिसकेका छन्। नागरिकको आवतजावतमा पनि कडाइ गरिएको छ। 

बेलायतमा फैलिरहेको कोरोनाको नयाँ प्रजातिबाट जोगिन केही देशले कडाइ गरिरहेका छन्। जर्मनीमा फिर्ता लिइएका लकडाउनका कडा नियम फेरि लागू गरिँदैछ। जर्मनीमा १० जनवरीसम्म लकडाउनका कडा नियम लागु गरिसकिएको छ। यो लकडाउनको नियम कोरोनाको दोस्रो लहर, दोस्रो प्रजाति, क्रिसमस र नयाँ वर्षको चहलपहललाई रोक्न लागु गरिएको हो। 

जर्मनीले स्कुलमा फेरि अनलाइन कक्ष नै लागु गर्ने भएको छ। साथै अतिआवश्यक बाहेकका दोकानहरू बन्द गर्न आदेश दिइएको छ। जुन कार्यालयहरूमा काम सुरु गरिएको थियो, त्यहाँका कर्मचारीलाई घरबाटै काम गर्न आदेश दिइएको छ।

युरोपेली देशले आफ्नो सीमामा कडा निगरानी थालेका छन्। बेलायत र फ्रान्स जोड्ने सीमामा कडाइ गरिएपछि हजारौँ नागरिक त्यहाँ फसेका छन्। बेलायतबाट घर फर्किन चाहनेहरुको भीडले सीमा अस्तव्यस्त भएको छ। सीमामा ट्रकको लामो जाम परेको छ भने दुई देशको समुद्रमुनि बनाइएको सुरुङमा पनि मानिसले घण्टौँ कुर्नुपरेको छ।

फैलिँदै नयाँ प्रजाति 

पछिल्लो समय तीव्र गतिमा फैलिने कोरोना भाइरस (कोभिड-१९) को नयाँ प्रजाति फ्रान्स र जापानमा देखिएको छ। बेलायत र दक्षिण अफ्रिकामा सुरुमा देखिएको भनिएको कोरोना भाइरसको नयाँ प्रजाति फ्रान्स र जापानमा पनि भेटिएको हो। फ्रान्सको स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ प्रजातिबाट संक्रमित उनलाई आइसोलेसनमा राखेर निगरानी गरिएको छ। यो भाइरस रसियामा पनि पुगेपछि त्यहाँबाट हुने हवाई उडान बन्द गरिएको छ। 



मन्त्रालयका अनुसार डिसेम्बर १९ मा बेलायतबाट फर्किएका टुअर्स शहरका एक बासिन्दामा नयाँ स्वरूपको कडा खालको कोरोना भाइरस संक्रमण भेटिएको हो। कोभिड-१९ विरुद्धको खोप प्रयोगमा आइरहेका बेला झन् खतरनाक नयाँ प्रजातिको कोरोना भाइरसले महामारीको स्वरुप लिन थालेपछि विश्‍व जगतलाई अझै पिरोलेको छ।

७० प्रतिशत छिटो फैलिँदै



पछिल्लो समय बेलायत र दक्षिण अफ्रिका हुँदै जापान र फ्रान्समा पनि पुगेको यो भाइरस पहिलेको भन्दा कयौँ गुणा घातक र खतरनाक रहेको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जानकारी दिएका छन्। नयाँ प्रजातिको कोरोना भाइरस यसअघिको कोरोना भाइरसभन्दा ७० प्रतिशत छिटो फैलिन सक्ने स्वास्थ्य विज्ञले बताएका छन्। बेलायत हुँदै विश्‍वका आधा दर्जन मुलुकमा यो भाइरस देखिएपछि उच्च सर्तकता र लकडाउन समेत गर्न थालिएको छ।

पछिल्लो पटक बेलायत र दक्षिण अफ्रिकामा यो भाइरसको प्रजाति केही फरक छन्। दक्षिण अफ्रिका सरकारले जनाए अनुसार त्यहाँ पाइएको कोरोनाको प्रजाति बेलायतमा भेटिएको भन्दा फरक छ।  कोरोनाको नयाँ प्रजातिको त्रासका कारण नेपाल र भारत दुवैले हवाई सम्बन्धविच्छेद गरेका छन्। अर्कातिर बेलायतबाट आउने मानिसमा पनि प्रतिबन्ध लगाइएको छ। 

यसले विश्‍व जगतमा नयाँ संकट निम्त्याएको छ। बेलायतमा पाइएको प्रजातिको फैलावट अलग किसिमको छ। ‘द गार्जियन’ का अनुसार जापानमा यस प्रजातिको लक्षणसहितका पाँचजना बिरामी भेटिएका छन्। अर्कातिर एक संक्रमित फ्रान्समा भेटिएका हुन्। यी सबैलाई कडा निगरानीमा राखिएको छ। खास कुरा के हो भने जापानमा कोरोनाको नयाँ प्रजातिबाट संक्रमित पाँचैजना बेलायतबाट आएका हुन्। 

रुसमा पनि कोरोनाको नयाँ प्रजाति भेटिएपछि सतर्कता बढाइएको छ। यहाँको सरकारले बेलायतबाट हुने सबै उडान रोक्न निर्देशन दिएको छ। भ्लादिमिर पुटिन सरकारको स्वास्थ्य विभागले एक विज्ञप्ति निकालेर भनेको छ, 'हामी कुनै पनि किसिमको जोखिम मोल्न चाहँदैनौँ। स्थानीय संक्रमण रोक्न कयौँ उपाय अपनाइएको छ र यसबाट धेरै नागरिकलाई जोगाउन पनि सकिएको छ।'

बेलायतका वैज्ञानिकहरु कोरोनाविरुद्धको नयाँ औषधिमा काम गरिरहेका छन्। उनीहरुको दाबी अनुसार यसको प्रयोगले कोरोना संक्रमण रोक्न सकिन्छ। ‘द हेल्थ’ म्यागेजिनले आफ्नो एक रिपोर्टमा यो औषधिलाई संक्रमण सरिसकेका व्यक्तिको उपचारमा प्रयोग  गरिने जनाएको छ। बेलायत सरकार र स्वास्थ्य विभागले यस औषधिबारे औपचारिक बयान दिएका छैनन्। समाचार अनुसार यो औषधिमाथि अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले रिसर्च गरिरहेका छन्। 

  • प्रकाशित मिति : पुस ११, २०७७ शनिबार १५:५९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया