सुर्खेतमा ओली पक्षका नेताले भने : राष्ट्रघाती प्रचण्ड–माधव समूहले हाँडी चुनाव चिह्न रोज्नुस् (फोटो फिचरसहित)

सुर्खेतमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरूले प्रचण्ड–माधव पक्षको कडा विरोध गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेशले आयोजना गरेको बृहत युवा भेलामा सहभागी नेताहरूले प्रचण्ड–माधव पक्षलाई हाँडी चुनाव चिह्न रोज्न आग्रह समेत गरेका छन् । 

राष्ट्रिय युवा संघका सह–संयोजक रमेश पौडेलले नयाँ जनादेशका लागि जनतामा जानु सकारात्मक भएको बताए । ‘प्रधानमन्त्री ओलीले देशलाई गलत बाटोमा जान दिनुभन्दा जनताकै हातमा फर्काएका छन्,’ उनले भने, ‘ताजा जनादेशका लागि जनतामा जानु कुनै गलत कुरा होइन । सूर्य चुनाव चिह्न हामी संस्थापन पक्षको हो । यसमा आँखा नलगाए हुन्छ । यस्ता राष्ट्रघाती नेताले त हाँडी चुनाव चिह्न रोज्नुस् ।’ युवा संघमा लागेका युवाहरू बाघ भएको भन्दै उनले देशमा कुनै समस्या पर्दा ती बाघ सडकमा आएर देशको रक्षा गर्ने बताए । 

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री महेश बस्नेत प्रचण्ड–माधवले नेकपा पार्टी फुटाए पनि चुनाव चिह्नमा आँखा नलगाउन आग्रह गरे । ‘सूर्य चुनाव चिह्न हाम्रो गोत्र हो,’ उनले भने, ‘यसलाई हामीले सदियौँदेखि मान्दै आएका छौँ ।’

साथै उनले तत्कालीन एमालेको पार्टी कार्यालयमा आँखा नलगाउन प्रचण्ड–माधव पक्षलाई आग्रह समेत गरे । अब हुने निर्वाचनबाट नतर्सिन कांग्रेस नेता रामचन्द्र पौडेल, समाजवादी पार्टीका नेता बाबुराम भट्टराई, नेकपाका अध्यक्ष प्रचण्डलाई आग्रह गर्दै नेता बस्नेतले जनताले आफैं फैसला गर्ने बताए ।

यस्तै कार्यक्रममा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य नवराज रावतले प्रचण्डको नेतृत्व मुलुकका लागि सधैँ असफल

भएको बताए । सर्वाेच्च अदालतले संसद विघटनको पक्षमा फैसल गर्ने भन्दै रावतले युवाहरूलाई चुनावको तयारीमा जुट्न आग्रह गरे । ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ ओलीको फोटो सहितको ब्यानर राखिएको कार्यक्रममा बोल्ने अधिकांश नेताहरूले प्रचण्ड–माधवको विरोध गरेका थिए । नेताहरूले मुसो भएर नेकपाभित्र छिरेका प्रचण्डलाई बिरालो नबन्न आग्रह समेत गरेका छन् ।





  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार १९:२८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया