फरकधारको द हेल्थ हबमा तपाईंहरुलाई स्वागत छ । अघिल्लो साताको शनिबार जस्तै आज पनि डा. प्रियादर्शनी योन्जन मधुमेह वा सुगर वा डायबेटिजको विषयमा चर्चा गर्न आएकी छु ।
यसअघि मैले डायबेटिज भएका बिरामीले के खाने र कति खाने भन्ने विषयमा चर्चा गरेकी थिएँ ।
आज म मधुमेह भएकाहरुले घरमै जाँच्नका लागि प्रयोग गर्ने इन्स्ट्रुमेन्ट ग्लुकोमिटरबारे चर्चा गर्न गइरहेको छु । तपाईंहरुको घरमा कसैलाई डायबेटिज भएको छ भने पक्कै तपाईंहरुले ग्लुकोमिटर प्रयोग गरिसक्नु भएको छ । वा प्रयोग गर्नु भएको छैन भने यसबारे त पक्कै सुन्नु भएको छ ।
सानो पियर्सिङबाट हाम्रो रगत लिएर ग्लुकोमिटरमा हाम्रो रगतमा भएको चिनिको मात्र मापन गर्न सकिन्छ ।
तपाईंहरुले पक्कै देख्नु भएको छ, एउटा ग्लुकोमिटरमा चार भाग हुन्छन् । एउटा मिटर हुन्छ, जसले तपाईंको रगतमा भएको चिनीको मात्राबारे जानकारी दिन्छ । त्यो डिभाइसमा भएको मोनिटरमा तपाईंले एउटा अंक देख्नुहुन्छ, जसमा स्ट्रिप राखेपछि केही सेकेन्डमा नै एउटा नम्बर डिस्प्ले हुन्छ ।
हाम्रो औंलामा छेड्नका लागि प्रयोग हुने सानो सुइलाई चाहिँ लान्सेट भनिन्छ ।
अहिले बजारमा निकै धेरै प्रकारका ग्लुकोमिटर उपलब्ध छन् । अनि बजारमा पाइने अधिकांश ग्लुकोमिटर बनाउने कम्पनीहरुले दाबी गरिरहेका हुन्छन्– हामीले एकुरेट रिजल्ट दिन्छौँ ।
तर, यदि तपाईंले ल्याबमा वा प्रयोगशालामा परीक्षण नै गर्नुभएको छैन, सोझै ग्लुकोमिटरलाई मात्र आधार बनाउनु भएको छ भने तपाईंको रगतमा भएको चिनीको मात्रा कति हो भन्ने एकिन गर्न सकिँदैन । त्यसैले ग्लुकोमिटर प्रयोग गर्नुभन्दा अघि कम्तिमा पनि एक पटक ल्याबमा सुगर परीक्षण गर्नुपर्छ । ल्याबमा आएको रिपोर्ट र तपाईंले किन्नु भएको ग्लुकोमिटरले दिएको रिपोर्ट झन्डै उस्तै–उस्तै छ भने मात्र त्यसलाई आधिकारिक मान्न सकिन्छ । अन्यथा सोझै ग्लुकोमिटरलाई मात्र आधार बनाएर आफ्नो सुगर लेभल थाहा हुन्छ भन्ने सोच्नु चाहिँ भ्रम हो ।
अब लागौँ, ल्याब र ग्लुकोमिटरको रिजल्ट कसरी विश्वास गर्ने त । मानौँ, ल्याबमा तपाईंले फास्टिङमा सुगर लेभल जाँच गर्नका लागि रगत दिनु भएको छ । ल्याबको रिपोर्टमा तपाईंको सुगर १०० आयो भने तपाईंले प्रयोग गर्नु भएको ग्लुकोमिटरमा यो १५ प्रतिशतले घटबढ हुनसक्छ । यसको अर्थ हो, ल्याबको रिपोर्टसँग १५ प्रतिशतमात्र घटबढ भएको रिजल्ट दिएको छ भने तपाईंले त्यो ग्लुकोमिटर प्रयोग गर्न सक्नुहुन्छ । पछिपछि पनि त्यसलाई आधार बनाएर आफ्नो स्वास्थ्यबारे सचेत हुन सक्नुहुन्छ । तर, ल्याबमा १०० आएको रिपोर्ट त्यही समयमा ग्लुकोमिटरमा चाहिँ अत्यन्त बढी वा कम आयो भने त्यस्तो ग्लुकोमिटरमाथि आशंका गर्नु पर्ने हुन्छ ।
त्यसैले राम्रो ग्लुकोमिटर छनोट गर्ने आधार यसलाई बनाउन सकिन्छ ।
अब लागौँ, कसले ग्लुकोमिटर प्रयोग गर्ने भन्नेबारे ।
टाइप वान डायबेटिज भएका बिरामीले त ग्लुकोमिटर प्रयोग गर्नै पर्छ । ग्लुकोमिटरको प्रयोग गरेर आफ्नो सुगरको मापन गर्दा सतर्कता अपनाउन सकिन्छ ।
त्यस्तै, तपाईं गर्भवती हुनुहुन्छ र तपाईंलाई सुगर देखिएको छ भने तपाईंले पनि ग्लुकोमिटरको प्रयोग गर्नै पर्ने हुन्छ । जेस्टेसनल डायबेटिज निकै सतर्कता अपनाउनु पर्ने डायबेटिज हो । यसले आमाको मात्र होइन, पेटमा भएको बच्चाको पनि स्वास्थ्यमा असर गर्न सक्छ । त्यसबाट बच्नका लागि सुगर लेभल बारम्बार थाहा पाउनु राम्रो हुन्छ । गर्भवती महिला बारम्बार अस्पताल जान वा ल्याबमा जान सम्भव नहुन सक्छ । त्यसका लागि केही समयमा नै घरमा परीक्षण गर्न सकिने ग्लुकोमिटर निकै उपयोगी हुनसक्छ ।
त्यस्तै, डायबेटिज भइसकेका व्यक्तिहरु जसले इन्सुलिन लिइरहनु भएको छ, उहाँहरुले पनि ग्लुकोमिटरको प्रयोगलाई प्राथमिकता दिनु पर्छ । इन्सुलिन लिइरहनु भएका व्यक्तिहरुको सुगर लेभल एकैपटकमा ह्वात्तै घट्न पनि सक्छ, यस्तो भएमा उहाँहरु हाइपो ग्लाइसेमियामा जान सक्ने सम्भावना पनि हुन्छ । यस्तो भएमा त्यस्ता व्यक्तिहरुको जीवन नै जोखिममा पर्न सक्छ । त्यसैले यस्तो व्यक्तिहरुले ग्लुकोमिटर प्रयोगमा विशेष ध्यान दिनु पर्छ ।
अस्पतालमा भर्ना भएका व्यक्तिहरु तथा आफूलाई सुगर भएको छ कि भन्ने शंका गर्ने व्यक्तिहरुले पनि आफ्नो सुगर लेभल थाहा पाउन ग्लुकोमिटर प्रयोग गर्दा राम्रो हुन्छ ।
अब आउनुहोस्, एक दिनमा कतिपटक ग्लुकोमिटर प्रयोग गर्ने भन्नेबारे चर्चा गरौँ ।
हामीलाई हाम्रो स्वास्थ्यको विशेष महत्व हुन्छ । त्यसैले हामीले जतिसक्दो धेरै सचेत भएको राम्रो हुन्छ । ग्लुकोमिटर एक दिनमा कतिपटक प्रयोग गर्ने भन्ने विषयमा ठ्याक्कै भन्न नसकिएला । यो अवस्था हेरेर फरक हुुनसक्छ । त्यसका लागि सबैभन्दा उपयुक्त भनेको तपाईंले आफ्नो चिकित्सकसँग परामर्श लिनु पर्ने हुन्छ । तर, के चाहिँ सत्य हो भने गर्भवती महिलाले दैनिक कम्तिमा पनि चार–पाँच पटक ग्लुकोमिटरमा सुगर लेभल चेक गरेको राम्रो हुन्छ ।
त्यस्तै, टाइप वान डायबेटिज भएका बिरामीहरुले पनि दैनिक विहान र अबेर साँझसम्म ५–६ पटक ग्लुकोमिटर प्रयोग गरेको राम्रो हुन्छ ।
विहान उठेपछिको खाली पेटमा, खाना खाएको दुई घन्टापछि र खानाअघि र सुत्नुअघि चाहिँ सुगर चेक गरेको राम्रो हुन्छ । सकिन्छ भने दिउँसो एक पटक पुनः चेक गर्दा राम्रो हुन्छ ।
ग्लुकोमिटर प्रयोग गर्ने भन्दैमा जुन पायो त्यही प्रयोग गर्न पनि हुँदैन । सबैभन्दा पहिले त आफूले प्रयोग गर्न लागेको ग्लुकोेमिटर र त्यसमा प्रयोग गर्ने स्ट्रिप आफ्नो क्षेत्रमा सहजै उपलब्ध छ भन्ने सुनिश्चितता गर्नुपर्छ । ग्लुकोमिटर जुन ब्रान्डको हो, त्यही ब्रान्डको स्ट्रिप प्रयोग गर्दा मात्र सही रिजल्ट आउँछ । त्यसैले आफू वरपर जुन ग्लुकोमिटर सहजै पाइन्छ, त्यसलाई प्राथमिकता दिनु राम्रो हुन्छ ।
मकहाँ कहिलेकाहीँ केही बिरामी आउनुहुन्छ र भन्नुहुन्छ– मेरो छोरा, छोरीले अमेरिकाबाट, अष्ट्रेलियाबाट ग्लुकोमिटर पठाएको थियो, त्यसको स्ट्रिप कुन प्रयोग गर्ने ?
त्यसका लागि मसँग कुनै जवाफ हुँदैन, किनकि त्यो ग्लुकोमिटरका लागि त्यही कम्पनीले बनाएको स्ट्रिप चाहिन्छ जुन नेपालमा उपलब्ध नहुन पनि सक्छ । त्यसैले म के भन्न चाहन्छु भने ग्लुकोमिटर किन्दा तपाईंहरुले आफ्नो क्षेत्रमा नै पाइने ग्लुकोमिटरलाई प्राथमिकता दिनुपर्छ ।
ग्लुकोमिटरको प्रयोग गरे पनि केही कारणहरुले यसको रिडिङलाई असर गर्न सक्छन् । जस्तो कि ग्लुकोमिटरलाई तपाईंले रुम टेम्पेरेचरमा नै राख्नुपर्छ, लामो समय ग्लुकोमिटरलाई खुला रुपमा राख्नु पनि हुँदैन । अनि एक पटक खोलिसकेपछि ६ महिनाभित्र स्ट्रिप सक्नु पर्ने हुन्छ । त्यस्तै डेट एक्सपायर्ड स्ट्रिप पनि प्रयोग गर्नु हुँदैन । यस्तो गरिएन भने हाम्रो ग्लुकोमिटरले सही रिडिङ नदिन पनि सक्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।