सुदूरपश्चिममा काँग्रेससँग मिलेर सरकार बनाउने गृहकार्यमा ओली पक्ष

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बुधबार राजीनामा दिए । बोहराले राजीनामा दिएसँगै ओली पक्ष सांसद प्रदेश सरकार बनाउने खेलमा लागि परेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी ओली र दाहाल–माधव गुटमा विभाजित भएपछि सरकार आ–आफ्नो नेतृत्वमा बनाउने दाउमा दुई पक्ष प्रदेशमा लागि परेका छन् ।

नेकपा ओली समूहका सुदूरपश्चिम इन्चार्ज एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट निकट मानिने बोहरा यसअघि पार्टी एकताकै पक्षमा रहेको बताउँदै आएका थिए ।

उनले राजीनामा दिएसँगै सुदूरपश्चिममा ओली समूहमा ७ जना प्रदेशसभा सदस्य खुलेका छन् । सुदूरपश्चिममा सुरुमा ओलीको पक्षमा ३ जना मात्र खुलेका थिए । यसअघि पूर्व भौतिक पूर्वाधार तथा योजना मन्त्री पठानसिंह बोहरा, प्रदेशसभा सदस्य नेपालु चौधरी, लीलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा ओलीको पक्षमा खुलिसकेका छन् ।

प्रदेश सभामा अल्पमतमा रहेको केपी पक्षले आफ्नो पक्षमा सांसदहरू खुल्न थालेको दाबी गरेको छ । ‘हामी हिजोसम्म ६ जना खुलेका थियौं, आज ७ भएका छौं,’ प्रदेशमा मन्त्री पदबाट बर्खास्तमा परेका पठान सिंह बोहराले भने, ‘अब यो संख्या बढ्दै जान्छ । हाम्रो पक्षमा केही दिनमै बहुमत सांसद पुग्नुहुन्छ ।’ मुख्यमन्त्री भट्ट नेतृत्वको सरकार असफल भइसकेको धेरै दिन नटिक्ने उनले बताए ।

प्रदेश सरकारविरुद्ध मोर्चाबन्दी सुरु भइसकेको प्रदेशसभा सदस्यहरूको तर्क छ । ‘वर्तमान सुप सरकार देखेर प्रचण्ड–माधव पक्षकै प्रदेशसभा सदस्यहरू नै असन्तुष्ट छन्,’ प्रदेशसभा सदस्य रतन थापाले भने, ‘सरकारको आयु धेरै छैन, हामी त सरकार गिराउने पक्षमा छैनौं । तर, वर्तमान सरकारले जनअपेक्षा अनुसारका काम गर्न सकेको छैन, सांसदहरू रुष्ट छन्, सरकारको आयु धेरै छैन ।’ 



ओली पक्ष प्रदेशमा काँग्रेससँग मिलेर गृहकार्यमा जुटेको समाचार स्रोतले बताएका छ । ‘केन्द्रका नेताहरू आफ्नो पक्षमा खुल्न प्रदेश सांसदसँग नियमित छलफलमा हुनुहुन्छ’, ओली पक्षका एक नेताले भने, ‘चाडै नै हाम्रो पक्षमा खुल्नेको संख्या बढ्ने छ ।’

ती नेताका अनुसार आठ जना सांसद आएमा १५ जना पुग्छन् । १२ जना कांग्रेसका छन् । २७ जना जम्मा हुँदा सरकार बनाउन सकिन्छ कि भन्ने छलफल हुँदैछ ।



प्रदेश सरकार असफल भइसकेको प्रदेशसभा सदस्य महेशदत्त जोशीले बताए । ‘सरकार पूर्ण रूपमा असफल भइसकेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ,’ उनले भने, ‘सांसदहरू हाम्रो पक्षमा खुल्दै गइरहनुभएको छ । ढिलोचाँडो सरकार ढल्छ, मुख्यमन्त्रीमा काम गर्ने इच्छा शक्ति नै छैन ।’

दाहाल–माधव पक्षका सांसदले भने सरकारबाट २ मन्त्री बाहिरिँदैमा समीकरणमा केही फरक नपर्ने बताए । नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले भने, ‘सरकारमा बस्ने र नबस्ने त उहाँको स्वतन्त्रताको कुरा हो । मन्त्रालय सञ्चालन गर्ने इच्छा नै भएन, सरकारमा बसिराख्ने कुरो पनि भएन तर उहाँले यो अवस्थामा राजीनामा दिनु गलत हो ।’

दाहल–नेपाल पक्षका सुदूरपश्चिम पार्टी इन्चार्ज भीम रावलले पनि केही दिन पहिले विभिन्न तह र तप्काका नेताहरूसँग छलफल गरेका थिए ।

सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले आफूहरू सरकारमा जाने विषयमा छलफल नभएको दाबी गरे । ‘सरकारमा जाने विषयमा छलफल भएको छैन’, उनले भने, ‘हामीलाई सहयोग गर्नुस् भन्नेहरू नेकपाका दुवै पक्षका नेताहरू छन् । सामान्य छलफल भने नियमित भइ नै रहेका छन् ।’ उनले प्रदेश सरकारको नेतृत्व गर्ने जिम्मेवारी आफूमा आए पछाडि नसर्ने उल्लेख गरे ।

  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १६:१७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया