बालुवाटारबाट सिंहदरबार जान नसकेका प्रधानमन्त्री पुगे धनगढी
न कोभिड सर्ने डर, न स्वास्थ्यकै चिन्ता

काठमाडौं : प्रधानमन्त्री केपीले २०७६ फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरे। मिर्गौला प्रत्यारोपण सफल भएपछि सरकारी निवास बालुवाटार फर्किएका उनका लागि त्यसयता सिंहदरबारस्थित आफ्नो कार्यालय बिरानो भएको छ।

मिर्गौला प्रत्यारोपणपछि केबल ३ पटक मात्रै देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार छिरेर प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय टेकेका ओलीले अहिले बालुवाटारलाई नै देश सञ्चालनको थलो बनाइरहेका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले निरन्तर घेराबन्दी गर्दा पनि ओलीले आफूलाई बालुवाटारमै सीमित गराए। स्वास्थ्यमा समस्या देखाउँदै उनी मुलुकको प्रमुख प्रशासनिक केन्द्रमा गएका त छैनन् नै मन्त्रिपरिषद् बैठक समेत बालुवाटारमै राख्दै आएका छन्।

केही किलोमिटरको दूरीमा रहेको सिंहदरबार छिर्न स्वास्थ्यलाई कारण देखाएका ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँग आफूलाई मिर्गौला प्रत्यारोपण भन्दा पहिलेकै अवस्थामा सक्रिय बनाउन थालेका छन्। संसद विघटनको यो निर्णयसँगै नेकपा दुई चिरा भएको छ। प्रचण्ड-नेपालले अलग्गै समूह निर्माण गरिसकेपछि ओली अहिले २०७४ को चुनावमा खटिए जस्तै बालुवाटारबाट मैदानमा उत्रिएका छन्।

शरीरको मुख्य अंगमध्ये एक प्रत्यारोपण गरेका ओलीलाई कोभिड संक्रमणको उच्च जोखिम छँदैछ। तर उनले त्यसलाई प्रवाह नगरी आफूलाई बालुवाटार बाहिर सक्रिय बनाइरहेका छन्। सिंहदरबारकै कुर्सीका लागि ओलीविरुद्ध प्रचण्ड-नेपालले मोर्चाबन्दी गरेका थिए। तर उनीहरुलाई तत्कालका लागि सडकमा पुर्‍याएर ओली पकड जमाएका छन्। तर उनी आफैं सिंहदरबार जाँदैनन्।



गत फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो। त्यसपछि प्रधानमन्त्री ओली हालसम्म जम्मा तीन पटक मात्रै सिंहदरबारस्थित उपस्थित भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मिर्गौला प्रत्यारोपण गरेयता ओलीले तीन पटक त्यहाँ टेकेका छन्। उनी मिर्गौला प्रत्यारोपण गरेयता दुई पटक भिडियो कन्फ्रेन्स र एक पटक समीक्षा बैठकमा सहभागी हुन सिंहदरबार छिरेका थिए। देशमा कोभिड-१९ संकट चुलिएयता ओलीका लागि सिंहदरबार बिरानो भएको छ।



सबै बालुवाटारमै

प्रधानमन्त्री ओली बालुवाटार केन्द्रित भएपछि उनका सहयोगी र सल्लाहकार पनि त्यहीँ केन्द्रित छन्। मुख्य सल्लाहकार विष्णु रिमालदेखि प्रेस सल्लाहकार सूर्य थापाको पनि धेरै समय  बालुवाटारमै बित्छ। नेकपा फुट्नुअघि बालुवाटारमै सचिवालय र स्थायी कमिटी बैठक बस्ने गरेका थिए।

बालुवाटारमै उनलाई भेट्न प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवासमेत पुग्ने गरेका थिए। अरु त अरु नेपाल आएका भारतीय र चिनियाँहरुलाई समेत उनले बालुवाटारमै शिष्टाचार भेट गर्ने गरेका छन्। भारतीय जासूसी संस्था रअ प्रमुख सामन्त गोयलसँगको गत कात्तिक ५ मा प्रधानमन्त्रीले गरेको गोप्य भेटसँगै नेकपा विभाजनको बिउ रोपिएको बताउने गरिन्छ।

नेकपा फुटेपछि ओलीको नयाँ रुप

नेकपामा विभाजन आएसँगै ओलीलाई बालुवाटारबाट निस्किन न त प्रत्यारोपित मिर्गौलाले रोक्यो  न त कोभिड-१९ संक्रमणको डरले। उनी निष्फिक्री बालुवाटारबाट निस्किएर हजारौँको भिडमाझ निर्धक्क घण्टौँ लामा भाषण गरिरहेका छन्।

पुस ५ यताको प्रधानमन्त्रीको सक्रियता र नेकपाकै दाहाल-नेपाल समूहको  जुलुस र सभा हेर्दा देशबाट कोरोना पूरै हटिसकेको भान हुन्छ। प्रधानमन्त्री घण्टौँ लामा भाषणले उनमा कुनै स्वास्थ्य समस्या रहेको भन्ने भ्रम मात्रै जस्तो लाग्छ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओलीलाई निजी चिकित्सक डा. दिव्या सिंह शाह र डा. दिलीप शर्मासहितले कम्तीमा ६ महिना आराम गर्न भनेका थिए। तर ओली प्रत्यारोपणको १५ दिनमै सक्रिय भए। मिर्गौला प्रत्यारोपणपछि बालुवाटारमै बसिरहेका ओली पुस ५ को घटनाक्रमपछि दिनदिनै सक्रिय भइरहेका छन्।

नेपालमा गत माघमा कोरोनाको पहिलो संक्रमण देखिएको थियो। कोरोना त्रासबीच मिर्गौला प्रत्यारोपण गरेका ओली नेतृत्वको सरकारले २०७६ चैत ११ गते लकडाउन गर्‍यो।

कोभिड फैलिएसँगै त्यसबाट जोगिन भन्दै विश्वविद्यालयको वार्षिकोत्सवदेखि अन्य सबै कार्यक्रम बालुवाटारमा केन्द्रित थिए। भीडभाडयुक्त ठाउँ र शरीरलाई बल पर्न सक्ने गतिविधिमा उनी सहभागी भएका थिएनन्।

पार्टी विभाजनअघि ओली पार्टीका बैठकमा बालुवाटार बाहिर जान मान्दैनथे। निकै दबाबपछि बस्नै परे पार्टीका बैठक पनि बालुवाटारमै राख्दै आएका थिए। आफ्नै पार्टी मुख्यालय धुमबाराहीमा जान पनि सुरक्षा खतरा रहेको अभिव्यक्ति प्रधानमन्त्रीले दिएका दिए। 

पार्टी विभाजनअघि प्रधानमन्त्री ओलीले सुरक्षा खतरा रहेको भनेपछि गत मंसिर २१ गते पार्टी कार्यालय धुमबाराहीमा राखिएको स्थायी समितिको बैठकमा कडा सुरक्षा व्यवस्था गरिएको थियो। ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। रेक्कीका लागि कुकुरको व्यवस्था गरिएको थियो। 

बम डिस्पोजल टोली खटाइएको थियो। एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो। पार्टी कार्यालय वरपरका घरमा समेत सुरक्षाकर्मी तैनाथ थिए। यति धेरै सुरक्षा व्यवस्था गरिए पनि प्रधानमन्त्री ओली बैठकमा उपस्थित भएनन्। 

मंसिर २८ गतेको स्थायी समिति बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको मृत्युप्रति शोक प्रस्ताव पारित गरी अन्त्य गर्ने सहमति भएपछि ओली उपस्थित भए। एकैछिनका लागि बसेको बैठक ओलीकै बालुवाटारमै बस्यो। 

विभाजनपछि सक्रियता

पार्टी विभाजन भएपछि ओली निकै उत्साहका साथ बैठक, भेलामा सहभागी भइरहेका छन्। पार्टी पार्टीको बैठक राख्न र बैठकमा उपस्थित हुन नमान्ने ओलीले पार्टी दुई कित्तामा विभाजित भएपछि निरन्तर आफ्नो समूहको बैठक राखिरहेका छन्। अहिले उनको मूल काम नै पार्टीका बैठक भेलामा अर्को पक्षका नेताहरूमाथि कटाक्ष गर्ने देखिँदैछ।

सरकारको काम गर्नुपर्ने बेला अनावश्यक रुपमा पार्टी बैठकमा बोलाएर अल्मल्याएको ओलीले भन्ने गरेका थिए। पार्टी विभाजनपछि ओली हरेक दिनजसो आफ्नो समूहका कार्यक्रम पुगेर घण्टौँ बस्ने गरेका छन्। 

पुगे धनगढी

पुस ५ यता काठमाडौंका भेला र बैठकमा सहभागी भइरहेका ओली अब सुदूरपश्चिमको धनगढी पुगेका छन्। सुदूरपश्चिममा आफ्नो समूह  कमजोर रहेको अवस्थामा आज धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्न ओली त्यहाँ पुगेका हुन्।

बालुवाटारबाट सिंहदरबार जाँदा कोभिडको जोखिम देखेका ओली दलबलसहित धनगढी पुगेका हुन्। त्यहाँ उनले अन्य जिल्लाबाट पनि उतारिएका कार्यकर्ता सम्मिलित सभालाई सम्बोधन गर्दैछन्।

सुदूरपश्चिम प्रदेशसभा र समग्र प्रदेशमा आफ्नो समूहको पकड कमजोर रहेको अवस्थामा ओली सबैभन्दा पहिले त्यहीँ पुगेका हुन्। चिकित्सकहरुले कोभिड संकट टरिनसकेको भिड जम्मा नगर्न भनिरहेका छन्। भाइरोलोजिस्ट डा. शेरबहादुर पुनले कोभिडको अर्को संकट आउन सक्ने भन्दै भीडभाडमा नजान सचेत गराएका छन्। तर प्रधानमन्त्री आफैं हजारौँ भीड जम्मा गरेर भाषण गर्न हिँडिसकेका छन्।

ओलीको व्यस्तता 

पुस ६ गते (बालुवाटार)

पुस ६ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राखेको थियो। त्यसको अध्यक्षता ओलीले गरेका थिए। 

पुस ७ गते(बालुवाटार)

पुस ६ गते बालुवाटारमा बसेको ओली पक्षका केन्द्रीय सदस्यको बैठक बोलाएर ओलीले केन्द्रीय समितिमा देशभरबाट आफू पक्षका ५५६ जनालाई थपेको घोषणा गरेका थिए। 
त्यसरी थपिएका केन्द्रीय सदस्यहरुलाई सपथ खुवाउने र प्रशिक्षण पुस ७ गते राखिएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित त्यस कार्यक्रमको नेतृत्व ओली नै गरेका थिए। 

पुस ९ गते (बालुवाटार) 

ओली पक्षले विस्तार गरेको केन्द्रीय समितिको बैठक बालुवाटारमा राखिएको थियो। बैठकको अध्यक्षता ओलीले नै गरेका थिए। पुस १० गते मन्त्रिपरिषद्मा नयाँ मन्त्री थप्नका लागि ओली नेताहरुसँग र भेटघाटमा व्यस्त भएका थिए। मन्त्री थप गरी साँझपख मन्त्रीहरुलाई शपथ खुवाइयो। 

पुस १५ (कार्की पार्टी प्यालेस)

पुस १५ गते नेकपा (ओली)समूहले सुदूरपश्चिम प्रदेशका नेता कार्यकर्ता भेला आयोजना गरेको थियो। बबरमलस्थित कार्की पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रमका मुख्य वक्ता ओली नै थिए। 

पुस १७ (भर्चुअल कार्यक्रम)

अङ्ग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा प्रवास रहेका नेकपाका ओली निकट कार्यकर्ताहरूले भर्चुअल कार्यक्रम आयोजना गरेका थिए। यस कार्यक्रमको मुख्य वक्ता ओली नै थिए। यस कार्यक्रममा प्रधानमन्त्री ओलीले करिब १ घण्टा सम्बोधन गरेका थिए। 

पुस १८ गते (प्रज्ञा भवन)

काठमाडौं कमलादी स्थिति प्रज्ञा भवनमा पुस १८ गते ओली समूहका काठमाडौं जिल्लाका नेता-कार्यकर्ताको भेला थियो। यसका कार्यक्रममा प्रमुख अतिथि र मुख्य वक्ता ओली थिए। 

पुस १९ गते (कार्की पार्टी प्यालेस)

१९ गते बबरमलस्थित कार्की ब्ल्याङ्केटमा ओली नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुको ओली समूहको भेला आयोजना गरिएको थियो। यस कार्यक्रमको मुख्य अतिथि र वक्ता ओली नै थिए।

  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार १४:२८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया