उच्च रक्तचापले थाहै नपाई बिगार्छ मिर्गौला

हेल्थ हबमा हरेक साताझैं यो साता पनि म ऋषि कुमार काफ्ले उपस्थित भएको छु।

आज हामी  मिर्गौला र उच्च रक्तचापका बारेमा कुरा गर्न गइरहेका छौँ। उच्च रक्तचापले  मिर्गौला बिगार्ने काम गर्छ। तर उच्च रक्तचाप बिग्रेको भोलिपल्टै वा केही वर्षमै  मिर्गौला बिगिँ्रदैन। उच्च रक्तचाप भएको व्यक्तिले वर्षौँसम्म पनि उपचार गरेन, औषधि खाएन भने मात्र त्यसले  मिर्गौला बिगार्छ। 

मान्छे जन्मिदा स्वस्थ  मिर्गौला लिएर जन्मिएको हुन्छ। तर, सबैको हकमा यो लागु नहुन पनि सक्छ। जो कमसल गृगौला लिएर जन्मिएका हुन्छन्,  मिर्गौलाको काम गर्ने इकाई नेफ्रोन अत्याधिक कम भयो भने सानो रोगले पनि  मिर्गौलालाई ड्यामेज गरिदिन सक्छ। 

कमजोर  मिर्गौला भएको व्यक्तिमा उच्च रक्तचापको समस्या देखियो भने उसको  मिर्गौलालाई छिट्टै बिगार्छ। हामी नेपालीहरुको आफ्नो  मिर्गौलाको अवस्था के छ ? कस्तो छ ? भनेर जाँच गर्ने बानी एकदमै कम छ । हामी आफूलाई सधैँ स्वस्थ छौँ, हामीले जे खाए पनि हुन्छ भन्ने सोचर बसिरहेका हुन्छौँ। 

नेपालमा उच्च रक्तचाप भएपछि हाम्रो शरीरको स्थिति कस्तो छ, ? हाम्रो  मिर्गौलाले काम गर्न सकिरहेको छ कि छैन भनेर जाँच गरिरहेका हुँदैनौँ। हाम्रो अर्को नराम्रो बानि के छ भने हामी औषधि पनि खादैनौँ, औषधि खाएर केही हुँदैन भन्ने सोच्छौँ। 

म तपाईंहरुलाई एउटा उदाहरण दिन चाहन्छु, एक इन्जिनियरको। उनको एक दिन टाउको दुखेछ। उनी अस्पताल गएर बुझ्दा उनलाई उच्च रक्तचाप भएको पाइयो। डाक्टरले उच्च रक्तचाप हुँदा खानुपर्ने औषधि दिइयो। उनले औषधि खान थालेपछि उनका परिवार, आफन्त साथीसंगी सबैले यसरी औषधि खानु गलत हो भन्न थालेछन्। उनलाई सबैले भनेछन्–२५ वर्षको उमेरदेखि नै औषधि खानु हुन्न। 



सबैले तारन्तार भन्न थालेपछि उनले औषधि खान गलत हो सोचर औषधि छाडिदिए।

तर, कसैले बुझिदिएन कि उनले आफ्नो रहरले औषधि खान सुरु गरेका होइनन्, खानैपर्ने भएर डाक्टरले खान सुझाएका हुन्। उनको रोगप्रति कोही जिम्मेवार भइदिएनन्। 



यसरी दश वर्ष बिते। उनलाई यो बीचमा केही लक्षण देखिएनन्। दर्श वर्षपछि जब उनी एकरात निसास्सिएर उठे, तब थाहा भयो, उनको रक्तचाप मात्र बिग्रिसकेको रहेनछ, दुवै  मिर्गौला पनि बिग्रिसकेका रहेछन्। 

उनलाई गंगालाल अस्पतालबाट नेशनल  मिर्गौला केन्द्रमा डायलाइसिस गर्न पठाइयो। त्यो बेला नेपालमा  मिर्गौला प्रत्यारोपण गर्ने सुविधा थिएन। उनले लाखौँ रुपैयाँ खर्च गरेर भारत गएर प्रत्यारोपण गराए। अहिले उनी महिनामा हजारौँको औषधि खाएर बाँचिरहेका छन्। 
यो उदाहरणलाई हेर्दा हामी के बुझ्न सक्छौँ भने रक्तचापले  मिर्गौला आजको भोलि नै बिगार्दैन, धेरै समय लाग्छ। अनि त्यो समय हामी आफैँ दिन्छौँ। 

हामी सोच्छौँ उच्च रक्तचापले थोरै असर गर्छ, तर त्यसो होइन। उच्च रक्तचापको असर तत्कालै नदेखिए पनि यसले दिगो असर गर्छ।  मिर्गौला बिग्रेको लक्षण देखिएर अस्पताल पुग्दासम्म मान्छेको गृगौला बिग्रिसकेको हुन्छ। अब बिग्रेको  मिर्गौलाको उपचार लगभगल असम्भव जस्तो हो। किनभने बिग्रेको असर अन्तिम समयमा देखिन्छ। 

लक्षण नहुँदासम्म अस्पताल कोही जाँदैन। त्यसमा उसको दोष पनि छैन। उसको दोष त उच्च रक्तचापका खतराबारे ज्ञान नहुनुमा छ। यो कुरा हाम्रन नजिकका मान्छेहरुले पनि बताइदिँदैनन्। 

उच्च रक्तचाप भएका हाम्रा समस्त दर्शकहरुलाई मेरो अनुरोध। तपाईंले आफ्नो रक्तचाप नापेको कहिले को ? औषधि खान थालेको कहिलेदेखि हो ? तपाईंले आफ्नो  मिर्गौला कस्तो अवस्थामा छ ? भनेर डाक्टरलाई सोध्नुभएको छ? यी प्रश्नलाई ध्यानपुर्वक सोच्नुहोस्। 
रक्तचापले आँखालाई असर गरेको छ कि छैन, मुटुलाई असर गरेको छ कि छैन भनेर समयमै जाँच्नुस्। बिग्रेपछि मात्र अस्पताल जानुभएन। 

मेरो हार्दिक अनुरोध आफ्नो प्रेसर समय समयमा परीक्षण गर्नुहोस्। मान्छेहरुले भनेको सुन्छु, मैले प्रेसर ननापेको दुई वर्ष भयो, म त ठीक छु। हो, यहीँ ‘म त ठीक छु।’ भन्ने कुराले नै सबै बिगार्छ। 

हाम्रो स्वास्थ्य परीक्षण बेलाबेलामा गरिरहनु पर्छ। ‘म त ठीक छु’ भन्ने सोचले हामीलाई जोगाउँदैन।  मिर्गौला ठीक भए नभएको जाँचै नगरेर,  मिर्गौलाले प्रोटिन बढ्न दिएको छैन,  मिर्गौलाले रगत फालेको छैन, आदि आदि कुरा जब तपाईंले जाँच्नु हुन्छ र रिपोर्टमा केही समस्या देख्नुहुन्न, त्यसपछि मात्र भन्नुस् मेरो  मिर्गौला ठीक छ र म त ठीक छु। 

रक्तचाप सके छ महिनामा नसेके कम्तिमा पनि वर्षको एकचोटि जाँच्नुस्। पिसाबमा क्रियाटिनिन, प्रोटिन, आरबिसी गए नगएको अवश्य पनि हेर्नुहोला। यो एकदमै महत्वपूर्ण छ। 

जाँचेपछि झन् डर लाग्छ, समस्या हुन्छ भन्ने सोचर जाँच्नु भएन भने त्यसले झनै ठूलो समस्या निम्त्याउँछ। जाँचेर औषधि खाइरहँदा मिर्गौला स्वस्थ राख्ने के गर्नुपर्छ भन्ने कुरालाई पनि उत्तिकै ध्यान दिनुपर्छ। 

उदारणका लागि  ४० वर्षको व्यक्ति छ , प्रेसर बढेको छ। औषधि अनि नुन पनि त्यतिकै खाइरहेको छ भने। त्यो औषधि नखाए बराबर हुन्छ। 

आवश्यकता अनुसार सुतिएन, चिन्ता धेरै लिइन्छ, खानामा ध्यान दिइँदैन भने औषधि मात्रै खायो ठीक भइ हाल्न भन्ने हुँदैन। जीवनचर्या ठीक नभएपछि औषधिले काम गर्दैन अनि दोष कसको ? 

उच्च रक्तचाप भएका लाखौँले अहिले औषधि खाइरहेका छन्। ती मध्ये पनि थोरैको मात्रै मिर्गौला बिग्रँदा पनि हजारौँ व्यक्तिको मिगौला बिग्रिएको हुन्छ। 

मिर्गौला के कारणले बिग्रिन्छ भनेर दौडिराख्नु भन्दा उच्चरक्त चापको समस्या भएका व्यक्तिहरुले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने हुन्छ। खानामा नुनको मात्रा कम गर्ने, मासुको मात्रा कम गर्ने, चुरोट, खैनी, जाँडरक्सी नखाने, समयमा सुत्ने समयमा उठ्ने, पानी प्रशस्त पिउने यी बानीको पालना गरेमात्रै औषधिले काम गर्छ। 

चिकित्सक कहाँ जाने एउटा औषधिले काम गरेन भन्दै अर्को औषधि थपिरहने गर्दा त्यो प्रेसरलाई बुझिएन्। खानपान तथा जीवनशैली नसुधार्दासम्म जति औषधि खाएपनि उच्च रक्तचाप उच्च नै बस्छ। 

उच्च रक्तचाप लामो समयसम्म भएपछि हाम्रो शरीरका महत्वपूर्ण अंग आँखा, मुटु, मिगौला, ब्रेनमा क्षति पुग्न थाल्छ। 

त्यसरी अंगहरुमा क्षति पुगिरहेको कुरा एक्कासी थाहा हुँदैन। प्रेसर निरन्तर बढेर लौ मिर्गौला गयो, लौ मुटु नै गयो, लौ ब्रेन नै गयो भन्ने हुन्छ। यसरी गएर पनि मरिहालिने त होइन। बाँच्ने अनेकौँ  उपाय छ। तर त्यसपछि अनेकौँ समस्या र झन्झट व्यहोर्नु पर्ने हुन्छ। 
यस्ता झन्झट आउन नदिने रक्तचाप ठिक राख्नुपर्‍यो। 

अब रक्तचापबाट पनि मिर्गौला बिग्रिन्छ भनेपछि प्रेसरको समस्या भएका र औषधि खाइरहेका तपाईहरुलाई तनाब होला। धेरैले नियमित प्रेसरको जाँच गराइरहने औषधि खाइरहने गरेको भएपनि आफ्नो मिर्गौलाको अवस्था कस्तो छ ? भनेर जानकारी लिएको देखिँदैन। पैसा पनि तिर्ने आवश्यक जानकारी पनि नलिने त्यो राम्रो काइदा होइन। 

त्यसरी जाँच गर्दा त्यहाँ क्रियाटिनिन् लेखिएको हुन्छ। त्यसमा नर्मल लेखेको छ भने ढुक्क हुनुहोस् तपाईको मिर्गौलामा खराबी छैन। आजको भोली उच्च रक्तचापले मिर्गौला बिग्रिँदैन। लामो समयसम्म उच्च रक्तचाप ठीक नहुँदा मिर्गौला बिग्रिन्छ। उच्च रक्तचाप ठिक छ, नियमति जाँच गरिरहेको छ, औषधि खाइरहेको छ  भने डराउनु पर्दैन। मिर्गौला केही पनि हुँदैन। 

उच्च रक्तचाप भएका महानुभावहरुलाई हार्दिक अनुरोधः उच्च रक्तचापलाई  सामान्य गर्न औषधि खानुहोस्। वर्षमा एकपटक मिर्गाैला जाँच गर्नुहोस्। स्वस्थ जीवनशैली अगाल्नुहोस्। तपाई एकजनाको मिर्गौला  ठीक भयोभने तपाईको, राज्यको सबैको भलो हुन्छ। लाखौँको खर्च जोगिन्छ। करोडौँको दुखः हुँदैन।  

  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार ९:१६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया