यता प्रधानमन्त्री ओली भाषण गरिरहे, उता भारतले महाकालीमा खनिरह्यो
महाकाली नदीमा तटबन्ध बनाउन भारतले लगातार निर्माण गरिरहेकाे छ, नेपालकाे चिठी पनि उसले बेवास्ता गरिरहेकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो समूहका कार्यकर्तालाई सम्बोधन गर्न दौडधूपमा लागिरहेका छन् । यही क्रममा उनी धनगढीमा पुगेका थिए, शुक्रबार । 

शुक्रबार धनगढीमा प्रधानमन्त्री ओलीले आफूले गरेका कामको मात्र व्याख्या गरेनन्, आफूले भारतले मिचेको जमिन फिर्ता ल्याएको समेत भन्न भ्याए । पछिल्लो समय छापिएको नेपालको नयाँ नक्सामा भारतको अतिक्रमणमा परेका लिपुलेक र लिम्पियाधुराको क्षेत्रबारे प्रधानमन्त्री ओलीले आफ्ना सम्बोधनमा छुटाएका छैनन् ।

शुक्रबार पनि उनले आफ्नो सम्बोधनमा यी कुरामाथि गर्व गरे ।

‘लिम्पियाधुरा, कालापानी हाम्रो हो, ५८ वर्षदेखि अधिकार प्रयोग गर्न नपाएको जमिन हामीले हाम्रो मातहतमा ल्याएर नक्सा जारी गरेका छौँ,’ प्रधानमन्त्री ओलीले धनगढीमा यसो भन्दा उनका प्रशंसक तथा कार्यकर्ताले चर्को ताली बजाए । 

यता प्रधानमन्त्री ओली यस्तो भाषण गरिरहेका थिए, उता भारतले नेपाली भूमीमा आफ्नो जेसिबी चलाइरहेको थियो । शुक्रबार नै प्रधानमन्त्री ओलीले धनगढीमा चर्को भाषण गरिरहँदा महाकाली नदीमा तटबन्ध बनाउने हेतुले जेसिबी चलाइरहेको थियो ।

दार्चुला जिल्ला प्रशासनले यसअघि नै भारतलाई यो कदम रोक्न पत्राचार गरेको थियो । तर, भारतले २ पुसमा नेपालले पठाएको पत्रलाई बेवास्ता गरिरहेको छ, उसले महाकाली नदीमा जेसिबी चलाइरहेको छ । भारतको धारचुला पिथौरागढका उपजिल्ला अधिकारीहरुले नेपालले पठाएको पत्रको बेवास्ता गरेका छन् ।



नेकपा विभाजित भएपछि पार्टीको काममा लागेकाले सम्बन्धित मन्त्रालयहरुले पनि यसमा काम गरेका छैनन् । यस विषयमा दार्चुला जिल्ला प्रशासनले परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई चिठी पठाइसकेको छ । 

तर, अहिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्री ओलीको समूहलाई विस्तार गर्न पार्टीका काममा व्यस्त छन्, भारतले नेपाली भूमि मिचिरहँदा यसबारे बोल्ने फुर्सदसमेत पाएका छैनन् ।



‘हामीले भारतकाके एसडिएमलाई पत्र पठाइसकेको छौँ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शरदकुमार पोखरेलले फरकधारसँग भने, ‘तर, उसले पत्रको वास्ता गरेको छैन, आफूले बनाउन लागेको संरचनामा निरन्तर काम गरिरहेको छ ।’

पोखरेलका अनुसार यस विषयमा ध्यानाकर्षण गर्नका लागि दार्चुला जिल्ला प्रशासनले गृह र परराष्ट्र मन्त्रालयलाई पनि जानकारी दिइसकेको छ । ‘पुस २ गते, ५ गते र २० गते तीन पटक हामीले गृहमन्त्रालयलाई चिठी पठाएका छौँ,’ पोखरेलले भने, ‘परराष्ट्रलाई पनि हामीले चिठी पठाइसकेका छौँ र अहिलेसम्म जवाफ आएको छैन, जवाफ कुरिरहेका छौँ ।’

प्रजिअ पोखरेलले आफूहरुले पठाएको चिठीमा भारतले उक्त स्थानमा संरचना बनाइरहेको र त्यहाँ एस्काभेटर, जेसिबी आदि उपकरण प्रयोग गरिरहेको उल्लेख गरेको बताएका छन् । जिल्ला प्रशासन कार्यालयबाट आएको चिठीबारे भने काठमाडौंमा न परराष्ट्र न गृह चिन्तित देखिएको छ, न यसलाई उनीहरुले सम्बोधन नै गरेका छन् ।

प्रजिअ पोखरेलका अनुसार पहिले भारतलाई पत्र काटिसकेपछि केही दिन उसले काम रोकेको थियो । तर, धनगढीमा जुन दिन राष्ट्रियताबारे प्रधानमन्त्री ओली भाषण गरिरहेका थिए, त्यही दिन भारतले आफ्नो जेसिबी महाकाली नदीमा निकालेको छ ।

महाकाली नदीमा भारतीय जेसिबी ।

महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख शोभाकर पौडेल पनि भारतले अहिले नेपाली भूमि मिच्दै निर्माण कार्य सुरु गरेको र पछिल्ला दिन केही सुस्त देखिएको स्वीकार्छन् । ‘तर, हामी नेपालको भूमि एक इन्च पनि छोड्दैनौँ,’ पौडेल भन्छन्, ‘भारतले कहाँ एकलौटी गर्न पाउँछ ?’

एकातिर सीमामा यस्तो अवस्था छ, तर त्यही सीमा नजिकै पुगेर प्रधानमन्त्री ओली आफूले नेपाली भूमि फिर्ता ल्याएको ‘गफ’ दिइरहेका छन् । 

भारतले एकलौटी रुपमा अहिले महाकाली नदीमा तटबन्ध निर्माण गर्दैगर्दा दार्चुलावासी चाहिँ चिन्तित छन् ।

किनकि यसअघि नै भारतले ०७४ सालमा नेपालसँग समन्वय नगरेर नै महाकाली नदीमा विभिन्न ठाउँमा काठका पुल बनाएको थियो । महाकाली नदी प्रभावित हुने गरी भीर कटान गरेको थियो । त्यति मात्र होइन, नेपाली भूमि कालापानी, लिपुलेकसम्म सडक विस्तार ग¥यो । व्यास गाउँपालिकाको छाङरुमा अहिले सशस्त्र प्रहरी गुल्म पुगेपछि स्थानीय केही सुरक्षित महसुस गरिरहेका छन् । स्थानीय जीवन महराले अहिले भारतको अतिक्रमण यो गुल्म आएपछि रोकिएको र आफूहरु सुरक्षित महसुस गरेको बताउँछन् ।

तर, फेरि महाकाली नदीमा भारतले एकतर्फी बाँध बनाइरहँदा महाकाली नदीले नेपालतर्फ कटान बढी गर्दै गएको छ । कतिपय ठाउँमा त यसअघि प्रयोग हुँदै आएका गोरेटो पनि भत्किएका छन् ।

अवस्था यस्तो हुँदाहुँदै पनि प्रधानमन्त्री ओली भाषण गरिरहेका छन्– हामीले नेपाली भूमि फिर्ता ल्यायौँ ।

  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार १२:४७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया