केपीले ‘जबज’ लाई क्षतविक्षत पार्नुभयो : योगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवम् प्रचण्ड—माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नै ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई क्षतविक्षत पारेको आरोप लगाएका छन् । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै भट्टराईले केपीले आफ्नो स्वार्थका लागि जबजलाई नै खाएको बताए ।

‘मदन भण्डारीले लागू गरेको जनताको बहुदलीय जनवादमा कानुनी शासन, संविधानको सर्वोच्चता जस्ता १४ वटा बुँदा छन् । तीमध्ये ओलीले कुन बुँदालाई पालना गर्नुभयो ?,’ पूर्वमन्त्री भट्टराईले भने, ‘उहाँले जबजलाई आफ्नो स्वार्थका लागि खानु भयो । जबजलाई भजाउँदै सनकी तालले संसद् विघटन गरेर ओलीले संविधानलाई नै च्यात्ने प्रयास गर्नुभयो ।’

‘पूर्व एमाले र पूर्व माओवादी एकीकरण हुँदा यी दुवै पार्टी विघटन भइसकेका छन्,’ उनले भने, ‘अब कसैलाई पूर्व एमाले र पूर्व माओवादी भन्न मिल्दैन । एकता हुँदा तत्कालीन एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले मान्दै आएको २१ औँ शताब्दीको जनवाद र माओवादलाई विकसित गर्दै  जाने उल्लेख गरिएको छ । तर, अहिले त्यसलाई मान्दै नमान्ने भन्ने ओली जस्ता धोका दिने नेताहरू पनि भेटिन्छन् । कुन सही कुन गलत छुट्याएर अघि बढ्ने जिम्मा कार्यकर्ताको हो ।’

नेकपाका ४३७ केन्द्रीय सदस्यमध्ये ३१५ जना सदस्यले ओलीलाई कारबाही गरेर नेकपाको अध्यक्षबाट नै हटाइसकेको भन्दै भट्टराईले निर्वाचन आयोगलाई तत्काल अभिलेख सच्याउन आग्रह गरे ।

‘अभिलेख सच्याउन निर्वाचन आयोगमा निवेदन दर्ता गराएका ३१५ जना केन्द्रीय सदस्यलाई हामी उपस्थित गराउन सक्छौं,’ उनले थपे, ‘ओलीले बाटोमा हिँड्दै गरेका कसैलाई थाहा नै नदिई केन्द्रीय सदस्य बनाएका छन् । त्यसैगरी १ हजार त के ५ हजार नै बताए पनि नेकपाको बहुमत अनि आधिकारीक पक्ष हामी हौँ । त्यसैले हँसियाहतौडा र सूर्य चिह्न हाम्रो हो ।’

प्रधानमन्त्री पद र शक्तिलाई नै आफ्नो अन्तिम लक्ष्य ठानेका ओलीलाई पछिल्लो राजनीतिक घटनाक्रमले ओरालो यात्रामा अघि बढाएको उनको टिप्पणी छ ।



पार्टी भित्र एकलौटी अघि बढ्ने, नीतिनियम, सहमतिको कार्यान्वयन नगर्ने ओलीकै कारण पार्टी यो अवस्थामा प्रवेश गरेको भन्दै उनले आफूले गल्ती गरेको आत्म आलोचना गरेर एकताको बाटोमा आएमा आफूहरू पुनः एकतामा अघि बढ्न सक्ने बताए ।



  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १२:२४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया