नेकपामा फुट : बढ्दै निषेधको राजनीति, भौतिक आक्रमणमै उत्रिन थाले कार्यकर्ता
ओलीविरुद्ध आक्रमक बन्दै दाहाल-नेपाल समूह

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएसँगै निषेधको राजनीति सुरु भएको छ। नेकपा विभाजित भएर केपी शर्मा ओलीले नेतृत्व गरेको एउटा र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको अर्को समूहमा विभाजित भएको छ।

पुस ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमसँगै नेकपा दुई समूहमा विभाजित छ। यी दुई समूहले देशभर अलग अलग गतिविधि र एकअर्कालाई कारबाहीसम्मको तहमा उत्रिए पनि कानुनी रुपमा फुट्न भने त्यति सजिलो छैन। 

ओलीले संसद विघटन गरेसँगै यी दुई समूहमध्ये ओली धुमबाराहीमा र बालुवाटार केन्द्रित छन् भने प्रचण्ड-माधवकुमार नेपाल पेरिस डाँडामा केन्द्रित भएका छन्। दुई समूहमध्ये दाहाल नेतृत्वको  नेकपाले ओलीलाई पहिलो अध्यक्षबाट हटाएको घोषणा गर्दै त्यो स्थानमा नेता नेपाललाई ल्याएको जनाएको छ। 

त्यस्तै ओली समूहले पनि दाहाललाई कार्यकारी अध्यक्ष र नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएको छ। अर्कातिर दाहाल-नेपाल समूहले प्रदेश इन्चार्जहरु शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङलाई हटाएको घोषणा गरेका छन्। अर्कातिर प्रदेश १  र बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव नै हालिसकेका छन्। 

यी  दुई समूहको  विवाद तल्लो तहसम्म पुगिसक्दा एकअर्काले पार्टी कार्यालय कब्जाको पनि होडबाजी चलेको छ। ओली समूहले चितवन, प्यूठान र सर्लाहीसहितको जिल्ला पार्टी कार्यालयमा ताला लगाएर कब्जा गरिसकेको छ। अर्कातिर पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कैलाली जिल्ला र सुदूरपश्चिम प्रदेश कार्यालयमा ताल्चा लगाएर कब्जा गरेका छन्। 

अर्कातिर नेकपा दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको नाममा रहेको ३० लाख रुपैयाँ गायब गरेको आरोप लागेको छ। यद्यपि रावलले उक्त पैसा आफूले निकालेर राखेको स्वीकारेका छन्। 



पद्मालाई कांग्रेसको अवरोध

विभाजनको रेखा तल्लो तहसम्म पुगिसकेको अवस्थामा जिल्ला जिल्ला पुगिरहेका नेताहरुमाथि दुर्व्यवहार पनि हुन थालेको छ। जिल्लामा पुगेका मन्त्रीहरुलाई कालोझण्डा देखाउनेदेखि यात्रामा अवरोध गर्नेसम्मका गतिविधि भइरहेका छन्। खासगरी दाहाल-नेपाल समूहले नेता र मन्त्रीहरुलाई कालोझण्डा देखाइरहेका छन्। 



यस्तोमा कांग्रेसले समेत एकजना मन्त्रीलाई अवरोध प्रयास गरेको छ। यही पुस २५ गते गृहजिल्ला पुगेकी  कृषी मन्त्री पद्मा कुमारी अर्याललाई रोक्न कांग्रेस कार्यकर्ताहरु निषेधको तहमै  उत्रिए। कांग्रेस नेता गोपालमान श्रेष्ठ र धनराज गुरुङको समेत गृहजिल्लामा अर्यालमाथि दुर्व्यवहार भएको हो। यद्यपि उनले त्यसलाई सामान्य भन्दै आफू जिल्लामा निर्धक्क घुमेको बताइरहेकी छन्। 

नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृह जिल्ला पुगेकी अर्याललाई तरुण दल र नेविसंघका कार्यकर्ताले कालो झण्डा देखाएका थिए भने उनी  सवार गाडीलाई पनि रोक्ने प्रयास गरेका थिए। कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार भइरहेको विरोध प्रदर्शनमा मन्त्री अर्याललाई कार्यकर्ताहरूले कालो झण्डा देखाउँदै अवरोध गर्न खोजेका थिए। तर उनलाई प्रहरीले  कडा सुरक्षा दिएर सभास्थलमा लगेको थियो। मन्त्री अर्याललाई रोक्न खोज्दा स्याङ्जामा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप नै भएको थियो।

गृहजिल्लामा बीनालाई समस्या

अहिले  सुदूरपश्चिममा ओली समूहले आफूलाई केन्द्रित गरेको छ। भीम रावल, बीना मगरसहितका नेताहरु दाहाल-नेपाल समूहमा रहेपछि ओली समूहले सुदूरपश्चिममा आफ्नो बर्चस्व बनाउन अभियान नै थालेको छ। प्रधानमन्त्री केपी ओली आफैं गए पुस २२ मा सम्बोधन गरे। 

त्यहाँ अहिले ओली समूहका लेखराज भट्ट, कर्णबहादुर थापा र प्रेमबहादुर आलेसहित आफ्नो समूह बलियो बनाउन जुटेका छन्। यस्तोमा यही आइतवार गृहजिल्ला पुगेकी प्रचण्डकी बुहारीसमेत रहेकी पूर्व खानेपानी मन्त्री बीना मगरले चर्को विरोधको सामना गर्नुपर्यो। उनलाई गृहजिल्ला पुगेका बेला ओली समूहका कार्यकर्तासहितका युवा र महिलाहरुले लखेटेका हुन्। आफ्नो निर्वाचन क्षेत्रमा दाहाल-नेपाल समूहको कार्यक्रम गरिरहँदा बीनामाथि भौतिक आक्रमण प्रयास समेत भएको छ।

त्यहाँ युवा तथा महिलाहरुले बीना मगरलाई कालो झण्डा देखाउँदै, टायर बालेर प्रदर्शन गरेका थिए। उनीहरुले 'बिना मगर मुर्दावाद' नारा लगाउँदै नाराबाजी गरेर फर्काइदिएका थिए। बीना मगरको क्षेत्रमा ओली समूहबाट पल्लवराज भट्टले नेतृत्व गरिरहेका छन्। आफ्नै निर्वाचन क्षेत्रमा आफूविरुद्ध नारा लाग्ने र लखेटिने अवस्था आएपछि बीनालाई समस्या भएको छ।

कालो झण्डा अभियान

प्रचण्ड-माधव पक्षले देशभर ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाइरहेका छन्। केही दिनअघि जाजरकोट पुगेका खानेपानी मन्त्री मणिचन्द्र थापालाई दाहाल-नेपाल समूहनिकट अनेरास्ववियुका कार्यकर्ताले प्रतिगामी भन्दै  कालो झण्डा देखाए। जनयुद्धका समयमा 'अरुण तरेर नाना तम्मोर तरेर....जस्ता कयौँ जनवादी गीत लेखेर चर्चा बटुलेका थापा ओली समूहमा लागेर मन्त्री भएका हुन्। 

प्रचण्डले आफूहरुलाई प्रयोग मात्रै गरेको गुनासो गरिरहेका उनी ओली समूहमा गएर मन्त्री भएपछि पूर्वमाओवादीहरु रिसाएका छन्। उनीहरुले प्रतिगमनको मतियारको संज्ञा दिँदै मणि थापामाथि रिस पोखिरहेका छन्।

अर्कातिर ओली समूहको प्रशिक्षण तथा भेलामा चितवन पुगेका गृहमन्त्री रामबहादुर थापाविरुद्ध पनि दाहाल-नेपाल समूह जाइ लाग्यो। चितवनमा उनीविरुद्ध दाहाल-नेपालका कार्यकर्ताले गद्दारको संज्ञा दिँदै कालो बेलुन नै उडाए। 

उपप्रधानमन्त्री ईश्वर पोखरेल र युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई पनि सिन्धुपाल्चोकमा कालो झण्डा देखाइएको थियो। गत बिहीवार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित नेकपा ओली पक्षका अगुवा कार्यकर्ता भेलाको सम्बोधन गर्न पुगेका उपप्रधानमन्त्री पोखरेल र खेलकुद मन्त्री तामाङलाई दाहाल-नेपाल पक्षका युवा संघ र अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।

यता आज मंगलबार मात्रै जिल्ला तहमा संगठन विस्तारका लागि पुगेका तीनजना मन्त्रीविरुद्ध दाहाल-नेपाल समूहले कालो झण्डा देखाएका छन्। केन्द्रको घोषित कार्यक्रम अुनसार उपप्रधानमन्त्री ईश्वर पोखरेल, शहरी विकास मन्त्री प्रभु शाह र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीला श्रेष्ठलाई कालो  झण्डा देखाइएको अनेरास्ववियु नेतृ आरती लामाले जानकारी दिइन्।

सर्लाहीको सदरमुका मलंगवामा ओली पक्षको कार्यक्रममा भाग लिन जाने क्रममा नवलपुर नगरपालिकाको लाबन्दीमा नेपाल-दाहाल पक्षले कालो झण्डा देखाउँदै मन्त्रीहरुविरुद्ध नाराबाजी पनि गरेको थियो।  

उता प्रचण्ड-माधव समूहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई बझाङमा कालो झण्डा देखाएको छ। त्यसक्रममा दाहाल-नेपाल र ओली पक्षका कार्यकर्ताबीच झडपको स्थिति आउन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो।

अध्यक्ष थापामाथि आक्रमण 

आक्रमक बनेका दाहाल नेपाल समूहले नेकपा (ओली) समूहका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा चढेको गाडीमा मंगलबार ढुंगामुढा गरेका छन्।  ओली समूहले अछाममा गरेको बिस्तारित बैठकपछि प्रचण्ड-नेपाल समूहले थापा चढेको प्रदेश ३-०१०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोड गरेका हुन्।

दुई समूहबीच विवाद उत्कर्षमा पुग्दै गर्दा भौतिक आक्रमण नै सुरु भएको हो। थापाको गाडीमाथि आक्रमण गर्ने समूह दाहाल-नेपालको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। 

बैठक सकिएपछि प्रहरी स्कर्टिङमा जिल्लाबाट बाहिरिँदै गरेका बेला केही युवाहरुको समूहले अध्यक्ष कर्ण थापा चढेको गाडीमा ढुंगामुढा गरेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिएका छन्। 

घोषित कार्यक्रम

मंगलबार मात्रै पोखरामा आयोजित कार्यक्रममा ओलीतिर गएका नेताहरुविरुद्ध पूर्वमाओवादी कार्यकर्ता भड्काउने गरी दाहालले अभिव्यक्ति दिए। उनले ओली समूहमा गएका नेताहरुलाई लाज लाग्नुपर्ने बताउँदै चर्को आलोचना गरे। दुई दिनअघि प्रधानमन्त्री ओलीले जनयुद्ध फर्सी कुहे झैँ कुहेको भनेर दिएको अभिव्यक्तिलाई लिएर दाहालले त्यो सुनेर आफ्ना पूर्व सहकर्मीहरुलाई लाज लाग्नुपर्ने बताएका थिए। 

दाहाल-नेपालनिकट अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत गत मंगलवारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको थियो। त्यही कार्यक्रम अन्तर्गत जिल्ला जिल्लामा मन्त्रीहरुलाई कालोझण्डा देखाउँदै अवरोध प्रयास भएको हो। 

दाहाल-नेपाल समूहकको अनेरास्ववियुले पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला पनि जलाएको छ। देशका ठाउँ ठाउँमा यो समूहले प्रधानमन्त्रीको पुत्ला जलाएको हो। 

  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १८:३०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया