स्टेज, माइक र दर्शक बिनाको जीवन अपूर्ण : मञ्जु पौडेल

एक सिजनको मेला महोत्सव सकिने चरणमा थियो । नेपाली नयाँ वर्षको अर्को सिजनको मेला महोत्सव सुरु हुने चरणमा थियो  । विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाले नेपालमा पनि त्रास सिर्जना गर्‍यो । देशव्यापी लकडाउनको घोषणा भयो । देश नै ठप्प भएपछि सिजनका सबै मेला महोत्सव रोकिए ।

देश तथा विदेशका मेला महोत्सवमा बाक्लै उपस्थिति जनाउने गायिका तथा उद्घोषिका मञ्जु पौडेललाई लकडाउनको सुरुवाती चरणमा लागेको थियो यो अप्ठ्यारो समय छिट्टै सामान्य भएर जानेछ ।

तर, मञ्जुले सोचेको जस्तो सामान्य समय अझै भएको छैन । लामो समय भएको थियो उनले कार्यक्रमका विभिन्न स्टेज र स्थानलाई आफ्नो कर्मथलो बनाएको । कार्यक्रममा दौडँदा दौडँदै आफैंलाई बिर्सिसकेकी उनलाई सुरुवाती दिनमा त्यही स्टेज, स्टेज वरिपरिका दर्शकको सम्झनाले खुब पिरोल्यो । उनले लकडाउनका सुरुवाती दिनलाई सम्झिँदै भनिन्, ‘स्टेज, माइक र दर्शक बिनाको जीवन कति धेरै अपूर्ण लाग्दो रहेछ मैले यो समय बुझें ।’

दर्शकको माया, स्टेजको सम्झना एकातिर छ सर्भाइभ कसरी हुने चिन्ता अर्को तिर थियो । झण्डै एक वर्ष हुन लाग्यो काम रोकिएको । यो समय आर्थिक उपार्जनका कुनै पनि काम भएनन् । कसरी जीवन धान्ने भन्ने चिन्तै चिन्ताले गाँजेका बेला कोरोना सचेतनाको एक प्रोजेक्टमा काम पाएकी मञ्जुलाई त्यही कार्यक्रमले बाँच्न अलि सहज बनायो ।

यसै पनि कोमल उनको मन यो समय असाध्यै धेरै चञ्चल भयो । राम्रै कमाइ हुन्थ्यो । काम छैन । अब कहिले समय नर्मल हुन्छ र पुनः उसैगरी काममा फर्किन सकिन्छ थाहा छैन । धेरै सोच र चिन्ताले उनलाई डिप्रेसन नै हुने हो कि भन्ने भयो । उनी भन्छिन्, ‘डिप्रेसन नै होला जस्तो लाग्थ्यो । तर, आफूले आफूलाई कन्ट्रोल गर्नुपर्छ भन्ने भयो । आफैंले आफैंलाई कन्भिन्स गर्नु सबैभन्दा ठूलो कुरा रहेछ ।’

यो समय उनको चिन्ता उनलाई भन्दा आफन्तलाई धेरै थियो । मञ्जुका ३ दिदी बहिनी नजिकै बस्छन् । उनीहरु बारम्बार उनीकहाँ आइरहन्थे । तिमी ठिक त छौँ नि भनेर प्रश्न गरिरहन्थे । उनीहरु भन्थे, ‘एक दिन पनि घरमा नबस्ने तँलाई यति धेरै बस्नु पर्दा गाह्रो भयो होला ।’



मञ्जु गाह्रो भए पनि ‘तिमीहरूसँग यति धेरै टाइम स्पेन गर्न पाएको छु यही ठूलो कुरा हो’ भनिदिन्थिन् । साथमा छोरी थिइन् । छोरीसँग रमाइला कुराहरु गर्थिन्, मिल्ने ठाउँमा घुम्न निस्कन्थिन् । होला–होला जस्तो महसुस भएको डिप्रेसन यहीँबाट भाग्यो । उनी भन्छिन्, ‘यो महामारीले हामीलाई हरेक समयसँग कसरी ट्रयाकल गर्ने भन्ने सिकायो ।’

लामो समयपछि मञ्जु गत साता मेरो प्लानेटले आयोजना गरेको एक कार्यक्रमका लागि नेपालगञ्ज पुगिन् । उनलाई लागेको थियो कोरोना कहर सकिएकै छैन । दर्शक कमै आउँछन् होला । तर, उनले सोचेको जस्तो भएन । लामो समयपछि स्टेज चढ्दा देखेको दर्शकको भिडले उनलाई कता-कता डर लाग्यो । उनलाई आफ्नो कन्फिडेन्ट लुज भएको फिल भयो । उनी भन्छिन्, ‘एकछिन त ला म कहाँ छु जस्तो भयो । मान्छेको यति बाक्लो उपस्थिति नदेखेको लामो समय भएको थियो नि त ।’



अझैं आफूलाई पूर्ण रुपमा सुरक्षित भएको महसुस नभएको भन्दै मञ्जुले भनिन्, ‘खुलेर सबै कार्यक्रममा हिँड्न सक्ने कन्फिडेन्ट अझै छैन । त्यसैले पछिल्लो समय आएका केही कार्यक्रमहरु पनि क्यान्सिल गरेको छु ।’

  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १९:१४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया