चालचलन पुस्तान्तरण नहुँदा घट्यो माघीको रौनक

माघी थारू समुदायको महान् पर्व हो । माघीलाई थारू समुदायले नयाँ वर्षका रुपमा खुसियालीका साथ मनाउने गरेका छन् । 

पहिला–पहिला वर्षभरि जिम्दारको (मालिक) घरमा कमैया कम्लहरी बसेकाहरु बाबुआमाको आशीर्वाद लिन घर फर्किने, मीठो–चोखो खाने, नाचगान गर्ने, दिदी-बहिनीसँग भेटघाट गरी आ–आफ्नो काममा फर्किने चलन थियो ।  

त्यति मात्रै होइन, कुन जिम्दारको घरमा कमैया–कमलहरी बस्न जाने, कुन जिम्दारको खेतबारी अधियाँ थाम्ने, गाउँमा कसलाई महतवा, गुरुवा राख्ने, दाजुभाइ छुट्टिने, गाउँमा कुलोपानी कसरी चलाउने भन्ने छिनोफानो पनि माघीमै हुने गर्थे । माघीलाई थारू समुदायले पर्वका रुपमा मात्रै होइन, नयाँ कामको सुरुवाती दिनका रुपमा मनाउने गर्थे । 

बालीनाली भित्र्याइसकेपछि फुर्सदको समयमा माघी पर्ने भएकाले माघीलाई सुखको पर्वका रुपमा थारू समुदायले लिने गरेको पाइन्छ । माघीको पूर्वसन्ध्यामा गाउँभरका मान्छे जम्मा भई महतवा (गाउँको मूलघर) घरमा रातभर ढुङ्ग्रा गाउने (मादलमा थारू गीत र नाच) चलन थियो । रातभर ढुङ्ग्रा बसेपछि बिहान नदी, खोलाको दोभानमा गई डोमना गारेर (खोलामा पूजाआजा गरी पैसा गाड्ने चलन) नुहाइ–धुवाई गरिसकेपछि घर फर्किएर टीकाटालो गर्ने मीठो–चोखो खाने र नाचगान गर्ने चलन थियो । 

नयाँ लुगा लगाउने, टीकाटालो गर्ने, गुरुवा, महतवा फेर्नेसम्मको चालचलन अझै पनि छ । तर, अन्य पुरान चालचलन अहिले हराउँदै गएको छ । घोराही–१४ झिंगौराका ६७ वर्षिय रविलाल थारूले भने– ‘माघी पुस्तान्तरण भयो, चालचलन पुस्तान्तरण हुन सकेनन् ।’ जसका कारण माघीका पुराना चालचलन हराउँदै गइरहेको छन् । माघीमा मादल बजाउँदै नाच्ने चलन थियो । तर, अहिले युवाहरु आधुनिक बाजागाजामा नाच्दै आइरहेकाले माघीको महत्व घट्दै गइरहेको उनको बताए । 

पुस्तान्तरणको अभाव 



पुराना चलन युवापुुस्ताले रुचाउँदैनन्, कतिपय चलन हराइसकेका छन् । कमैया, कमलहरी अहिले छैन । तर, केही अझै छन् । त्यो पनि युवाहरुले रुचाउदैनन् । थारू समुदायका राम्रा चालचलनको पुस्तान्तरण हुन नसक्दा माघीको महत्व हराउँदै गइरहेको छ । स्थानीय मोतिराम चौधरीले भने– ‘नराम्रा चलनहरु थिए ती हराए, भएका केही राम्रा चलन पनि युवाहरुले रुचाउन छाडे । जसका कराण माघी महत्व हराएको छ ।’ 

सुनसान थारू गाउँ 



माघी सुरु हुुनुभन्दा पहिले नै थारू गाउँमा माघीको नाचगान सुुरु हुन्थ्यो । यो वर्ष पनि थारू गाउँमा खानपिन त चलेको छ, तर नाचगान कतै छैन । माघीको रौनक नै नाचगान हो । नाचगानविनाको माघी सुनसानजस्तै बनेको छ । कोरोना महामारीका कारण थारू समुदायको माघी यो वर्ष खानपान र भेटघाटमै सीमित बनेको स्थानीय श्यामु चौधरीले बताए । उनले भने– ‘खानपिन होला, माघीको रौनक नाचगान हो, त्यो अहिले बन्द छ ।’ 

लुम्बिनी प्रदेशका तराईका जिल्ला दाङ, बाँके, बर्दिया थारूको बाहुल्य भएका जिल्ला हुन् । जसका कारण यी जिल्लालाई थारू आदिवासी जिल्लाका रुपमा लिने गरिन्छ । तर, यो वर्ष यी जिल्लामा माघीको रौनक देखिएको छैन । 

  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार २०:३३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया