थारु बस्तीमा माघी पर्वको यस्तो उल्लास

थारू समुदायले मनाउने एक प्रमुख पर्व हो माघी। यसलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ। पश्चिम नेपालका थारू समुदायमा माघी पर्वको उल्लास छाएको छ। कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा बसोवास गर्ने थारू समुदाय पुसको अन्तिम दिन देखि मिठा परिकार खाएर माघी मनाइरहेका छन्।

पुसको अन्तिम दिन घरमा सुँगुर काट्ने चलन थारु समुदायमा छ। जसलाई जिता मरना भनिने गरेको थारु नागरिक समाज कैलालीका अध्यक्ष दिलबहादुर चौधरी बताउँछन्। ‘यो दिन जिता मारेर हरेक घरमा मासु परिकार खाने दिन हो’, उनले भने। 

पहिलो दिनको साँझ घरपरिवार, इष्टमित्र, आफन्त, गाउँवासी मिलेर मिठो–मिठो खाने मघौटा नाच नाच्ने चलन छ। यसैगरी, अगेनामा आगो ताप्दै ‘डफ’ बजाएर रातभरि धमार गीत गाउने पनि गरिन्छ। धमार गीत थारु समुदायको मौलिकता झल्काउने लोकगीत हो। 

माघ १ गते अर्थात माघीको दिन उज्यालो नहुँदै प्रसिद्ध तीर्थस्थल, नदी, दह, पोखरीमा नुहाउने गरिन्छ। वर्षभरि नुहाउँदै आएपनि माघीमा एक दिन नुहाउनुलाई विशेष र अनिवार्य मानिन्छ। नुहाउनुअघि पानीमा वा नदी किनारमा पैसा राख्ने परम्परा रहेको थारु पत्रकार अभिनास चौधरीले जानकारी दिए। माघीमा नुहाउँदा जल किन्नु पर्ने परम्परागत मान्यताअनुसार पैसा छोड्ने चलन चलेको चौधरीले बताए। ‘अरु बेला सित्तैमा नुहाउने गर्छौँ तर, माघीमा पानी किनेर मात्रै नुहाउनुपर्छ भन्ने मान्यता छ।’ उनले भने। 

माघी नुहाइसकेपछि समुदायका व्यक्तिले नदी किनारबाटै शुभकामना आदानप्रदानका साथै, ‘सेवाढोग’ लाग्ने गर्दछन्। नुहाउनेले घरमा एउटा ढकियामा छुट्टै राखिएको चामल, नुन, बेसार जस्ता सामग्री छुने परम्परा छ। 



त्यसपछि घरको पूर्खा, मान्यजन सबैलाई उमेरको वरियता अनुसार सेवाढोग गर्दै माघीको खुशीयाली तथा शुभकामना साटासाट गरिन्छ। यसलाई ‘सेवा लग्ना’ भनिन्छ। सेवाढोगको कार्य परिवारहुँदै इष्टमित्र, आफन्त, छरछिमेक, गाउँघरसम्म हुन्छ।  

यस संगै ढिक्री, उसिनेको तरुलजस्ता परिकार खाने र रमाउने चलन छ। माघ १ गते आपसी वैमनस्यतालाई त्यागेर खुसी साटासाट गर्ने भएकाले यसलाई थारु समुदायमा मेलमिलापको दिन पनि मानिन्छ। 



परिवार र छरछिमेकमा जस्तोसुकै वैमस्यता रहेपनि त्यसलाई बिर्सेर यो दिन सेवाढोग गर्ने, आशिष लिने र दिने चलन रहेको छ। यो दिन देवी देवतालाई साक्षी राखेर गुनासो, मनमुटावलाई त्याग्ने गरेकाले पारिवारिक सम्बन्धमा सुधार आउने गरेको अधिवक्ता जोहारीलाल चौधरीको भनाइ छ। ‘ढोगभेट, सेवा, सलाम लाग्दा सम्बन्धमा सुधार हुन्छ’, उनले भने, ‘कसै कसैबीच मनमुटाव छ भने हृदयदेखि नै त्यसलाई महसुस गरेर हटाउने गरिन्छ।’ 

माघ १ गते नराम्रो कुरा, काम, वादविवाद गर्न नहुने परम्परागत छ। माघ २ गते माघी पर्वको विदाइको दिन हो। यो दिनलाई पश्चिममा ‘खिच्रहुवा’ भन्ने गरिन्छ। यो दिनबाट घरपरिवार, टोल, गाउँको आर्थिक हरहिसाबको कुरादेखि लिएर वार्षिक समीक्षा र योजना बनाउने कार्य हुने गर्छ। यसलाई ‘खोज्नी बोज्नी’ भनिन्छ। 

यहि दिनबाट एक वर्षका लागि परिवारको घरमूली छान्ने, आर्थिक समृद्धिको लागि वार्षिक योजना बनाउने, भोज, विवाह, अंशबण्डा लगायतका कार्यको थालनी गर्ने गरिन्छ। यसकासाथै, गाउँ टोलका लागि नेतृत्व गर्ने भलमन्सा (बडघर), अघरिया, चिराकी, गाउँ गुरुवा चयन गरिन्छ। यिनीहरुको कार्यअवधि एक वर्षको हुन्छ। 

माघी पर्वले थारु समुदायको पारिवारिक, सामाजिक, आर्थिक व्यवस्थापकीय महत्व राख्ने गरेको अधिवक्ता चौधरीले बताए। अचेल थारु समुदायको माघी पर्व मनाउने तरिकामा थुप्रै परिवर्तन आएका छन्। तर यसको धार्मिक, सामाजिक र साँस्कृतिक महत्व भने उत्तिकै रहेको छ। माघी आपसी सम्बन्ध प्रगाढ बनाउने, साँस्कृतिक रुपमा थारु समुदायको मौलिक खानपान, भेषभूषा दर्शाउने सामुदायिक पहिचानको मुख्य पर्व रहेको थारु बुद्धिजिवी कृष्ण डेमनडौरा बताउँछन्। 

विगतमा माघी पर्वको अवसरमा कमैया, कमलरी, बुक्रहीले वर्षभरिमा एकचोटी रमाइलो गर्नका लागि विदा पाउँथे। त्यसैले यो वर्गले माघीलाई स्वतन्त्रताको पर्वका रुपमा पनि मनाउने चलन छ। 

छोरी चेलीलाई उपहार

माघीमा आफ्नो चेलीबेटीलाई उपहार दिने चलन छ। यसलाई थारू भाषामा निसराउ भनिन्छ। माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउ स्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ। माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किने बेला निसराउ लिएर जान्छन्।

नयाँ आर्थिक वर्ष

माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ। पुस मसान्तमा आआफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ। माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपाती लगायत यावत् अन्य व्यवहारहरूको नवीकरण गरिन्छ।

  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार ९:५५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया