२५ हजारले पाए कोरोना बिमाको साढे २ अर्ब
अर्थमन्त्रीको निर्देशनपछि बढ्यो दाबी भुक्तानी


कोरोना बिमाको माग दाबीवापत पुस मसान्तसम्म बीमितले २ अर्ब ४६ करोड २७ लाख ७५ हजार रुपैयाँ भुक्तानी पाएको बिमा समितिले जानकारी दिएको छ । समितिका अनुसार हालसम्म २५ हजार ३ सय १३ जनाले बिमा बीमावापतको भुक्तानी पाएका छन् । 

साथै, दोहोरो दाबी तथा अन्य विभिन्न कारणले १८३ जनाले भने दाबी भुक्तानी नपाउने समितिको तथ्यांकमा उल्लेख छ ।

हालसम्म दाबी गर्नेमध्ये करिब आधाले मात्र भुक्तानी पाएको समितिको तथ्यांक छ । हालसम्म ५१ हजार ७ सय १७ जनाले कोरोना बिमा दाबी भुक्तानीका लागि आवेदन दिएका छन् । 

कुल मागदाबी र भुक्तानीका आधारमा कोरोना बिमा दाबीका लागि ५ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ । 

समितिका अनुसार १२ हजार १५४ आवेदन पिसिआर रिपोर्ट प्रमाणीकरणका लागि स्वास्थ्य महाशाखामा पठाइएकोमध्ये ५ हजार २५० आवेदन प्रमाणीकरण भएर आएको छ भने ८ हजार २०४ आवेदन प्रमाणीकरणको प्रक्रियामा छ ।

यसैगरी कागजपत्र पूरा नभएकाले २ हजार ६६२ आवेदन बिमा कम्पनीमा फिर्ता पठाएको  छ भने ८ हजार ८६९ आवेदन बिमा पुलमा भेरिफिकेशन गर्ने काम भइरहेको समितिले बताएको छ ।



विशेषगरी अर्थ मन्त्रालयले छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएपछि काम चुस्त रूपमा अगाडि बढेको कम्पनीको भनाइ छ । 

कात्तिक १८ गते अर्थमन्त्री विष्णु पौडेलले बिमा कम्पनी र बिमा समितिका प्रतिनिधिलाई बोलाएर यस्तो निर्देशन दिएका थिए । त्यसबेलासम्म १७ सय ९१ जनाले मात्र दाबी भुक्तानी पाएका थिए । 



कसरी हुन्छ भुक्तानी ?

कोरोना बिमा मापदण्डअनुसार १ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी निर्जीवन बिमा कम्पनी र पुनर्बीमा कम्पनीले गर्नुपर्ने हुन्छ भने १ अर्बदेखि २ अर्बसम्मको दाबी भुक्तानी नेपाल पुनर्बीमा कम्पनीले गर्नेछ । 

त्यसपछि २ अर्बदेखि २ अर्ब ५० करोडसम्मको दाबी भुक्तानी बिमा कम्पनीको महाविपत्ति कोष र थप १ अर्ब भने बिमा समितिबाट भुक्तानी गरिने बताइएको छ । त्यसभन्दा पनि बढी अर्थात् साढे ३ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेमा सरकारले नै दायित्व वहन गर्ने मापदण्डमा उल्लेख छ ।

बिमा समितिले गत वैशाखदेखि लघुबिमा अन्तर्गत कोरोना बिमा कार्यक्रम सुरु गरेको थियो । त्यसपछि निर्जीवन बिमा कम्पनीहरूले लघुबिमा पुलमार्फत यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसबाट हुने व्यवसाय र दायित्व सबै कम्पनीलाई तोकिएको मात्रामा बाँडफाँट गरिएको छ । यस्तो बिमामा सरकारले ५० प्रतिशत अनुदानसमेत दिँदै आएको छ । यसको व्यवस्थापन भने नेपाल बीमक संघले गर्दै आएको छ ।

यसमा गत भदौ २९ गतेपछि बिमा गर्ने व्यक्ति कोरोना संक्रमित भएमा रू. २५ हजार पाउनेछन् । संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने भएमा अस्पतालको बिलका आधारमा रू. ७५ हजारसम्म भुक्तानी पाउँछन् । समितिले कोरोना बिमाको मापदण्ड संशोधन गरेर यस्तो व्यवस्था गरेको थियो । भदौ २९ गते अगाडिका बीमितले भने संक्रमण भएपछि बिमांक बराबरको रकम नै भुक्तानी पाउँछन् ।

घट्दै बिमा गर्नेको संख्या

कोरोना बिमाको दाबी भुक्तानीका लागि निजी क्षेत्रबाट प्राप्त हुने स्रोत सकिने चरणमा पुगिसकेको छ । अब गर्ने भुक्तानीका लागि सरकारी स्रोतकै प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ । 

पछिल्लो समय कोरोना बिमा गर्नेको संख्या भने घटेको छ । योजना सुरु हुँदा कोरोना बिमा गर्नेको संख्या उल्लेख्य रहे पनि दाबी भुक्तानीमा ढिलाइ तथा विवाद उत्पन्न भएपछि बिमा गर्नेको संख्या घटेको थियो । 

पहिले दैनिक ठूलो संख्यामा बिमा गर्ने गरेकोमा हाल दैनिक केही सयले मात्र बिमा गर्ने गरेको कम्पनी बताउँछन् । महामारीको प्रभाव कम हुँदै गएको बुझाइले पनि बिमा गर्नेको संख्या घटेको अनुमान कम्पनीहरुको छ । 

  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १५:९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया