मेरो सफलता पितालाई देखाउन पाइनँ
शिवको सम्पादन यात्रा : फिल्मदेखि डकुमेन्ट्रीसम्म

२०४६ सालमा तनहुँबाट काठमाडौं पढ्न आएका शिव पुरी नेपाली चलचित्रका दृष्य सम्पादक हुन् । शिव सानैदेखि टेक्निकल फिलमा रुची राख्थे । उनी कलेज पढ्दा उनका दाजु नारायण पुरी नाटकमा काम गर्थे । काठमाडौंमा दाजुसँगै बसेका शिवलाई पारिवारिक वातावरणले रंग क्षेत्र ल्यायो । परिवारको उपस्थिति रहेको क्षेत्रमा जम्न र चल्न बाटो सहज लाग्यो ।

सपना एकातिर, पढाइ अर्कोतिर थियो शिवको । फेरि उनका बाबुको सपना छोरो डाक्टर भएको हेर्ने थियो । बुवाको इच्छा विपरीत क्षेत्रमा लागेका शिवले त्यस क्षेत्रको गुनासो भने सुन्न पाएनन् । कारण उनको भिडियो सम्पादनको यात्रा सुरु हुनु र पिताको देहावसान हुनु एकै समय भयो । क्याम्पसमा कर्मस पढ्दै गरेका शिवले पहिले टेलिभिजन, रेडियो रिपेरिङको तालिम लिए ।

कलेज पढ्दा नै बिग्रिएका रेडियो तथा टेलिभिजन मर्मत गर्ने शिवको भाग्य बलियो नै मान्नुपर्छ, त्यही बेला नेपालमा एभिड सिस्टमबाट फिल्म सम्पादन गर्ने टेक्नोलोजी भित्रियो । 

त्यो समय नेगेटिभबाट पोजेटिभ निकालेर फिल्म सम्पादन गर्ने चलन थियो । मेनपावर असाध्यै कम थिए । एभिड सिस्टम भित्रँदा करुण थापा एक्ला एडिटर थिए त्यो टेक्नोलोजी जान्ने । एभिड सिस्टमबाट भिडियो सम्पादनका लागि विशेष कोर्स हुने भयो । उनीसहित झण्डै १२ जना उक्त कोर्समा सहभागी भए । जुन टिमका सहभागीमध्ये ३/४ जना अहिलेसम्म पनि यही क्षेत्रमा छन् ।

नेपालमै पहिलोपटक एभिड सिस्टम भित्रिएपछि एनिमेटर तथा सम्पादक करुण थापासँग फिल्म सम्पादनसम्बन्धी स्पेसल कोर्स गरेका शिवले यससँगै भारतका एपल सर्टिफाइड ट्रेनर तथा हलिउड निर्देशक डोभ साइमनसँग फिल्म सम्पादनसम्बन्धी विशेष वर्कसपमा सहभागिता जनाए । जसले उनी यस क्षेत्रमा निखारिन पाए ।

पुराना दिन सम्झँदै शिवले भने, ‘सिनेम्याटिक्स स्टुडियो खुलेपछि चाहिँ एडिटिङको काम सुरु गरियो भने प्राइम नामक पोस्ट प्रोडक्सन हाउसमा सम्पादन सिकेर केही काम गरियो । त्यस्तै सम्पादनका लागि प्रयोग हुने स्टिल ब्याक प्रविधि पनि सिकें । उक्त प्रविधिबाट काम गर्नु टफ थियो । एक फ्रेम पनि रिपिट गर्न पाइँदैनथ्यो ।



मार्जिन पनि १/२ फ्रेम छोडेर मात्र कटिङ गर्नुपर्ने हुन्थ्यो । टाइम टु टाइम कटिङ गर्नुपर्थ्यो । यसलाई फ्लिप गरौं, उल्टाएर राखौं, एक ठाउँमा राखेको सट फेरि प्रयोगमा ल्याऊँ भन्ने हुँदैनथ्यो । यदि त्यसो गरियो भने अलरेडी युज्ड भनेर देखाउँथ्यो ।’

शिवले भोगिआएको समय सुन्दा अहिलेको पुस्तालाई कथा जस्तो लाग्नसक्छ । आजजस्तो सजिलो थिएन उनले फिल्म सम्पादनको काम सुरु गर्दा । त्यो बेला नेगेटिभबाट फिल्मको काम हुन्थ्यो, प्रोसेसिङका लागि इन्डिया जानुपर्थ्यो । साउन्ड मिक्सिङ, ब्याकग्राउन्ड म्युजिक आदिको काम बम्बईमै हुन्थ्यो र लास्टमा हलमा चलाउनका लागि म्यारिड प्रिन्ट निकाल्ने काम पनि उतैबाट गरिन्थ्यो ।



सहायक सम्पादकका रूपमा चलचित्र क्षेत्रमा आएका शिवले थुप्रै चलचित्रमा काम गरे । २०५९ सालमा बनेको चलचित्र ‘के भो लौन नि’ मार्फत सम्पादकका रूपमा देखा परेका शिवले करिब ३ दर्जन फिल्म, २ सयभन्दा बढी डकुमेन्ट्री, परिचय, दलन, यहाँको चलनजस्ता टेलिसिरियल, इभेन्ट र म्युजिक भिडियो कुशलतापूर्वक सम्पादन गरिसकेका छन्  ।

फिल्म सम्पादन गर्दा गर्दै डकुमेन्ट्री सम्पादनमा लागेका उनलाई सुरुमा प्रायः डकुमेन्ट्रीको स्टोरी टेलिङमा के नमिलेजस्तो फिल हुन्थ्यो । त्यसपछि शिवको टिमले डकुमेन्ट्रीका लागि पनि फरक थिम, स्टोरी लिएर काम गर्न थाले, सेल्फ न्यारेट, सेल्फ स्टोरी टेलिङको प्रयोग गर्न थाले । त्यसपछि नेपालमा डकुमेन्ट्रीको प्याटर्न नै चेन्ज भयो ।

काम गर्नु फलको आशा नगर्नु भन्छन्, शिवलाई पनि आफूले गरेका कामहरूले जीवनका त्यो खुसी देलान भन्ने थिएन । तर, उनको टिमले बनाएको ‘पिस सङ, न्युज रुम बाहिर’ लगायतका डकुमेन्ट्रीले वल्र्ड मिडिया अवार्ड प्राप्त गरेका थिए । डेमोन्स डिलाइट, शुकबहादुर अधिकारी क्लास फोरजस्ता डकुमेन्ट्री विदेशमा हुने विभिन्न अवार्डमा समय समय मनोनयनमा पर्दाको खुसी अहिले पनि सम्झदा मन प्रफुल्लित भएर आउँछ शिवको ।

भिडियो सम्पादनका क्षेत्रमा लाग्ने पछिल्लो पुस्ताको भविष्य राम्रो देखेका छन् शिवले । उनी भन्छन्, ‘अहिले एडिटिङमा राम्रो स्कोप छ । फिल्महरू पनि धेरै बन्छन् । तर, दक्षताका साथ काम गर्ने मेनपावर अझै पनि छैन । त्यसैले यो क्षेत्रमा लाग्ने र सिकेर आएको पुस्ताका लागि यो क्षेत्र निक्कै राम्रो छ ।’

हरेक फिल्मको ५० प्रतिशत काम सम्पादकको टेबलमा आएपछि बन्ने भन्दै भिडियो एडिटरमा पनि राम्रो ज्ञान हुनु पर्ने शिव बताउँछन् । तर, नेपालमा अझै पनि पोस्ट प्रोडक्सनको कामलाई कतिपय निर्माता/निर्देशकहरूले गम्भीरताका साथ नलिएको भन्दै शिव भन्छन्, ‘समय रहुन्जेल यत्तिकै बस्ने र इलेभेन्थ आवरमा मात्र एडिटरकहाँ फिल्म दिने चलन छ । एडिटरले हतारमा काम गर्नु पर्ने हुन्छ । हतारमा काम गर्दा क्रियटिभ भएर काम गर्न सकिँदैन ।’

लामो समय चलचित्र सम्पादन गरेका शिवले नेफ्टा फिल्म अवार्ड, डी सिने अवार्ड, टाफन टेली अवार्ड लगायतका पुरस्कार प्राप्त गरेका छन् । दलन र यहाँको चलन नामक टेलिफिल्मबाट उत्कृष्ट सम्पादकको अवार्ड चुमेका शिवले एउटै टेलिअवार्डमा सामाजिक र हास्य क्षेत्र गरी २ विधामा नोमिनेसनमा परेका थिए । नेफ्टा फिल्म अवार्डमा संयोजक रहेका शिवले इन्टरफेस नेपालले आयोजना गरेको सिक्स्टी सेकेन्ड फिल्म फेस्टिभलमा निर्णायक भएर काम गरे । 

काठमाडौं विश्वविद्यालयको भिडियो स्टडिजका विद्यार्थीलाई सम्पादनका विषयमा तामिल समेत दिएका शिव हिजोआज डकुमेन्ट्रीको काममा व्यस्त छन् ।

  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १७:२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया