पर्यटकका लागि नपुगी नहुने स्थल बन्दै सहिद पार्क
वीरेन्द्रनगर–भंगेरीचौर स्थित निर्माणाधीन सहिद पार्क। तस्बिर : वसन्त भण्डारी/फरकधार

कर्णाली प्रदेश प्राप्तिका लागि भएका सहिदको सम्झनामा निर्माणाधीन सहिद पार्कमा पर्यटकको आकर्षण बढ्दो छ। वीरेन्द्रनगर–४ भैरवस्थानस्थित भंगेरीचौरमा निर्माणाधीन सहिद पार्कमा आन्तरिक पर्यटकहरुको उपस्थिति बाक्लो हुने थालेको छ। वीरेन्द्रनगर अधिकांश व्यक्ति बजार क्षेत्रबाट केहीपर एकान्त जंगलमा रहेको पार्कमा हेर्न जान थालेका छन्।  

कर्णाली प्रदेश सरकार अन्तगर्त वन तथा वातावरण निर्देशनालयले पार्क निर्माण गरिरहेको छ। पहिलो चरण अन्तर्गत पानीको फोहोरा, सहिद स्मारक, केही क्षेत्रमा बगौँचा निर्माण गरिएको छ। भने दोस्रो चरण अन्तर्गत कम्पाउन्डिङको काम भइरहेको छ। 

पहिलो चरण निर्माणमा अभियान निर्माण सेवा कालिकोटले भ्याटसहित १ करोड १३ लाख ५१ हजार ६ सय १७ रुपैयाँ ९९ पैसा खर्चिएको छ। 
 दोस्रो चरण अन्तर्गत न्यू बिसाल कन्ट्रक्सन प्रा.लि. ले भ्याटसहित ७७ लाखको लगानीमा ३ सय मिटर कम्पान्डिङको काम गरिरहेको छ। अहिले कम्पाउन्ड निर्माणका लागि बजेट अभावका कारण केही ठाउँमा मात्रै निर्माणको काम भएको छ। बजेट उपलब्ध भएको अवस्थामा चालु आर्थिक वर्षमा पूरै कम्पाउन्डिङको काम सकिने वन तथा वातावरण निर्देशनालय कर्णाली प्रदेशका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। 

भैरव सामुदायिक वनको ५ हेक्टर क्षेत्रमा सहिद पार्क निर्माणको काम भइरहेको छ। ३ वर्षे गुरुयोजनामा ६ करोड बढी बजेट लाग्ने बताइएको छ। हालसम्म झण्डै २ करोड बजेट निकासा भएको निर्देशक अधिकारीले जानकारी दिए। 

भैरव सामुदायिक वनका अध्यक्ष अमर कार्कीले वनस्पती उद्यान, पिक्निक स्पोर्ट, बाल उद्यान जस्ता कुराहरु निर्माण गरिने बताए। ‘निर्माणको काम अघि बढेसँगै आन्तरिक पर्यटकको घुईँचो बढ्दै गएको छ’ कार्कीले भने, ‘यसले हामीलाई निकै हौसला दिएको छ। 
जति सक्दो छिटो निर्माण हुनुपर्छ भनेर लागिपरिरहेको उनले बताए।  

निर्माणाधीन सहिद पार्कमा अहिले दैनिक ३ सय देखि ५ सयको हाराहारीमा मानिसहरु आउने गरेको कार्कीको भनाइ छ। त्यो संख्या शनिबार तथा अन्य बिदाको दिने बढ्ने उनले बताए। 



बजार क्षेत्रबाट एकान्त र नयाँ ठाउँ भएकाले घुम्नको लागि आएको बिहीबार सहिद पार्क पुगेका वीरेन्द्रनगर–३ का रमेश खत्रीले बताए। दैलेख स्थायी घर भएका खत्री अध्ययनका वीरेन्द्रनगर बस्दै आएका छन्।सहिदपार्क वीरेन्द्रनगरका अन्य पर्यटकीय क्षेत्रको तुलनामा फरक भएकाले धेरैलाई आकर्षण गर्नै खत्रीको भनाइ छ। 

सहिद पार्क आउँदा आफुहरुलाई बिल्कुलै नयाँ अनुभव हुने त्यहाँ पुगेका अन्य पर्यटकहरु बताउछन्।



  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १२:५४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया