प्रदेशको नाम नजुर्दै मुख्यमन्त्री राईको बिहेको साइत जुर्‍यो
संखुवासभाकी मिस मंगोल ज्याङ्मु शेर्पा दुहली

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिने भएका छन्। उनले यही माघ ११ गते आइतबार सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग काठमाडौंमा बिहे गर्न लागेका हुन्। 

४९ वर्षमा हिँडिरहेका मुख्यमन्त्री राईले बिहे गर्न लागेको  पुष्टि उनको सचिवालय र पारिवारिक सदस्यहरुले जानकारी दिएका छन्। करिब २८ वर्ष उमेरको अन्तर रहेका यी दुईबीच प्रेम विवाह हुन लागेको बताइएको छ।

भोजपुरको आमचोक गाउँपालिकाका मुख्यमन्त्री राईले संखुवासभाकी जाङ्मुलाई दुलही बनाउन लागेका हुन्। काठमाडौं बस्दै आएकी उनका बाबुमा अमेरिकामा छन्। राईले सीमित नातागोता र नेताहरुबीच बिह गर्न लागेका हुन्। 

‘मिस मंगोल नेपाल-२०१८’ को उपाधि विजेता जि जाङ्मु अभिनयमा पनि सक्रिय छिन्। म्युजिक भिडिओमा पनि अभिनय गरिरहेकी उनी  ११ वर्षमै ‘मिस किड क्‍विन नेपाल’ मा पनि सहभागी भएकी थिइन्। त्यसयता उनी विभिन्न सुन्दरी प्रतियोगितामा सहभागी हुँदै आएकी थिइन्। 

२०२७ साल फागुन ११ गते भोजपुरको आमचोक गाउँपालिका-३, थिदिङ्खाको पसलभन्ज्याङ्गमा जन्मिएका राई विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका थिए। समाजशास्त्रमा एमएसम्म गरेका राईले आफूविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको कठिन समयमा वैवाहिक जीवन सुरु गर्न लागेका हुन्। समाजशास्त्रमा स्नातकोत्तर राई २०४४ सालमा राजनीति लागेका थिए। 



२०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राईले त्यसयता निरन्तर राजनीतिक फड्को मारेका छन्।  २०४४ सालदेखि अनेरास्ववियूबाट क्रियाशील भएरका उनी भोजपुर जिल्ला कमिटी अध्यक्ष र २ कार्यकाल अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य भएका थिए। 

राई २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा राई दोस्रो पटक संसद बनेका थिए। दोस्रो संविधानसभामा राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे। दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक सञ्चारमन्त्री बनेका थिए।



नाम नजुराई बिहे 

२०७५ साल चैत २५ गते बिराटनगरमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राईले प्रदेशको राजधानी र नाम जुराएपछि मात्रै बिहे गर्ने वाचा गरेका थिए। राईले भने अनुसार प्रदेश राजधानी विराटनगर कायम भएको छ तर प्रदेशको नाम अझै जुर्न सकेको छैन। 

उनले प्रदेशको नाम आगामी सत्रको संसदमा जुराउने बताएका छन्। प्रदेश १ को नाम अरुण, कोशी, किरात आदि राख्न प्रस्ताव भएको छ। अन्य राज्यको नाम नदी र भूगोलका आधारमा राखिएकोमा प्रदेश १ को पनि त्यही अनुसार हुने बताइएको थियो। तर राईले प्रदेश १ को नाममा किरात या किरातसहित संयुक्त नाम राख्ने बताउँदै आएका छन्। 

  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १५:३२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया