'जनयुद्धका मणि थापा, सिंहदरबारका मणि थापा'
सहयोद्धालाई यसरी सम्झिन्छन् प्रदीप देवान
फरकधार / ३ माघ, २०७७

अचेल प्रतिनिधिसभा विघटनविरुद्ध संघीय राजधानी काठमाडौँमा दिनहुँ प्रदर्शन भइरहेका छन्। ती कार्यक्रमहरुमा निरन्तर देखिने एक पात्र हुन् जनगायक प्रदीप देवान।

एउटा गितार भिरेर देवान सडक-सडकमा पुग्छन् अनि गीतबाट प्रदर्शनकारीमा ऊर्जा भरिरहन्छ।  न्याय, स्वतन्त्रता अनि परिवर्तनका कुरा गीतमार्फत उनी अभिव्यक्त गर्छन्।  उनले प्राय गाइरहने एउटा गीत हो : 

अरुण तरेर नाना तोमोर तरेर....

आयौँ हामी वीरताको गाथा कोरेर.....

जनयुद्धका क्रममा जन्मिएको यो गीत उनलाई निकै प्रिय लाग्छ। सरकारले संसद् विघटन गरेर संविधानमाथि ‘कु’ गरेको ठहरसहित त्यसविरुद्धको आन्दोलनमा समर्थन जनाउन उनी यही गीत गाएर सडकमा डुलिरहेका छन् उनी। तर देवानका लागि यो गीत लेखिदिने स्रष्टा प्रतिनिधिसभा विघटनको मौकामै लुसुक्क सिंहदरबारतिर छिरे। यो कालजायी जनवादी गीतका सर्जक हुन् मणि थापा। माओवादी युद्धमोर्चामा हुँदा उनी कुनै समय देवानसँगै संस्कृतिक आन्दोलनका कमाण्डर थिए। जनता जगाउँदै हिँड्ने सांगीतिक मोर्चाका सहयोद्धा र सहकर्मी पनि।  

दुई सहयोद्धामध्ये थापा प्रतिनिधिसभा विघटन अग्रगामी छलाङ भन्दै खानेपानी मन्त्री भएर सिंहदरबारबाट शासन गर्दैछन्। संसद् विघटन देश र जनताको अपरिहार्य आवश्यकता भन्दै उनी त्यसलाई अग्रगमन ठानेर हिँडिरहेका छन्। तर उनका सहयोद्धा प्रदीप देवान भने प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको संज्ञा दिँदै अहिले सडकको मोर्चामा छन्।   

जनयुद्धको सहयात्रीसँग अलग यात्रामा हिँड्नु परेको कुरा सम्झिँदा देवानलाई कता–कता अप्ठेरो लाग्छ। तर राजनीतिक ध्रुवीकरणमा यसलाई स्वभाविक ठान्छन् उनी। ‘समयक्रममा मान्छेको सोचाइ बदलिन्छ, बोटो बदल्छ तर सिर्जनाले रुप फेर्दैन नि’, उनी भन्छन्, ‘जुन हेतु र भावनाका साथ सिर्जित भएको हुन्छ, त्यही रुपमै युगौँसम्म बाँचिरहन्छ।’

पञ्चायतसँगै हुर्किएका देवानलाई त्यो व्यवस्था राम्रो लाग्दैनथ्यो। ‘हुनेखानेले हुँदा खानेलाई धेरै हेप्थे। अलि पढेलेखेकाले नपढेकालाई हेप्थे। सरकार र सत्ताका नजिककाले आमजनतालाई मान्छे गन्दैनथे। 

समाजमा सीमित व्यक्तिको रवाफ चल्थ्यो।  उनीहरुले जति शोषण, दमन अत्याचार गरे पनि त्यसविरुद्ध बोल्ने हिम्मत कसैको हुँदैन्थ्यो।’ आफूले समाज र दुनियाँ बुझ्दै गर्दाको समयलाई यसरी चित्रण गर्छन् देवान। 

उनी पञ्चायतविरुद्धका संघर्षमा पनि सामेल हुने गर्थे। हेर्दा हेर्दै पञ्चायती व्यवस्था ढलेर बहुदल आयो।  तैपनि वास्तविक जनताको जीवनमा खासै सुधार भएको देखेनन् उनले। पञ्चायती व्यवस्थामा हैकम जमाउने नै बहुदलका राजनीतिका हर्ताकर्ता भए। उनीहरुको रजगज उस्तै। तर तल्लो तहका जनता उही ठाउँमा, न जीवनस्तर सुध्रियो न विकासको स्वाद चाख्न पाए।  

२०५२ सालमा सशस्त्र संघर्ष थालेको तत्कालीन माओवादीको माग र विचार उनलाई ठीक लाग्यो। अनि गीत संगीतमार्फत उक्त आन्दोलनलाई सहयोग गर्ने अठोटसहित गितार बोकेर संघर्षमा होमिए उनी।  

त्यही संघर्षको बाटोमा भेटिएका थिए मणि थापा।  

त्यो बेला गीत गाउँदै, सिकाउँदै देशभर डुल्थे देवान।  पश्चिममा जाँदा कर्णाली, भेरी तर्थे पूर्व जाँदा अरुण, तमोर।  एक समय अरुण, तमोर तरेर यात्रा गर्दै गर्दा उनको मनमा एक किसिमको धुन गुन्जियो। उनले मनमनै त्यसलाई नोट गरे। अनि मणि थापालाई सुनाए, लौ न दाइ यो धुनसँग मिल्ने एउटा गीत लेखिदिनु पर्‍यो।  

देवानको माग अनुसार गीत लेखे मणिले 

अरुण तरेर नाना तमोर तरेर...
आयौँ हामी वीरताको गाथा कोरेर...

त्यसपछि पार्टीका विभिन्न कार्यक्रम यही गीत गाएर जनता जाउँदै हिँडे उनी।  

२०५९ सालमा गीत रेकर्ड गराउने चाजोपाँजो मिलाए।  संकटकालको बेला लुकेर काठमाडौंको कमलादीकोस्थित एक स्टुडियोमा त्यो गीत रेकर्ड गराएका थिए उनले। 

माओवादी आन्दोलनमा थुप्रै नारात्मक पक्ष रहेको उनी स्वीकार्छन्। तर त्यो बेला जे अठोट, थियो जुन किसिमको त्याग थियो। साँच्चै त्यो सकारात्मक बाटोतर्फको यात्रा थियो भन्ने उनको बुझाइ छ।  

‘म, मेरो घर होइन, मेरो जिल्ला, जिल्ला होइन मेरो देश बनाउनु पर्छ भन्ने सोच थियो।  यति भएपछि म त उसै बनिहाल्छु नि भन्ने थियो। समाजका सबैखाले विकृति, विसंगतीको अत्य गर्नुपर्छ भन्ने थियो,’ उनी ती बेलाका अठोट सुनाउँछन्।

सशस्त्र आन्दोलनमा देवानका सबैभन्दा नजिकका मान्छे मणि थापा नै थिए। सबैभन्दा राम्रो सहकार्य पनि उनीसँगै भएको थियो।  २०६० साल फागुन १९ गते भोजपुर सदरमुकाम आक्रमणको समयमा सबैभन्दा धेरै थापाको साथ पाएको देवान सम्झन्छन्।  

करिब ४/५ महिना लङ मार्चमा सँगसँगै हिँडेको उनले सुनाए। ‘एउटै गुन्द्रीमा सुतियो, कयौँ दिन जंगलमा पनि सँगै बास बसियो, निकै अविस्मरणीय सहकार्य भयो त्यो बेला,’ उनले सुनाए।

२०६१ सालमा उनी गिरफ्तार भएर ललितपुरको नक्खु जेलमा थुनिए। २०६२ सालमा मणि थापाले पनि माओवादी छाडे। 

२०६२/०६३ को आन्दोलनपछि प्रदीप देवान पनि जेलबाट छुटे। उनी जेलबाट छुट्दा 'अरुण तरेर नाना तमोर तरेर...' गीत चर्तित भइसकेको थियो। उनी भन्छन्, ‘अहिलेको भाषामा भन्दा त्यो गीत भाइरल भइसकेको रहेछ, मानिसहरुको जिब्रोमा झुण्डिसकेको रहेछ।’ 

शान्ति प्रक्रियामा आएपछि माओवादी आन्दोलनमा लागेकाहरु व्यक्तिगत फाइदाको पछि लागेर बिग्रिँदै गएको देवानको बुझाइ छ।  

‘जसरी हुन्छ शक्ति आर्जन गर्ने, ठेक्कापट्टा, कालो धन कमाउने जस्ता काममा ध्यान दिन थाले', उनले सुनाए, 'अनि माओवादीले लिएको मूल उद्देश्य ओझेल पर्दै गयो।’

राजकुमारी श्रुतीका गुरु

०४४/४५ सालतिर उनी रेडियो नेपालमा गितार बजाउने काम गर्थे। त्यो बेला सेन्ट मेरिज स्कुलमा तत्कालीन राजा वीरेन्द्रकी छोरी श्रुती पढ्ने गर्थिन्। देवानले त्यहाँ संगीत सिकाउने मौका पाए। त्यो बेला श्रुतीको स्वरमा रेडियो नेपालमा बालगीत रेकर्ड गरिएको थियो।   

धेरै साथीहरुले राजकुमारीसँग चिनजान भएपछि सम्बन्ध विस्तार गरेर दरबारमा छिरेर फाइदा लिन सुझाएका थिए। तर त्यो लोभमा नपरेको देवान सुनाउँछन्। ‘त्यो बेला त्यसरी दरबारसँग सम्बन्ध बनाउने, शक्ति आर्जन गर्ने र व्यक्तिगत फाइदा लिनेतर्फ मन नै गएन,’ उनी भन्छन्।

ओली समूहमा केन्द्रीय सदस्यको अफर

देवानका संघर्षका सहयात्री मणि थापाले मन्त्री बनिसकेपछि देवानलाई सम्झिएका थिए। ‘मन्त्री बनेपछि एक पटक उहाँसँग फोन सम्पर्क भएको थियो,’ देवानले सुनाए, ‘केपी ओलीलाई नेता मानेर जाने सवालमा छलफल पनि भएको थियो।’ 

थापाले आफूलाई ओली पक्षमा आएर केन्द्रीय सदस्य बन्न अफर गरेको जानकारी देवानले दिए। पछि निर्णय गरौँला भनेर उनले त्यतिबेला जवाफ दिएनन्।   

पछि उनले गम्भीर समीक्षा गरे, सोचे पहिलाकै अवस्थामा त कोही नेता पनि छैनन्।  तर पनि आफ्नो त्याग र संघर्षको मूल्यांकन प्रचण्डसँग रहँदा मात्रै हुने ठाने। अनि थापाको प्रस्तावमा सहमत नहुने निर्णय गरे।  प्रचण्ड र बाबुरामको अगुवाइमा जनयुद्धमा सामेल भएकाले उनै नेताले मात्रै आफ्नो योगदान बुझ्ने उनको बुझाइ छ।  जसकासामु उनी जनयुद्धमा गीत सुनाउँदै हिँडेका थिए।

सहयोद्धालाई सन्देश

सरकारले प्रतिनिधिसभा विघटन गरेर जनमतको अपमान गरेको उनको बुझाइ छ। जनताले ५ वर्षका लागि दिएको जनमतलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रयोग गरेको र संविधानलाई रद्दीको टोकरीमा फाल्ने काम गरेको अर्थमा उनले बुझेका छन्। 

यही कदमलाई साथ दिँदै मन्त्री बनेका सहयोद्धा थापालाई केही भनिरहनुपर्ने आवश्यकता देख्दैनन् देवान। ‘उहाँ मैले सम्झाउनु पर्ने मान्छे होइन। एक दिन मरेर जाने जिन्दगी न हो,’ उनी भन्छन्, ‘हामीले कस्तो इतिहास लेखेर बिदा हुन चहान्छौँ, आफ्नो खुसीको कुरा हो।’ 

त्यो मणिको खुसी मात्रै नभएर बाध्यता पनि हुनसक्ने बुझाइ देवानको छ। ‘आफूलाई आत्मैदेखि ठीक लागेको गर्नुहोस्, आफूले गरेको कुरामा आत्मग्लानी हुनेगरी नगर्नुहोस् अरु के भनौँ र!,’ उनले सुस्ताउँदै भने।

भिडियो

  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १८:८:४१,   अन्तिम अपडेट : माघ ६, २०७७ मंगलबार १७:२७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया