प्रचण्डको आह्‍वान लगत्तै हुम्लामा कुटाकुट, वडाध्यक्षको टाउको फुट्यो

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टाउको फुटाउन तयार हुनुपर्ने बताए लगत्तै हुम्लामा दुई समूहबीच कुटाकुट भएको छ।

प्रचण्डले शाकाहारी आन्दोलनबाट केपी ओलीको प्रतिगमन नसच्चिने बताएर कडा रुपमा प्रस्तुत हुनुपर्ने बताएकै दिन दाहाल-नेपाल र ओली समूहका कार्यकर्ताबीच झडप हुँदा अदानचुली गाउँपालिका-१ का वडाध्यक्ष रंग थापाको टाउको फुटेको हो। 

प्रचण्ड-माधव समूहको आक्रमणमा टाउको फुटेका थापा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा समूहमा छन्। यसअघि उनी पूर्वमाओवादी समूहबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। 

वडा नम्बर १ को कल्ख्यामा ओली समूहले वडा कमिटी गठन गरेको थियो। त्यही क्रममा वडाध्यक्ष थापासहितमाथि प्रचण्ड-माधव समूह जाइ लाग्दा झडप भएको हो।

वडा कमिटी गठन गरेर फर्कने क्रममा आइतबार बाटोमा ढुकेर बसेका प्रचण्ड-माधव समूहका कार्यकर्ताले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएका हुन्। 

वडाध्यक्ष एवम् नेकपाका नेता थापाको टाउको र मुखमा चोट लागेको छ । थापालाई स्थानीय स्वास्थ्य चौकीमा भर्ना गरिएको छ। उनको टाउकोमा ६ वटा टाँका लगाइएको छ ।



आइतबार मात्रै प्रचण्डले काठमाडौंमा शाकाहारी आन्दोलनले केही नहुनेभन्दै 'लठ्ठी खाने मन छ' भनेका थिए। त्यही दिन हुम्लामा दुई समूहबीच हिंसात्मक झडप भएको हो। 



  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १२:३३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया