आन्तरिक पर्यटकका लागि ‘हेली टुर प्याकेज’

सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीय स्थल खप्तड घुम्न डोटीका युवा पर्यटन अभिन्यता दीपकबहादुर खड्काले ‘हेली टुर प्याकेज’ ल्याएका छन् ।

प्याकेजका बारेमा धनगढीमा पत्रकार भेटघाटको कार्यक्रमको आयोजना गर्दै खड्काले हिउँदे यामको दृश्य कैद गर्न इच्छुकहरूका लागि ‘हेली टुर प्याकेज’ ल्याएको बताए ।

खप्तडको प्रवेशद्वार झिग्रानामा ‘खप्तड होमस्टे’ सञ्चालन गर्दै आएका खड्काले तीन किसिमका प्याकेज सार्वजनिक गरेका छन् ।  धनगढीबाट ३० हजार, दिपायलबाट १० हजार र झिग्रानाबाट ८ हजार रुपैयाँको प्याकेज किनेर खप्तड घुम्न सकिनेछ ।

‘हेली टुर प्याकेज’ यही माघ १४ गतेदेखि १८ गतेसम्म रहनेछ । ‘प्याकेजमा दुईतर्फी हेली टिकट हुन्छ’, खड्काले भने, ‘पर्यटकलाई खप्तडमा घुम्न र फोटो खिच्न कम्तीमा आधा घण्टाको समय दिइनेछ ।’ खप्तड क्षेत्र प्रवर्द्धनका लागि आउने पत्रकारलाई झिग्रानाबाट उड्दा प्रति व्यक्ति एक हजार रुपैयाँ छुट दिइने समेत उनले जानकारी दिए । ५ दिनमा ३ सय पर्यटकलाई खप्तड पुर्‍याउने योजना रहेको उनले उल्लेख गरे ।

कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई पुनर्जीवन दिने उद्देश्यले हेली प्याकेज बनाइएको खड्का बताए । ‘आन्तरिक पर्यटनमार्फत् पर्यटनलाई चलायमान बनाउन सस्तोमा हेली प्याकेज बनाएको हुँ’, उनले भने । 

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थल मानिन्छ खप्तड  त्यहाँ ठूलाठूला पाटन र डाँडा छन् । त्यसै गरी अपिशैपाल हिमालको मनमोहक दृश्य देखिन्छ । खप्तड जैविक विविधताको अनुपम भण्डार पनि हो । 



पछिल्लो समय खप्तड आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । सुदूरपश्चिममा खप्तड क्षेत्रलाई भूस्वर्गका रूपमा चिनिँदै आएको छ । खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि खप्तड भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा चिरपरिचित छ ।

समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २२५ वर्गकिलोमिटरमा फैलिएको छ । खप्तडमा पुस महिनाको मध्यदेखि हिउँ पर्ने भएकाले प्रायः सेताम्मे देखिने गर्दछ ।



  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १८:४२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया