मेरा छोराछोरी छन्, केपीजी नि:सन्तान हुनुभयो, त्यो उहाँकै दोष हो ?

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको जुहारी व्यक्तिगत र पारिवारिक तहमा झरेको छ। पुस ५ मा प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भएपछि एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका यी दुई नेताबीचको विवाद व्यक्तिगत तहमा झरेको हो।

मंगलबार साँझ एउटा टेलिभिजनसँग अन्तर्वार्ता दिँदै प्रचण्डलाई व्यक्तिगत तहमा झरेर आरोपित गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गर्दै नि:सन्तान हुनु उनकै दोष भएको बताएका छन्। उनले आफ्नोबारे बोल्दा नि:सन्तान नहुनु दोष नभएको टिप्पणी गरे। 

‘म नि:सन्तान भइनँ त, त्यो मेरो दोष हो र?। मेरा छोराछोरी, नातिनातिना, ज्वाइँ छन् नि', उनले भने, 'केपीजी नि:सन्तान हुनुभयो, उहाँले अब छोराछोरी भन्‍न परेन।' ओलीले प्रचण्डले परिवारलाई मात्रै प्राथमिकतामा राखेर कदमहरू चालिरहेको आरोप लगाउँदा प्रचण्डले यस्तो  जवाफ दिएका हुन्।

प्रचण्डले जनयुद्ध भुलेर आफ्ना छोराछोरीको मात्रै संरक्षणमा लागेको आरोप सर्वसाधारण पनि लगाउँदै आएका छन्। उनकै जोडबलमा छोरी रेणु दाहाल भरतपुर महानगरकी मेयर छन् भने बुहारी बीना मगर पनि भर्खरै खानेपानी मन्त्रीबाट बाहिरिएकी  छन्। अन्य छोरी र जुवाइँहरुलाई पनि उनले पार्टीको माथिल्लो जिम्मेवारी दिएको तर हिजोका लडाकुहरुलाई भुलेको आरोप लागिरहेको छ।

प्रचण्डले आफ्नो परिवारका सदस्यहरुको राजनीतिमा ठूलो योगदान भएको जिकिर गरे। ‘युद्धका बेलामा मर्न हिँडेका होइनन् र ? जेलनेल यातना भोगेर आएका होइनन् र ? क्रान्तिमा सबै होमिए त्यो मेरो दोष हो,’ उनले भने,‘भैरवनाथ गणमा तीन वर्ष यातना खाएर बसे । रोल्पा रुकुमका भीर पाखामा कुदे मेरा छोरीहरू ।’ 

उनले आफूले युद्धका बेला आफ्ना छोराछोरीलाई विदेशमा पढ्न नपठाएको समेत बताए । ओलीले आफूलाई सिध्याउने उद्देश्यले कदम चालिरहेको पनि उनले आरोप लगाए। उनले ओलीले जालझेल र षडयन्त्रको  गरेको पनि बताउन भुलेनन्। 





  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार १२:५४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया