प्रदेशमा आफैँ सरकार बनाउने कांग्रेसको रणनीति
केन्द्रमा हिसाब मिलाइँदै, प्रदेश निर्देशन कुर्दै

काठमाडौं : प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा बाँडिएको अवस्थामा त्यसको असर प्रदेश सरकारमा पनि देखिएको छ। प्रदेश १ र बागमतीमा नेकपा दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्रीहरुविरुद्ध अविश्वास प्रस्ताव नै दर्ता गरिसकेको छ।

नेकपा विभाजित भएर दुवै प्रदेशमा अविश्वास प्रस्ताव दर्ता भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस त्यहाँ निर्णायक बनेको छ। दुवै प्रदेशमा सत्ता पक्ष सांसद तानातानमा जुटेका बेला कांग्रेस भने अहिलेसम्म रमिते बनेको छ। करिब एक महिनाको मौनतापछि कांग्रेसले ती दुवै प्रदेशमा आफैं सरकार बनाउने कोणबाट आन्तरिक गृहकार्य र छलफल थालेको छ।

प्रदेश एक र बागमतीमा प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ। प्रदेश १ मा केबल एक मिनेट मात्रै बसेर सभा सकिएको छ। अविश्वास प्रस्ताव दर्ता भएसँगै नेकपाको दुवै पक्षलाई प्रदेशमा आफनो नेतृत्व टिकाउन या बनाउन कांग्रेसको साथ चाहिएको छ। अहिलेसम्म मौन कांग्रेस अहिले नेकपाका दुवै पक्षसँग समानान्तर वार्तामा जुटेको छ। तर परिस्थितिलाई आँकलन गर्दै कांग्रेस सकेसम्म आफैं सरकार बनाउने मुडमा छ।

प्रदेश १ बुधवार नै संसद अधिवेशन सुरु भएको छ। तर त्यहाँ अविश्वासको प्रस्ताव पेश हुन सकेन। हिउँदे अधिवेशनको पहिलो बैठक एक मिनेटमै सकिए पनि अर्को बैठकसम्म कांग्रेसले निर्णय लिइसक्नुपर्ने बाध्यता छ।

बागमती प्रदेशमा भने बुधबारै अविश्वासको प्रस्ताव पेश नभएपछि कांग्रेसले केही समयपछि निर्णय गर्नुपर्ने अवस्था छ। यद्यपि दुवै प्रदेशमा मंगलवार कांग्रेसको प्रादेशिक संसदीय दलको बैठक भइसकेको छ। दुवै बैठकले केही निर्णय गरेको छैन। यसको अर्थ कांग्रेस दुवै समूहसँग वार्तामा छ तर कसलाई सघाउने निर्णय लिन सकेको छैन।

केन्द्रको निर्देशन कुर्दै 



पार्टीको प्रादेशिक संरचना स्वायत्त हुने भनिए पनि अन्य दलमा झैँ कांग्रेसका दुवै स्थानका प्रादेशिक संसदीय दल केन्द्रको निर्देशन कुरेर बसेका छन्। यही विषयलाई लिएर केन्द्रका शीर्ष नेताहरूबीच दौडधूप चलिरहेको छ। बुधबार मात्रै दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधामन्त्रीमा समर्थन गर्न सकिने बताएका छन्।

सभापति देउवाले अहिले दाहाल-नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूहसँग समानान्तर छलफल गरिरहेका छन्। तर उनलाई फकाउने अभियानमा जोडका साथ दाहाल-नेपाल समूह लागेको छ। यस्तोमा कांग्रेस महामन्त्री शशांक कोइरालाले आगामी चुनावमा ओलीसँगै प्रतिस्पर्धा हुने भएकाले अहिलेलाई दाहाल-नेपाल समूहसँग मिलेर जाँदा फाइदा हुने मत राखेका छन्। 



प्रदेशसँग छलफल

बुधवार बिहान सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु अनौपचारिक बैठक गरेका छन्। प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी प्रदेश १ बारे निर्णयमा पुग्नुअघि त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुसँग पार्टी नेतृत्वले छलफल गरेको फरकधारलाई बताए । यस्तै छलफल सभापति र वरिष्ठ नेताले बागमती प्रदेशका केन्द्रीय सदस्यहरुसँग पनि गर्न लागेका छन्।

प्रदेश १ को संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले केन्द्रको निर्देशन कुरिरहेको खुलाए। ‘केन्द्रको निर्देशनबिना हामी कुनै निर्णयमा पुग्दैनौँ’, कार्कीले फरकधारसँग भने, 'हामीलाई अहिलेसम्म केन्द्रबाट केही पनि भनिएको छैन।’ 

मंगलबार मात्रै प्रदेश १ कांग्रेस संसदीय दलको बैठक बसेको थियो। बैठकमा पछिल्लो परिस्थितिबारे छलफल भए पनि कुनै निर्णय भएको छैन। प्रमुख सचेतक कार्कीले नेकपाका दुई खेमाको विवादको स्वरुप हेरिरहेको बताउँदै आफैंले नेतृत्व गरेर सरकार बनाउन सकिनेबारे अध्ययन गरिरहेको खुलाए । यद्यपि उनले यसबारेमा विस्तृत कुरा खुलाउन चाहेनन्।

बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ पनि केन्द्रसँग सम्पर्कमै रहेको बताउँछन्। बानियाँले परिस्थित आँकलन गरेर गम्भीरतापूर्वक आन्तरिक तयारीमा जुटेको बताउँदै केही समयपछि मात्रै ठोस निर्णयमा पुग्ने बताएका छन्।‘तत्कालै हामी कुनै निर्णयमा पुग्दैनौँ,’ बानियाँले फरकधारसँग भने,‘पहिला नेकपाका दुई खेमाको विवाद कसरी निष्कर्षतिर पुग्छ? त्यो हेरेर मात्रै निर्णय लिउँला।’ 

दाहाल-नेपालसँग नजिक

कांग्रेस स्रोतका अनुसार सहकार्यका लागि केन्द्रमा प्रचण्ड-माधव नेपाल पक्षसँग भइरहेको कुराकानीले गति लिएको छ। यसले केही दिनमै अन्तिम स्वरुप लिएपछि प्रदेशमा पनि त्यही अनुसार सरकारले आकार लिन सक्नेछ।  कांग्रेसमा सभापति देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइराला यसबारे लगाातार छलफलमा छन्। नेकपाका दुवै पक्षसँग वार्तामा रहेका उनीहरु दाहाल-नेपाल पक्षसँग बढी नजिकिएका छन्। 

महामन्त्री कोइरालाले मंगलबार फरकधारसँगको एउटा सम्वादमा प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्न सक्ने सम्भावना रहेकाले त्यसबारे पार्टीको शीर्ष तहमा कुरा चलिरहेको खुलाएका थिए। सोमबार सभापति देउवा आफैं वरिष्ठ नेता पौडेलको निवासमा गएर 'वन टु वन' कुराकानीमा जुटेका थिए।  त्यो वार्तामा दुई नेताबीच प्रदेश एक र बागमती प्रदेश सरकार तथा केन्द्रीय सत्ता समीकरणबारे पनि छलफल भएको कांग्रेस नेताहरुले बताएका छन्। 

केन्द्रीय भागबण्डा

केन्द्रदेखि प्रदेशसम्म सत्ता समीकरणका लागि छलफल अघि बढेको अवस्थामा कांग्रेसभित्र भागबण्डाको कुरा उठ्न थालेको छ। स्पष्ट दुई समूहमा बाँडिएका कांग्रेस नेताहरु अहिले नै हिसाब क्लियर गरेर मात्रै अघि बढ्नुपर्ने मुडमा देखिएका छन्। 

नेकपा दुई समुहमा विभाजित भएपछि उनीहरुलाई सरकार टिकाउन र बनाउन केन्द्रदेखि प्रदेशसम्म कांग्रेसको साथ चाहिन्छ। त्यहीकारण दुवै समूहले कांग्रेससँग सत्ता सहयात्रा प्रस्ताव गरेका छन्। अब कांग्रेसमा सभापति देउवा र इत्तर पक्षको भागबन्डाको स्वरुप कस्तो हुन्छ? त्यही विषय पनि पेचिलो हुन सक्ने कांग्रेस नेताहरु नै बताउँछन्। पछिल्लो समय सभापति देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसँग लगातार छलफलमा जुटेका छन्। 

कांग्रेस स्रोतका अनुसार केन्द्रमा सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच हुने भागबण्डाकै आधारमा प्रदेश सरकारसम्मको समीकरण निर्धारण हुनेछ। जसका लागि अहिले कांग्रेसका शीर्ष नेताहरूबीच कसरत चलिरहेको छ।

  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार ६:४९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया