केपी गुट सडकमा उडेको धुलो मात्र हो, हामीतिर लाग्नुस् : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पक्षमा लागेका नेता तथा कार्यकर्तालाई आफू नेतृत्वको पार्टीमा आउन आग्रह गरेका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै नेपालले आफू नेतृत्वको पार्टी मूल पार्टी भएको दाबी गर्दै आफ्नो पक्षमा लाग्न आग्रह गरेका हुन् ।

केपी गुट कम्युनिस्ट नै नभएको दाबी गर्दै उनले भने, ‘केपीको गुट एउटा सडकमा उडेको धुलो हो, त्यो गुटमा जो जान्छन् धुलैधुलोले डुब्छन् ।’ अध्यक्ष नेपालले भने, ‘तिनीहरु कम्युनिस्ट नै होइनन् । त्यसैले आमनेता तथा कार्यकर्ता मूल पार्टीमा फर्किनुहोस् । केपीको गुलियो कुरामा नभुल्नुस् ।’ जनतासामु नक्कली कुरा गर्न सिपालु केपी ओलीको विश्वसनीयता नै गुमिसकेको उनको आरोप छ । 

पार्टीलाई विधिवत् रुपमा सञ्चालन गर्न जोड दिँदा केपी ओलीको छाडापनका कारण पार्टीमा अहिलेको अवस्था सिर्जना भएको उनले बताए । नेपालले सम्पूर्ण नेता कार्यकर्तालाई पूर्वएमाले, पूर्वमाओवादी भन्ने मानसिकता त्यागेर आफू नेतृत्वको नेकपामा आउन आग्रह गरे । 

‘मैले १५ वर्षसम्म पूर्वएमालेको नेतृत्व गरेको हुँ, प्रचण्डजीले पनि झण्डै ३ दशक पूर्वमाओवादीको नेतृत्व गर्नुभएको हो,’ नेपालले भने, ‘हामी पदका लागि लोभ गर्दैनौँ । हामी त विधिवत् रुपमा अघि बढ्न चाहन्छौँ ।’ 

प्रतिगमनकारी तत्वहरु सलबलाइरहेको अवस्थामा केपी ओलीले संसद विघटन गरेर गणतन्त्रमाथि नै प्रहार गरेको नेपालको आरोप छ । केपी ओली व्यक्तिगत र गुटगत प्रवृत्ति रोप्ने मानिस भएको भन्दै नेपालले उनी कम्युनिस्ट नै नभएको आरोप लगाए । 



‘जसले बच्चा जन्माएको छैन । उसलाई के को माया भनेजस्तै केपीलाई गणतन्त्रको कुनै माया छैन,’ उनले भने, ‘गणतन्त्रको विरोध गर्ने मानिसको कुनै अपनत्व छैन ।’

नेकपाले ओलीलाई कारबाही गरिसकेको र संसद पुनस्र्थापना गरेर राजनीतिबाट नै बाईबाई गर्ने भन्दै नेता नेपालले ओली नेतृत्वको समूह चोइटिएर गएको एउटा सानो गुट भएकाले त्यसको कामै नभएको बताए । 



  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १९:४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया